बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

संक्रमित घट्दा नर्सहरुलाई सहज

संक्रमित घट्दा नर्सहरुलाई सहज

१८ जना नर्सको दरबन्दी रहेको अस्पतालमा ११ जना मात्रै नर्स छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७८, शुक्रबार

बागलुङ/ कोरोना महामारीको दोस्र्रो लहर सुरु भएयता धौलागिरी अस्पतालका नर्सहरुले पहिलोपटक केही हलुका महशुस गर्न थालेका छन् । वैशाख १२ देखि भरिएका अस्पतालका शैयाहरु बिस्तारै खाली हुन थालेपछि यहाँ कार्यरत स्वास्थ्यकर्र्मी र चिकित्सकहरुलाई केही सहज भएको हो ।

सीमित जनशक्तिमा अधिक सेवा प्रवाह गर्नुपरेका यहाँ कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकलाई महामारीको दोस्रो लहरसँग जुध्न कठिन भैरहेको थियो । पछिल्लोपटक अस्पतालको आईसोलेसन कक्षमा चार जना संक्रमित बिरामी भर्ना भएका छन् । तीमध्ये दुई जनाको सघन उपचार कक्ष र बाँकी दुई जनाको आईसोसन कक्षमा उपचार भैरहेको छ ।

‘लामो समय भोक निद्रा भन्न पाइएन, अहिले केही हलुका भएको छ, आइसोलेसन बाहिरका बिरामीको रेखदेखमा ध्यान पु¥याउन पाइएको छ’,अस्पतालकी निमित्त नर्सिङ प्रमुख अन्जना पौडेलले भनिन्, ‘५० जनासम्मलाई एकैपटक आइसोलेसन राखेर उपचार गर्दा भ्याईनभ्याई हुन्थ्यो ।’ अस्पतालले तीन शैयाको सघन उपचार कक्ष, २५ शैयाको आइसोलेसन र तीन शैया भेन्टिलेटर राखेर कोभिडका बिरामीको उपचार गरिरहेको छ ।

अस्पतालमा भएको दरबन्दीमा चिकित्सक र स्वास्थ्यकर्मी नभएकाले उपचारमा निकै समस्या छ । बिरामीको रेखदेखमा खट्ने नर्सहरुको समेत दरबन्दी खाली छन् । १८ जना नर्सको दरबन्दी रहेको अस्पतालमा ११ जना मात्रै नर्स छन् । तीमध्ये तीन जना बिदामा बसेकाले ८ जनाको भरमा १ सय शैया चलेको पौडेलले बताईन् । ५० शैया क्षमता हुँदा कायम भएको दरबन्दी र त्यहीं दरबन्दीमा समेत जनशक्ति नआउँदा कोरोना महामारीको बेला नर्सहरुलाई निकै समस्या थियो ।‘नर्सिङ प्रशासकको दरबन्दी खाली छ, दुई जना नर्सिङ अधिकृत मात्रै छौं, नर्सिङ प्रशासन र बिरामीको उपचार सबैतिर खट्नु पर्छ’, पौडेलले गुनासो गरिन् ।

दक्ष जनशक्ति मात्रै होइन, अस्पताका विभिन्न बिभागबाट प्रवाह हुने सेवाका लागि आवश्यक सहयोगी जनशक्तिको समेत अभाव छ । ‘दुई जना मात्रै दरबन्दीका हेलपर छन्, सरसफाईको जिम्मेबारी लिएको जिफोर्ससँग दुईजना मागेर काम चलाउनु परेको छ’, अस्पतालकी नर्सिङ अधिकृत मिलन केसीले भनिन् ‘सहयोगी नहुँदा नर्स, चिकित्सकहरुलाई काम गर्न कठिन हुन्छ ।’ विभिन्न समयमा अस्पताल विकास समितिले नियुक्त गरेका २६ जना सहयोगीलाई अन्य कामहरुमा खटाइएको छ ।

शल्यक्रियापछि शैयामा राखेर गरिने उपचार, प्रसुति कक्षमा रहेका शैयामा हुने उपचार र आइसोलेसन तथा सघन उपचार कक्षमा रहेका शैयामा हुने उपचारका लागि एकजना बिरामी बराबर एक जना नर्स हुनुपर्छ । तर अस्पतालमा नर्सको जनशक्ति कम भएका कारण कुनै एक विभागमा एकजना नर्सले मात्रै धान्नुपरेको पौडेलको गुनासो थियो ।
कोरोना महामारीको पहिलो लहरमा अस्पतालले २९४ जनाको उपचार गरेको थियो । तीमध्ये ४ जनाको मृत्यु भएको तथ्यांक छ । दोस्रो लहर सुरुभएको वैशाख १२ गते यता २३९ जनाको उपचार भएको छ । तीमध्ये ३८ जनाले ज्यान गुमाएको तथ्यांक अस्पतालसँग छ ।

‘पूर्वाधार र उपकरणका हिसावले अस्पताल वीर अस्पतालभन्दा कम छैन्, तर जनशक्ति किन टिक्दैन ?’, प्रमुख पौडेल भन्छिन् ,‘करारमा रहेको जनशक्ति समेत लामो समय नरहँदा उपचारमा बेला बेलामा समस्या आउँछ ।’ कोरोना महामारीको समय भएकाले घर र परिवार बिर्सिएर बिरामीको उपचारमा लागेका नर्सहरुलाई प्रत्साहित गर्नुपर्ने नर्सहरुको माग छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->