शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बाटोसँगै बजार

बाटोसँगै बजार


  • युवराज श्रेष्ठ
  • भाद्र ७ २०७८, सोमबार
फाईल तस्विर

बाटो जहाँ गयो, बजार र व्यापार त्यतै फस्टायो । कुनैबेलाका व्यापारिक केन्द्र नयाँ बाटो बनेसँगै सुनसान छन् ।

चित्राको चोयाले बनाएको भकारीको बार । टिनको छानो । बोराको पर्दा भएको सटर । स्याङ्जाको पुतलीखेतमा बैकुण्ठ गौतमले २०२९ सालमा खोलेको पसलको हुलिया हो– यो । बर्खामा बाढी पस्ने भएकाले हिउँदमा मात्र पुतलीखेत बगरमा यस्ता पसल चल्थे । जहाँ धौलागिरी र गण्डकीका बासिन्दा सामान किन्न जान्थे । गौतमले पुतलीखेत बगरमा ४ महिना मात्र यसरी पसल चलाए ।

गौतमका पुर्खा व्यापार–व्यवसायमा थिएनन् । उनले पनि सुरुवातमा व्यापार गर्ने सोचेका थिएनन् । बागलुङ नगरपालिका– ७, मुलपानीका गौतमले जब एसएलसी पास गरे, त्यसपछि थप अध्ययनका लागि मुस्ताङको दाना पुगे । जहाँ त्यतिबेला मुस्ताङ सदरमुकाम थियो ।

गाउँ फर्केर शिक्षण पेशामा लागेका गौतमलाई व्यापार व्यवसायमा हात हाल्न मन लाग्यो । गण्डकीका गाउँ र सहर जोड्ने सडक र राजमार्ग त्यतिबेला बनेका थिएनन् । नुनदेखि सुनसम्म मानिसले वा घोडा, खच्चडले बोकेर गाउँ पु¥याउनु पथ्र्यो । मानिसले बोकेर यात्रा गर्ने निश्चित ठाउँहरुमा बजार बसेका थिए । पुतलीखेत पनि यसरी नै बसेको बजार थियो ।

व्यवसायमा हात हाल्न गौतमसँग त्यतिबेला पर्याप्त पूँजी थिएन । उनका आमाबुबा किसान थिए । उनका पुर्खाले पनि नुनदेखि अत्यावश्यक सामग्री बुटबल र भारतको सीमानासम्म पुगेर ल्याउनुपथ्र्यो । मुलपानीमा शिक्षण पेशा छाडेर गौतम २०२८ सालमा पोखरा झरे । त्यतिबेला उनीसँग मास्टरी गरेर जोगाएको करिब २ हजार ५ सय रुपैया मात्र थियो ।

पोखरामा केही आफन्त र चिनजानका साथी मिलेर पार्टनरशीपमा उनले गाडी किने । एउटा गाडी ३९ हजारमा आयो । पोखराको सेती नदीमा पुल बनेकै थिएन । उनीहरुले पोखरा–दमौली जीप सेवा संचालन गरे । हाल दमौलीमा रहेको मादी नदीमाथिको पुल पनि त्यतिबेला बनेको थिएन । केही माथिबाट पुल तर्नुपथ्र्यो ।

पृथ्वी राजमार्ग (नौबिसे–पोखरा १७३ किमी) बन्ने चरणमै थियो । २०२८ सालमा तत्कालीन प्रधानमन्त्री किर्तिनिधि विष्टले मुग्लिनको पुल उद्घाटन गरे । त्रिशुली नदीमाथिको त्यही पुलले राजधानी काठमाडौंसँग गण्डकीलाई जोड्यो । सडक पुल बन्दै गए, पृथ्वीराजमार्ग पनि तयार हुँदै थियो । गौतम र उनका साथीहरु मिलेर चलाएको जीप सेवा पृथ्वी राजमार्ग बन्नुअघि नै बन्द गरे । गौतमले जीप बेचेर आएको पैसाले पुतलीखेतमा व्यापार शुरु गरे ।
पुतलीखेतमा पसल खोल्दा उनीसँग जम्मा ५ हजार थियो । आप्mनो कमाई, गाडी बेचेको नाफा र घरबाट मागेर उनले त्यतिका रकम जुटाएका थिए । पुतलीखेतमा ४ महिना मात्र व्यापार गरेका गौतमको व्यावसायिक उडान त्यसपछि सुरु हुन्छ । त्यसयता उनले व्यापार व्यवसायबाट पछाडी फर्कनु परेन । अहिले पनि चितवनको नारायणगढमा उनको रेडिमेड कपडाको व्यापार छ , जुन उनका छोराछोरीले हेर्छन् ।

पृथ्वी राजमार्ग बनेपछि गौतम तनहुँको दुलेगौंडा पारी गणपति चौर गए । व्यापार गर्न २०३१ सालमा गणपति चौर पुगेका उनी डेढ वर्ष बसेर दुलेगौंडा सरे । उनीसँगै उनको पसल पनि स¥यो । उनले खाद्यान्नलगायत किराना पसल चलाएका थिए । दुलेगौंडामा उनले करिब ४ वर्ष व्यापार गरे ।

पृथ्वी राजमार्ग संचालनमा आउनुअघि गणपतिचौरमा व्यवसाय चम्केको थियो । त्यसपछि दुलेगौंडामा चम्कियो । पृथ्वीराजमार्गकै कारण दुलेगौंडाको व्यवसाय फस्टाएको थियो । राजमार्गले छोएका कारण आसपासका गाउँबाट मात्र होइन, अन्य जिल्लाबाट समेत दुलेगौंडामा सामान किन्न मानिस जान थाले । पृथ्वी राजमार्गले काठमाडौंदेखि पोखरा जोडेपछि दुलेगौंडाको व्यवसाय पनि पहिले पहिलेजस्तो भएन । उनले अर्को विकल्प खोजे ।
बागलुङबाट झरेका गौतमले धौलागिरीको व्यवसाय बुझेका थिए । पृथ्वी राजमार्गले पोखरा जोडिएको सडक धौलागिरी पुगेको थिएन । उनले दुलेगौंडाबाट पसल स्याङ्जाको नाउडाँडा सारे । जहाँ धौलागिरीका बासिन्दा सामान किन्न झुम्मिन्थे । गौतमलाई व्यापार सुरु गर्दाका दिनहरुमा उनका भिनाजु दिदी भिनाजुले आर्थिक भरथेग र जरुरी सरसल्लाह दिएर सघाएका थिए, जो पहिल्यै स्थापित व्यापारी बनिसकेका थिए । साथै उनलाइ आफ्ना तीन भाइहरुको पनि व्यवहारिक साथ प्राप्त थियो ।

तनहुँको दुलेगौंडाबाट २०३२ सालमा नाउँडाडा सरेका गौतमको व्यवसाय पुतलीखेत, गणपतीचौर र दुलेगौंडामा भन्दा चम्कियो । पोखरादेखि बागलुङ जाने भूपी शेरचन राजमार्ग बन्नुअघिसम्म उनले व्यापार अन्यन्त्र सार्नेबारे सोच्ने फुर्सदसमेत पाएनन् । बाटो नहुँदा धौलागिरीका जिल्लाहरु पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङका मानिस सामान किन्न नाउँडाडा धाउनुपथ्र्यो ।

यी चार जिल्लाका बासिन्दा घोडा र खच्चड लिएर सामान लिन आउँथे । धेरेजसो त मानिस आफैले पिठ््यूँमा बोकेर लैजान्थे । गौतमका अनुसार बिहानदेखि बेलुकासम्म सामान बेच्न भ्याइनभ्याई हुन्थ्यो, नाउँडाडामा । तर, जब स्याङ्जा बजारदेखि पुतलीखेत हुँदै आँधीखोलाको किनारैकिनार मालबाहक ट्रक जान मिल्ने कच्ची बाटो नाउँडाँडाबाट आधा घन्टा तल रहेको सेतीदोभान पुग्यो , त्यसपछि सेतीदोभान नाउँडाँडाभन्दा ठूलो व्यापारिक केन्द्र बन्न पुग्यो । थियो । १२ वर्ष नाउँडाडा बसेका गौतम र उनका भाइ नारायणले व्यापार केही तलको सेतीदोभान बजार सार्ने निर्णय गरे । त्यतिबेला धौलागिरीबाट सामान किन्न आउने बासिन्दाले सेतीदोभान चम्किएको थियो । मध्यरातसम्म भारी बोकेर हिड्ने बटुवाको चहलपहल हुन्थ्यो । बुटबलबाट आँधीखोलाको किनारैकिनार ट्रकमा सामान ल्याउने र धौलागिरीका बासिन्दालाई बेच्न थाले । तर, जब पोखरादेखि बागलुङ जोड्ने राजमार्ग बन्न थाल्यो, त्यसपछि सेतीदोभान पनि अस्ताउँदै गयो ।
सेतीदोभानको बजार सुकेपछि वैकुण्ठले व्यवसाय चलाउन अर्को ठाउँ खोज्न थाले । २०४३ सालमा सेतीदोभानबाट पसलसहित पृथ्वी राजमार्गको आँबुखैरेनी हुँदै पुगिने गोरखा बजार पुगेर उनले व्यापार अगाडि बढाए । आँबु खैरेनी (तत्कालीन मजुवा खैरेनी)बाट मोटरबाटो जहाँजहाँ पुग्यो, त्यहींत्यहीं बजार बस्दै गयो । गोरखामा आजसम्म पनि मोटरबाटो दश किलोमिटर पुग्दा बसेको बजारलाइ दसकिलो,तेह्र किलामिटर पुगेपछि बसेको बजारलाई तेह्रकिलो आदि नामले बोलाइन्छ । गोरखा बजारदेखि माथिका ग्रामिण क्षेत्रमा त्यतिन्जेल मानिसले नै बोकेर सामान गाउँ पु¥याउँथे । २ वर्ष गोरखा बसेर व्यापार गरेपछि गौतम स्थायी रुपमा चितवन फर्किए जहाँ उनले २०४० सालमै आफ्ना भाइहरुसहित राइस मिल स्थापना गरिसकेका थिए ।

लेखकः युवराज श्रेष्ठ

…….. ……….. ………. ………. ……….
स्थानीय व्यवसायी र राजनीतिकर्मीको पहलमा पोखराबाट बागलुङ जोड्ने भूपी शेरचन राजमार्ग नाउँडाडा, सेतीदोभान हुँदै लैजाने योजना बनेका थिए । सर्भे पनि त्यही रुटबाट भएको थियो । नाउँडाडाका बासिन्दाको माग र पहिलो सर्भे अनुसार बाटो अघि बढेन । व्यापारीहरु बिस्तारै सेतीदोभानबाट स्याङ्जाकै जुग्लेतर्फ उक्लिए । तर जुग्लेमा लामो समय व्यवसाय बस्न सकेन ।
पोखरा–बागलुङ सडक (भूपी शेरचन राजमार्ग ६५ किमी) अर्कै रुटबाट बागलुङ पुग्यो । यो बाटो पनि चिनियाँ सहयोगमै बनेका थिए । बागलुङसम्म मोटरबाटो पुगेपछि नाउँडाडाको व्यवसाय सुक्यो । सेतीदोभान र जुग्ले पुगेका व्यवसायी पनि विस्थापित हुन पुगे ।

मोटरबाटोले पर्वत बजार, बेनी बजार, बागलुङ बजार जस्ता जिल्लामै नयाँ नयाँ बजार खोले । बाहिरबाट व्यापार गर्न गएका वैकुण्ठ गौतमजस्तै व्यवसायीले चम्किएका ग्रामीण बजारमा त्यसपछि सन्नाटा छाउन थाले । व्यवसाय बिस्तारै सेतीदोभानबाट स्याङ्जाकै जुग्लेतर्फ उक्लियो । तर जुग्लेमा लामो समय व्यवसाय बस्न सकेन । कुनै बेलाका व्यापारिक केन्द्र सेतीदोभान, जुग्लेलगायतका बजार पोखरा–बागलुङ सडक बनेपछि अहिलेसम्मै सुनसान छन् ।
पोखरादेखि बागलुङ जाने मोटरबाटोले धौलागिरीका बासिन्दाले आप्mनै जिल्लामा अत्यावश्यक र अन्य सामान किन्न पाए । पृथ्वी राजमार्गले मुग्लिन, आँबु खैरेनी, डुम्रे, दमौली, दुलेगौंडा जस्ता व्यवसाय चम्काएकै थिए । राजमार्गले गण्डकीका सबै गाउँ र जिल्लाको केन्द्र भने पोखरालाई बनाएको थियो । अहिले पनि गण्डकीका प्रायः सबैजसो सहरका व्यावसायिक केन्द्र पोखरा बनेको छ ।
प्रशासनीक केन्द्र पनि अहिले पोखरा नै छ । तत्कालीन सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु पोखरामा बनाएका थिए । मुलुक संघीय संरचनामा गएपछि गण्डकी प्रदेशको राजधानी पोखरा नै तोकिएको छ । यसले पनि पोखरालाई व्यावसायिक मात्र नभई राजनीतिक र प्रशासनिक केन्द्र पनि बनाएको छ ।

गौतमको व्यावसायिक यात्रा २०४५ सालमा चितवन झरेपछि स्थिर भएको छ । उनी अहिले पनि व्यवसाय चलाइरहेका छन् । तर, पहिला जसरी कहाँ राम्रो व्यापार हुन्छ भन्दै खोज्दै हिँड्नुपरेको छैन । उनले बिभिन्न बजारहरु कसरी बसे र कसरी समाप्त भए आफैले देखेका छन्, भोगेका छन् ।
व्यवसाय यात्रामा गौतमको चितवनबाहेक सबैभन्दा लामो समय स्याङ्जाको नाउँडाडामा बिताए । पाल्पाबाट गुल्मी र गण्डकीकै व्यापारीले पनि सामान ल्याउने ठाउँ थिए । सिद्धार्थ राजमार्गले स्याङ्जाको गल्याङ, वालिङ, पुतलीबजारलगायतका सहर बसायो ।

पृथ्वी राजमार्ग बन्नुअघि तनहुँको बेलचौतारा एउटा व्यापारिक केन्द्र थियो । राजमार्गले यो बजारलाई विस्थापन गरेर दुलेगौंडालाई नयाँ व्यवसायिक केन्द्र बनायो । गौतमका अनुसार तनहुँको थर्पुबजार पनि राजमार्ग बन्नअघि चम्किएका व्यवसायीक केन्द्र थियो । त्यतिबेला दमौली सहर बनेकै थिएन । नामुद व्यापारिक केन्द्र बन्दिरपुरबाट पृथ्वीराजमार्ग बनेपछि दमौलीमा सदरमुकाम स¥यो । त्यसपछि मात्रै दमौलीमा व्यवसाय विस्तार भएको गौतमको अनुभव छ । लमजुङ र मनाङसम्मका बासिन्दाका लागि डुम्रे बजार पनि पहिले नै बसेको थियो । राजमार्गले उक्त बजार बिस्तार गर्न टेवा पु¥याएको उनको अनुभव छ ।
पोखरामा बसेर जीप चलाएका गौतमले त्यतिबेला मुस्ताङचोकमा तीन सय रुपैयाँ हात जग्गा पाएका थिए । उनले खरिद गरेर मोटर वर्कसप खोल्न पनि चाहेका थिए । उनका साथीहरुले तनहुँको गणपतिचौरमा ५ सय रुपैयाँ रोपनी जग्गा पाइन्छ भनेर उक्साए । पाउन पनि पाए । तर, सोचेजस्तो व्यापार नचेलेपछि बेचेर हिँडेका थिए ।
नाउँडाडामा बसेर व्यवसाय गर्दा उनलाई पोखराकै एयरपोर्ट नजिकै प्रति रोपनी १० हजार रुपैयाँमा जग्गा पाएका थिए । त्यतिबेला उनलाई १ लाख रुपैयाँमा १० रोपनी जग्गा खरिद गर्न अफर आएको थियो । तर उनले लिएनन्, चितवनमै लिने भनेर गएको उनले संझिए ।

मोटरबाटोले उनको व्यवसाय र जीवनमा मात्र होइन, जग्गाको भाउमा समेत उतार चढाव आएका थिए । स्याङ्जाको सेतीदोभान र नाउँडाडा त्यतिबेला व्यापार चम्किदा महँगो थिए । अहिले बनेका राजमार्ग वरीपरीका जग्गा सस्तो । जब राजमार्गमा बजार बस्न थाल्यो, ग्रामीण व्यापारिक केन्द्र सुके । गाउँका जग्गा सस्तिन थाले भने नयाँ बजार बसेका ठाउँका जग्गा महँगिन थाले ।
बाटो बनेपछि पश्चिम नेपालको पाल्पा र तनहुँको बन्दिपुर सुकेको उनले सुनाए । अहिले बन्दिपुर पर्यटकीय केन्द्रका रुपमा स्थाापित छ भने पाल्पा बजारले पुनरुत्थान हुन सकेको छैन । त्यतिबेला भारतबाट ठोरी नाका हुँदै सिधै बन्दिपुर सामान आउने गरेको वैकुण्ठले बताए । त्यतिबेला गोरखा बजार पनि राजदरबार भएको ठाउँमा रहेको उनले बताए ।

बाटो नपुग्दै बागलुङ बजारमा पनि उस्तै चम्किएको थियो । गौतम व्यवसायमा लाग्नुअघि नै बागलुङ बजारमा जिल्लाभित्रका मानिस मात्र होइन, म्याग्दी, गुल्मीलगायत अरु जिल्लाका मानिस पनि सामान किन्न आउँथे । चैत्र अष्टमीमा बागलुङ बजारमा ठुलो मेला लाग्थ्यो । त्यतिबेला ठाडो कुलो भएको ठाउँमा खेत थियो । अहिले बाटो बनेको छ । त्यही खेतमा सात दिनसम्म व्यापारिक मेला लाग्ने गरेको गौतम सम्झिन्छन् ।
‘हामी सानो छँदा मेलामा बाटो हिँड्ने ठाउँ पनि हुन्थेन, खेतमै बास बस्थे, गीत गाउँथे,’ उनले भने, ‘त्यही मेलाबाट वर्षदिनलाई पुग्ने नुन, तेल लैजान्थे ।’ अष्टमी मेलाका लागि त्यतिबेला स्थानीय व्यवसायीले बुटबलबाट सामान मगाएर राख्थे । स्थानीय व्यवसायी मात्र होइन, खेतमा पसल राख्न अन्यत्रका मानिस पनि सामान लिएर आउँथे ।

त्यतिबेलाका बजारमा व्यापारीले निश्चित नाफा लिने गरेको गौतम बताउँछन् । थोक बेच्नेलाई एउटा मूल्य थियो भने खुद्रा बेच्दा अर्को मूल्य । खुद्रा सामान बेच्दा व्यवसायमा एकरुपता आओस् भनेर सबैले बराबरी मुल्य राख्ने गर्दथे । निश्चित नाफा राखेर सामान बेच्ने गरेको उनले बताए । स्याङ्जाका तत्कालीन नामुद व्यापारी काजीमान श्रेष्ठले तिमीहरुले थोक बेच्दा अरुले खुद्रा बेचेको सामानमा असर नपरोस् भनेर सचेत गराएको गौतमले बताए । व्यवसायी श्रेष्ठ कांग्रेस नेता गोपालमान श्रेष्ठका बुबा हुन् ।
त्यतिबेलाको व्यवसायमा अधिकांश ग्राहक र व्यापारीको राम्रो चिनजान र सम्बन्ध हुन्थ्यो । सेतीदोभान वा अन्य जुनसुकै ठाउँमा पनि व्यवसाय गर्दा ग्राहकसँग राम्रो चिनजान र विश्वास हुने गरेको वैकुण्ठले बताए । यही चिनजान र सम्बन्धका कारण अर्कै जिल्लाबाट आएका ग्राहकले पनि उधारोमा सामान पाउँथे । यसरी उधारो दिएका ग्राहकले अर्कोपटक आउँदा तिर्ने गरेका थिए ।

पृथ्वी राजमार्गभन्दा अघि नै पोखरा– सुनौली जोड्ने १८१ किमी लामो सिद्धार्थ राजमार्ग बनिसकेको थियो । सिद्धार्थ राजमार्गले भारतदेखि पोखरासम्म नुनलगायत दैनिक अत्यावश्यक र आरामदायी सामाग्री मोटरमार्फत् ल्याएको थियो भने २०३१ सालपछि काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्गले अर्को भारतबाट ल्याइएका सामाग्री विभिन्न जिल्ला र गाउँ पु¥याउन सजिलो बनाइदिएको थियो ।

सिद्धार्थ राजमार्ग भारतीय सहयोगमा बनेको थियो भने पृथ्वी राजमार्ग चिनियाँ सहयोगमा । नेपाल–चीन जोड्ने कोदारी राजमार्ग खुलेपछि चिनियाँ सामग्री मोटर चढेर काठमाडौं भित्रिएको थियो । काठमाडौंबाट चिनियाँ सामग्री पहाडका गाउँ गाउँ पु¥याउन पृथ्वी राजमार्गले झनै टेवा पु¥यायो । तराइको पूर्व–पश्चिम राजमार्गबाट पहाड चढेको सिद्धार्थ राजमार्गले भने भारतीय सामाग्री पहाड ल्याएको थियो ।
यसरी राजमार्गमार्फत् भारत र चीनको व्यापारिक प्रतिष्पर्धा चलेको थियो । भारत र चीनका आ–आप्mनै विशेषता बोकेका सामग्री नेपालका ग्रामिण क्षेत्रमा राजमार्ग हुँदै पुग्न थाले । स्थानीय व्यवसायीले यस्ता सामग्री गाउँगाउँबाट आएका ग्राहकलाई बिक्री वितरण गर्न थाले ।

मोटरबाटोले पुराना परम्परागत व्यापारिक केन्द्र भत्काउँदै लग्यो । नयाँ नयाँ व्यवसायी केन्द्र बन्न थाले । सिद्धार्थ राजमार्ग बन्नुअघि पाल्पा बजार पश्चिम नेपालकै नामुद व्यापारिक केन्द्र थियो । वैकुण्ठ भन्छन्– ‘पाल्पा यसरी सुक्ला भनेर त्यतिबेला कल्पनासमेत गरिएको थिएन ।’ नुन किन्न भारतको ठोरी नाकासम्म पुग्नुपर्ने नेपाली बाटोसँगैसँगै बुटबल, पाल्पा, वालिङ, पुतलीखेत हुँदै नाउँडाडा र सेतीदोभानसम्म बाडियो ।
बजार उठ्दै जाँदा केही उधारो भने उनीहरुले उठाउन सकेनन् । व्यापार गर्दै जाँदा सबै ठाउँमा धेरथोर उधारो बाँकी बसेका गौतम बताउँछन् । उनले भने, ‘पैसा उठाउन खोज्न जाँदा कहीं मान्छे भेटिएनन्, कहीं पछि दिउँला भने । सधै पैसा उठाउन हिँड्ने कुरा पनि भएन, बाँकी बसेको पैसा (उधारो) बाँकी नै रह्यो । बाठाले उठाए होलान्, पछिपछि मान्छे चिन्न पनि छाडियो, दिन पनि छाड्यो ।’

बागलुङको मुलपानीबाट व्यावसायिक यात्रामा निस्केका गौतम २ वर्षअघि आप्mनो पुख्र्यौली थलो मुलपानी पुगेका थिए । उनको पैतृक सम्पत्ति अहिले पनि गाउँमा करिब ४० रोपनी जग्गा छ । जग्गामा केही आफन्तले खेती गरेका छन्, बाँकी बाँझै छ । कमाउने मान्छे नपाएका कारण जग्गा बाँझो राख्नुपरेको उनको भनाई छ ।
चार दाजुभाइमा बैकुण्ठ जेठा हुन् । उनीहरु चारैजना अहिले चितवन बस्छन् । मुलपानीको पैतृक जग्गा अहिलेसम्म दाजुभाइले बाँडेका छैनन् । बेच्न पनि चाहेका छैनन् । अहिले पहाड सुनसान भएपनि फेरि दिन फर्कनेमा भने उनी ढुक्क देखिए । ‘बागलुङ बजार भरिएर रातमाटासम्म आइपुग्यो, अब बजार आउने हाम्रो गाउँतिर हो,’ उनले भने ।

गाउँको जग्गा आफू व्यवसायमा निस्कनुअघि निकै महँगो थियो । अहिले बजार बसेका फाँटहरु सस्तो । त्यतिबेला मुलपानीको ४० रोपनी बेचेर चितवन, पोखरा वा अन्य शहरमा जग्गा किनेको भए गाउँमा भन्दा धेरै जग्गा आउँथ्यो । अहिले गाउँका यति धेरै जग्गा बेच्दा पनि सहरमा एउटा घडेरी आउँदैन । गौतम भने, ‘त्यतिबेला गाउँको जग्गा बेचेर पोखरा, चितवनतिर लिएको भए मुल्याङ्कन नै गर्न नसकिने मूल्य पथ्र्यो, ठीकै छ, गाउँमा आजपनि हाम्रो जग्गाजमीन जस्ताको त्यस्तै छ भन्न त पाइएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->