
पोखरा/आमा भेट्न तिब्बत जान लागेका न्याङ चोययुनको सपना अधुरै रहने भएको छ । अवैध बाटोबाट तिब्बत छिर्न खोजेका ४८ वर्षीय चाङलाई तिब्बत प्रहरीले पक्राउ गरेसँगै फर्काइदिएपछि उनको सपना अधुरो रहेको हो ।
न्वाङ चोएयुनका आमा ८० वर्ष नाघिन् । न्वाङले आमाको मुख देख्न नपाएको २२ वर्ष बित्यो । २६ वर्षकै उमेरमा तिब्बतस्थित घरमा आमालाई छाडेर भारततर्फ भागे । नेपालको सोलुखुम्बु नाका हुँदै उनी कर्नाटकको शरणार्थी शिविरमा शरण लिन पुगे ।
कर्नाटकको शरणार्थी शिविरमा न्वाङले लामा पढे । त्यहीं लामा काम गरेर २२ वर्ष बिताए । घरमा आमालाई छाडेर हिँडेको याद उनलाई जति दिन बित्दै गयो, उति पिरोल्दै गयो । बुढ्यौलीले ढाकेका आमालाई भेट्ने चाहना बढ्दै गयो । जुनसुकै हालतमा तिब्बत फर्कने योजना बनाए । आमाको मुख हेरेर फेरि भारत फर्कनु त छँदै थियो ।
कर्नाटकबाट २ महिनाअघि न्वाङ काठमाडौं आए । तिब्बत जाने हुटहुटी यो २ महिनामा झनै बढ्यो । उपयुक्त बाटोबाट तिब्बत छिर्न चाहे । उनले यसका लािग मुस्ताङको कोरला नाका रोजे ।
नेपाल र चीनका सुरक्षाकर्मीले थाहा नपाउने गरी तिब्बत छिर्न उपयुक्त बाटो खोजे । औपचारिक रुपमा कोरोला नाकाबाट नेपाली र तिब्बती आउजाउ गर्ने औपचारिक बाटो २४ नम्बर पिलरको बाटो थियो । यो बाटोबाट नेपाली र चिनिया प्रशासन तथा सुरक्षाकर्मीको अनुमतिमा ओहोरदोहोर गर्न सकिन्थ्यो । यसबाहेक अरु बाटोबाट तिब्बत छिर्नु वा नेपाल छिर्नु अवैध मानिन्छ ।
न्वाङले वैधानिक बाटो हिँड्न चाहेनन् । तिब्बत छिर्ने हुटहुटीले उनी ३१ नम्बर पिलरको बाटोबाट नेपाली भूमि पार गरे । उनी जन्मिएको तिब्बती भूमिमा पाइला राखे । सीमानामा दुबैतर्फ सुरक्षाकर्मी परिचालित थिए । उनको तिब्बत प्रवेश चिनियाँ सुरक्षाकर्मीको आँखाबाट छिप्न सकेन । घर पुग्न नपाउँदै न्वाङ पक्राउ परे ।
चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरेर न्वाङलाई केरकार गर्न खोज्यो । आप्mनै जन्मभूमि र देश प्रवेश गर्दा त्यही देशको सुरक्षामा खटिएका सुरक्षाकर्मीले उनलाई पराइको व्यवहार देखायो । चिनिया सुरक्षाकर्मीसँग उनले आमालाई भेट्न जान लागेको बताए । आमालाई भेटेर फर्कने भन्दै बिन्ती बिसाए । तैपनी सुरक्षाकर्मीले दिएनन्, उल्टै नेपाली सुरक्षाकर्मीको जिम्मा लगाइदिए ।
न्वाङसँग आप्mनै देशको पासपोर्ट थिएन । तिब्बती शरणार्थी आप्mनो देश फर्कन चीन सरकारको कडा शर्त स्वीकार्नुपर्ने शरणार्थी शिविरका अगुवाहरु बताउँछन् । उनीहरुका अनुसार स्वदेश फर्कन धेरै लामो प्रक्रिया पार गर्नुपर्छ, देश गएर फेरि फर्कन नपाउन पनि हुनसक्छ ।
यसका लागि जुन देशमा शरणार्थी भएर बसेको हो, त्यही देशस्थित चिनियाँ दूतावासमार्फत् उनीहरुले पहिला पासपोर्ट बनाउनुपर्छ । सरकारले दिएको समयसीमा र शर्त पालना गरेर भित्र घर पुगर फर्कन पाउँछन् । न्वाङले यति लामो प्रक्रिया र शर्त पूरा नगरी लुकीछिपी घर जान खोजेका थिए । मुस्ताङस्थित नेपाल प्रहरीलाई दिएको वयानमा न्वाङले सरकारी प्रक्रिया झन्झटिलो हुने भएकाले लुकिछिपी तिब्बतस्थित घर जान लागेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रवक्ता इन्सपेक्टर प्रताप पौडेलले अनुसन्धानका क्रममा न्वाङ तिब्बत फर्कन खोज्नुमा आमालाई भेट्नुबाहेक अरु उदेश्य नदेखिएको बताए । नेपाली र चिनिया सुरक्षाकर्मीले लिएको बयान र खानतलासी गर्दा उनका साथमा १ जोर कपडा बाहेक केही नभेटिएको उनले बताए ।
भारतको कर्नाटकबाट आमा भेट्न हिँडेका न्वाङ आमालाई नभेटी फेरी भारत फर्कन बाध्य छन् । प्रहरीले न्वाङलाई मुस्ताङको घरपझोङ गाउँपालिका–२ छैरोस्थित तिब्बती शरणार्थी शिविरमा छाडेका छन् । मुस्ताङ प्रहरीले न्वाङलाई शिविरका मुखिया छिरिङ वाङ्डुको जिम्मामा छाडिएको थियो ।
प्रहरीले न्वाङलाई नेपाल मानव अधिकार संगठन मुस्ताङकी संयोजक पुष्पा शेचन, पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली र छैरो तिब्बती शरणार्थी शिविरका नोर्बु फिन्छोकको रोहबरमा छाडेको थियो । शिविरबाट न्वाङ सोमबार पोखराको हेमजास्थित शरणार्थी शिविरमा ल्याएको छ । अब उनलाई काठमाडौं पठाउने तयारी भएको बताइएको छ ।
छैरो तिब्बती शरणार्थी शिविरका मुखिया छिरिङ वाङ्डुका अनुसार चीन सरकारले तिब्बती शरणार्थीलाई घर जान नदिएको बताए । यसअघि पनि घर जान हिँडेका तिब्बतीलाई चिनिया सेनाले बाटोबाटै समातेर फिर्ता गरिदिएको उनले बताए ।
सन् १९५९ मा बौद्ध धर्मगुरु दलाइ लामाको स्वायत्त शासन रहेको तिब्बत चीन सरकारले नियन्त्रणमा लिएपछि दलाई लामासहित उनका अनुयायी नेपाल, भारत लगायतका देशहरुमा शरण लिएर बसेका छन् । दलाइ लामाका अनुयायी रहेका तिब्बती नागरिक अझै पनि तिब्बत छाडेर भाग्ने गरेका छन् । उनीहरु अधिकांश नेपालको बाटो भएर भारत र अन्य देशमा शरण लिन पुग्छन् ।
यसरी शरणार्थी जीवन बिताएका तिब्बती नागरिक घर जान चाहे पनि चीन सरकारले जान नदिएको छैरो शरणार्थी शिविरका मुखिया छिरिङ वाङ्डुले बताए । ‘तिब्बतमा डेमोक्रेसी छैन,’ उनले भने, ‘कन्ट्री लष्ट भएपछि हामी १९६१ देखि यता आउन थालेका हौं, अहिले त धेरै नै टाइट छ, आउन पनि दिँदैन ।’
शरणार्थी जीवन विताएका धेरै नागरिक आप्mनो स्वदेश फर्कन लालयित हुने गरेको उनले बताए । न्वाङले झै ४, ५ बर्षअघि ३ जना तिब्बती घर जान खोज्दा चिनिया सेनाले बाटोमै नियन्त्रणमा लिएर फर्काइदिएको उनको मुखिया छिरिङले बताए ।
‘आप्mनो भूमि देख्न त हामीलाई पनि मन लाग्छ नि,’ उनले भने, ‘उता हेर्न पाउँ जस्तो लाग्छ, खुला तरिकाले जान र आउन पाउने भए पो । नत्र बीचमै यता न उता हुन्छ ।’





