बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तीन जना अझै बेपत्ता, एकको उद्धार

तीन जना अझै बेपत्ता, एकको उद्धार


  • खगेन्द्र पराजुली
  • भाद्र १२ २०७८, शनिबार

नवलपुर /बुधबार रातिदेखि निरन्तर परेको बर्षाले नवलपुरको जनजीवन प्रभावित बनेको छ । नवलपुरको अधिकांश दक्षिणी क्षेत्र डुबान र कटानमा परेका छन् भने पहाडी क्षेत्रमा पहिराको चपेटामा परेका छन् ।
नवलपुरका ८ वटै पालिकामा बाढी र पहिराले क्षति पु¥याएको सम्वन्धित पालिकाका जनप्रतिनिधि, प्रशासकीय कर्मचारी र जिल्ला प्रहरी कार्यालय समेतले जानकारी गराएका छन् । यद्यपि, क्षतिको मूल्यांकन विवरण भने तयार भइनसकेको जनाएका छन् ।

हुप्सेकोट गाउँपालिका४ स्थित पहाडी क्षेत्र रुम्ची माथिल्लो चारघरेमा एक घर पहिरोले पुर्दा तीन जना बेपत्ता छन् । घाइते अवस्थामा भेटिएका एक जनाको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरी कार्यालयका प्रमुख एसपी प्रकाश मल्लका अनुसार पहिरोमा ४० वर्षीया धनमाया पुलामी र उनका ६ र ७ बर्षीया नातिनीहरु क्रमशः देउमाया र भूमीसरा पुलामी बेपत्ता छन् । ५० बर्षीय हस्तबहादुर पुलामीको भने उद्धार भएको छ । शुक्रवार बिहानैदेखि प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजतलास गरे पनि साँझसम्म फेला पार्न नसकेको जनाईएको छ । रात परेकाले र दिउँसो रोकिएको पानी फेरी पर्न लागेकाले शनिवार खोजतलास सुचारु गरिने प्रहरीले जनाएको छ ।

नवलपुरको विकट पहाडी क्षेत्र बौदीकाली र बुलिङटारमा पहिराले थुप्रै पूर्वाधारका संरचना र ब्यक्तिका खेतीयोग्य जमिन कटान गरेर क्षति पुर्याएको छ ।
बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुबेदीका अनुसार पहाडी क्षेत्रबाट सदरमुकाम कावासोती दलदले आउजाउ गर्ने बाटादेखि गाउँ गाउँ पुग्ने बाटा–घाटाहरु ध्वस्त भएका छन् । बाटो, सिचाई, खानेपानी लगायतका वनिसकेका पूर्बाधार र निर्माणको क्रममा रहेका पूर्वाधारमा ठूलो क्षति भएका जनाईएको छ । खोला किनारमा रहेका थुप्रै खेतीयोग्य जमिनहरु कटान गरेको जानकारी प्राप्त भएको तर सबैको क्षति विवरण संकलन हुन बाँकी रहेको छ ।

गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दुका सडकसँग जोडिएका अधिकांश वजार क्षेत्रमा पानी निकासको उचित ब्यवस्थापन नहुँदा बजार क्षेत्रहरु डुवानमा परेका छन् भने सडकमै बाढी चलेको थियो ।
कावासोती नगरपालिकाको खानेपानी संस्थाको पाईपलाईन बाढीले बगाउँदा वडा नं. ५ र ६ मा खानेपानी वितरण प्रणाली प्रभावित बनेको छ । अगिल्लो बाढीमा क्षति पुगेको सदरमुकाम कावासोती र हसौरा जोड्ने केरुङ्गे खोलामाथीको पक्की पुलमा झन् धेरै क्षति पुगेको छ ।

पत्थर खोलामाथीको झलुङ्गे पुल बगाउँदा कावासोती, डण्डा, चोरमारा आउ–जाउ गर्ने गोरसतीबासीलाई अप्ठ्यारो भएको छ ।
देवचुली नगरपालिकाको वडा नं. ५ को बन्दीपुर, ६ को किर्तिपुर र १६ को बाह्रकोल जाने ग्रामीण सडक माथीवाट पहिराले पुर्दा र तलबाट खोलाको बाढीले कटान गर्दा आवत–जावत ठप्प छ । किर्तिपुरमा बिजुलीका पोलहरुमा क्षति पुग्दा उज्यालोबाट बञ्चित बनेका छन् ।

विनयी त्रिवेणीस्थित पूर्वपश्चिम मुख्यमार्गको दाउन्ने खण्डमा पहिरो खस्दा र गैंडाकोटको २३ स्मृति पुल नजिकैको डाईभर्सन भत्किदा नारायणगढ–बुटवल खण्डमा यातायात सेवा अवरुद्ध भएको छ । गैंडाकोटको डाइभर्सन मर्मत र दाउन्नेको पहिरो पन्छाउने कार्य भैरहेपनि शुक्रबार अबेरसम्म सडक सञ्चालनमा आउन सकेको छैन ।

अरुणखोलाको बाढीले पल्टायो २ ट्रक

नवलपुरको अरुणखोलामा दुईवटा ट्रक पल्टिएको अवस्थामा बेवारिसे फेला परेका छन् । लु २ ख ६७६ र लु २ ख ५ नं. का दुईवटा ट्रक खोलामा आएको बाढीले बगाएर पल्टेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक मधुसुदन सिंहका अनुसार गएराती स्थानीयले खोलामा ट्रक देखेको सूचना प्राप्त भएपश्चात् प्रहरी पुगेको हो । मध्यविन्दु नगरपालिका वडा नं. ११ कुसुण्डेस्थित दक्षिणबाट उत्तर राजमार्गतर्फ आउँदै गरेका हाफ–ट्रेलरका दुईवटै ट्रक पुराना मोडलका भएकाले स्थानीय ढुवानी सेवामा प्रयोगमा आउने खालको प्रकृतिका देखिए पनि कस्को गाडी, कहाँ गएका वा हिडेका भन्ने स्पष्ट रुपमा नखुलेको बताईएको छ ।
खोलामा ढुंगा, गिटी, बालुवा उठाउन गएका बेला अकस्मात आएको बाढीले बगाएको हुनसक्ने वा खोला तर्ने क्रममा पल्टिएको हुनसक्ने भएकाले सोही अनुमानका आधारमा अनुसन्धान भईरहेको पनि प्रहरीको भनाई छ । ट्रकका चालक, सहचालक धनी कोही पनि अहिलेसम्म सम्पर्कमा नआउँदा प्रहरीले ती साधनको पहिचानको अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->