पोखरा– २०७५ फागुन १५ गते मध्यरातमा हुइँकिदै आएको मोटरसाइकल पुलमा ठक्कर खाँदा पोखरा १ सिम्पानीका एक युवकको ज्यान गयो । पुलमा ठोक्किएर घाइते भएका २७ वर्षीय ऋषिकेश पहारीको उपचारकै क्रममा मृत्यु भएको थियो । उनीसँगै पछाडि बसेका २८ वर्षीय विमल थापा घाइते भए ।
सोही वर्षकै पुस १० गते पनि म्याग्दी मंगल गाउँपालिकाका १९ वर्षीय तिलकबहादुर थापाको ज्यान गयो । चाख्लो सडकमा हुइँकिदै आएको मोटरसाइकल एक्कासि साँघुरो पुलमा आइपुग्दा अनियन्त्रित भई पुलमा ठोक्किएको थियो ।
पोखरा ४ र ५ नम्बर वडा जोड्ने पुल ६ मिटरको छ, सडक भने २४ मिटर । फिर्केखोलामाथि बनेको उक्त पुलले २ वडालाई जोडेको त छ । तर, सडकअनुसारको फराकिलो पुल नहुँदा सधैं दुर्घटना पर्ने गरेको छ ।
फराकिलो सडकको बीचमा रहेको साँघुरो पुलमा वर्षमा कति दुर्घटना हुन्छन्, प्रहरीसँगसमेत तथ्यांक छैन । तर, जिल्ला प्रहरी कार्यालय कास्की भन्छ, ‘दुवै भागतिर फराकिलो बाटो र बीचमा साँघुरो पुल नहुँदा मानवीय क्षति नभएपनि धेरै दुर्घटना हुने ठाउँ हो त्यो । बाहिरबाट आएकाहरु प्रायः दुर्घटना पर्छन् ।’
शनिबार मध्यरातमामात्रै उक्त पुलबाट एक जिप खसेको थियो । बेलायती दुतावासको उक्त स्कार्पियो जिप राति करिब २ बजेतिर खसेको थियो । जिपमा सवार २ सामान्य घाइते भएका छन् । केही समयअघिमात्रै सोही पुलमै ट्रक दुर्घटना भएको थियो ।
पोखरा–बागलुङ सडकअन्तर्गत पर्ने जिरो किमीदेखि विन्ध्यबासिनीसम्मको उक्त बाटो करिब ४ वर्षअघि नै चख्ल्याइएको थियो । बाटो चख्ल्याइपनि पुल फराकिलो बनाउन चासो नदिँदा दुर्घटना बढेको हो । पुल जीर्णसमेत भइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चाख्लो बाटोमा साँघुरो बाटो भएकै कारण त्यहाँ दुर्घटना बढेको हो । दैनिक आउजाउ गर्ने स्थानीय उक्त पुलबारे जानकार रहे पनि बाहिरबाट आउने यात्रुहरु बढी दुर्घटनामा पर्ने गरेका छन् । ‘यताउता ठूलो बाटो छ । एक्कासि आएर सानो हुँदा धेरै दुर्घटना हुने सम्भावना हुन्छ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमाल भन्छन्, ‘हिजो (आइतबार)को जिप दुर्घटनाको पनि त्यही प्रकृति हो ।’
छेउमै नयाँ पुलको ठेक्का, म्याद सकिनेबेला जगमात्रै उठ्यो !
फराकिलो बाटोमा साँघुरो पुल भएपछि अहिले रहेको पुल नजिकै नयाँ पुल बन्दैछ । तर, उक्त पुल बनाउन चासो नदिँदा निर्माण अवधि सकिनेबेलासम्म जगमात्रै उठाइएको छ भने कामसमेत ठप्प छ । काम छिटो सक्न ठेकेदार कम्पनी तथा सरोकारवाला निकायसँग पटकपटक पत्राचार गर्दा पनि सफल हुन नसकेको सडक डिभिजन कार्यालय, कास्कीको दाबी छ ।
पुललाई फराकिलो बनाउन सडक डिभिजन कार्यालय, पोखराले शान्ति आरोग्य जेबीसँग २ वर्षअघि सम्झौता गरेको थियो । २ वर्षमा निर्माण गरिसक्ने गरी भएको ठेक्का असोज मसान्तमा सकिँदैछ । तर, म्याद सकिन लाग्दासमेत जगको पूरा काम पनि नभएको सडक डिभिजनका इन्जिनियर सन्तोष थापा सुनाउँछन् ।
हाल रहेको पुलमा राखी दायाँबायाँ २÷२ लेन बढाएर ६ लेनको पुल बनाउने गरी०७५ असोजमा ८ गते जेभीसँग १२ करोड ३२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको इन्जिजियर थापाले जानकारी दिए ।
इन्जिनियर थापाका अनुसार नयाँ पुलका लागि आवश्यक ६ जगमध्ये अहिलेसम्म ४ पुलमात्रै निर्माण गरिएको छ । ‘अहिलेसम्म ४ ठाउँको जगको काम सकियो । अब केहीसमयमा २ जग पनि बन्छन्,’ उनी भन्छन्, ‘जग बनाइसकेपछि बल्ल पिलरको काम सुरु गर्ने हो ।’
पुल निर्माण सम्झौताअवधिमै सकिने भए पनि जग्गा मुआब्जा, बिजुली पोल र खानेपानी पाइपलगायतका कामले ढिलाइ हुन पुगेको इन्जिनियर थापाको भनाइ छ । उनका अनुसार जिल्लाले मुआब्जाको फाइल हेरेर केही समयअघिमात्रै केन्द्रीय मन्त्रालयमा पठाएकाले ढिलाइ हुन पुगेको हो ।
‘जग्गाको मुआब्जाको फाइल जिल्लाले हेरेर माथिमा पठाइसकेको छ । तर, त्यहाँबाट केही प्रतिक्रिया आएको छैन । जग हाल्ने ठाउँमै खानेपानीको पाइप भएकाले त्यो पनि व्यवस्थापन हुन सकेको छैन,’ उनले भने, ‘बिजुली पोलले पनि अवरोध ग¥यो । जेठमामात्रै आएर बल्लबल्ल हटाउन सक्यौं ।’
पुलको माथिल्लो २ लेन बनाउन विभिन्न अवरोध भएपनि तल्लो भागमा भने कुनै समस्या नभएको इन्जिनियर थापा बताउँछन् । ‘तल्लो भागमा काम गर्न सहज थियो । हामीले कन्ट्रयाक्टरलाई भनेका पनि हौं । तर, आधा काम गर्दा घाटा हुन्छ भनेर काम गरेन,’ उनले भने ।
म्याद सकिन मुस्किलले २ महिनामात्रै बाँकी छ । समयमै पुल निर्माण नसकिने भएपछि म्याद थपको तयारी भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । कोभिड प्रभावलाईसमेत ध्यानमा राखेर एक वर्षसम्म म्याद थप्न सकिने इन्जिनियर थापाले जानकारी दिए । ‘जगको काममात्रै ढिलो हो । त्यसपछि अरु काम त सजिलै हुन्छ,’ उनले भने ।





