बागलुङ/धौलागिरी अस्पताल बागलुङले एक महिनामा ९१ जटिल खालका शल्यक्रिया गरेको छ । गत साउन महिनामा प्रसुती, हाडजोर्नी, नाक, कान, घाँटी, दाँत तथा बच्चाहरुको शल्यक्रिया गरेको हो ।
धौलागिरी अस्पतालमा पहिलोपटक एकै महिनामा यति धेरै शल्यक्रिया भएका हुन् । यसअघि जटिल खालका शल्यक्रिया न्युन मात्रामा हुने गरेका थिए ।
‘यसअघिको तथ्यांक हेदा प्रसुतीका ३३ र अन्य जटिल खालका अप्रेसन तीनवटा मात्रै एक महिना भएको तथ्यांक छ’ अस्पतालको शल्यक्रिया कक्षकी प्रमुख देवी भट्टराईले भनिन् ‘बिषेशज्ञ चिकित्सकको सक्रियता र उपकरणको उपलव्धताले यो सम्भव भएको हो ।’
अस्पतालले हाडजोर्नी टुटे फुटेको समयमा राख्नुपर्ने पाता समेत साउन महिनादेखि बागलुङबाटै राख्न सुरु गरेको समेत उनले बताईन् । एक महिनामा प्रसुतीका लागि ४०, हाडजोर्निका ४५, नाक, कान र घाँटीका ४, दाँतको एक र अन्य शल्यक्रिया एक वटा भएको तथ्यांक छ ।
‘सधैं पोखरा पठाउनुपर्ने बिरामीले साउन महिनामा यहीँ सेवा पाए, खर्चका हिसाबले पनि सस्तो भयो’ बेहोस बनाउने बिषेशज्ञ चिकित्सक नविन पौडेलले भने ‘बाहिर जाँदा २÷३ लाख खर्च हुने समस्याहरुको यहाँ हामीले १०÷१२ हजारमा सफल शल्यक्रिया गरेका छौं ।’
पौडेलका अनुसार हाडजोर्नीको शल्यक्रिया गर्नुपूर्व परीक्षणका लागि आवश्यक पर्ने सिएम मेसिन अस्पतालमा आएपछि सबैखालका शल्यक्रिया सम्भव भएको हो । ‘यहाँ बिषेशज्ञ डाक्टरहरु छौं, उपकरण पनि भएकाले अब बिरामीले पोखरा जानु पदैन्’ उनले भने ‘अस्पतालमा गम्भिर प्रकृतिका शल्यक्रिया भैरहेका छन् ।’
आफ्नै तथ्यांकमा भारी बृद्धि भएपछि मंगलबार शल्यक्रिया कक्षका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले केक काटेर उत्सव मनाएका छन् । बिरामीको सफल उपचार गरेर निको बनाएको खुशीयालीमा चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन ‘सेलिबे्रसन’ गरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।





