शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मध्यपहाडी लोकमार्गको फड्को…

मध्यपहाडी लोकमार्गको फड्को…


  • रामकृष्ण बोहरा
  • भाद्र १४ २०७८, सोमबार

तराईमा रहेको हुलाकी राजमार्गको विकल्पको रुपमा विकास गर्न थालिएको मध्यपहाडी जति आलोचित र चर्चित छ त्यत्तिकै रुपमा जनजीविकासँग जोडिएको छ । पूर्वमा पाँचथर चियो भन्ज्याङबाट सुरु भएको यो लोकमार्ग २४ वटा पहाडी जिल्ला छुँदै सुदूरपश्चिमको बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ ।

बागलुङ/ गलकोटमा पुरानो हरिचौर बजार छोडेर हटियामा बस्ती विस्तारको लहर चलेको छ । गलकोटकै मनेवामा माछाको व्यापार, बडिगाड गाउँपालिकामा पर्ने ग्वालीचौरको खार बजार बिस्तार, रिसोर्ट र रेस्टुँराहरुको प्रतिस्पर्धा, निसीखोला गाउँपालिकामा झिँवाखोलाको व्यापार, पर्यटकीय क्षेत्र पातिहाल्नेमा पुग्ने सवारी भरिभराउ हुनु यो कुनै संयोगमात्रै होइन । बरु, मध्यपहाडी लोकमार्गको ट्रयाक खुलेपछि पूर्वी बागलुङदेखि पश्चिम बागलुङसम्म फेरिएको पछिल्लो अवस्था हो ।

बुर्तिबाङ बजार त नेपाल सरकारले मध्यपहाडी लोकमार्गमा पर्ने १० वटा सहरलाई नमूना सहर बनाउँदा प्राथमिकता परेको मध्येको एक हो । मध्यपहाडीकै कारण बुर्तिबाङ बजार नमूना सहर आयोजना सञ्चालनमा छ । केही काम भएका छन्, केही काम समीक्षा गर्नुपर्ने विषय बनेका छन् ।

बुर्तिबाङको विस्तारले तमानखोलामा विकासको छाल हानेको छ । काठेखोला गाउँपालिकामा पर्ने घोडाबाँधेको कुल मौसम, हिमश्रृंखलाको काख, अछेते बजारले फेरेको मुहार र बागलुङ बजारको उपल्लाचौर क्षेत्रमा भइरहेको बस्ती विस्तार पुष्पलाल मध्यपहाडी लोकमार्गले ल्याएको उछाल हो ।
बागलुङ र रुकुमको सिमानामा पर्ने पातिहाल्ने कुनै बेला गाईगोठ र भेडीगोठ मात्रै सीमित थियो । गोठालामात्रै पुग्ने पातिहाल्ने अहिले आन्तरिक पर्यटकको रोजाइ बनेको छ । ‘पहिले नेपाल सरकार र गाउँ विकास समितिले मिलेर निसीसम्म सानो सडक बनाएका थियौं, अन्त सडक देख्नु त्यस्तै थियो,’ निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल भन्छन्, ‘अहिले पातिहाल्ने हाम्रो मुख्य पर्यटकीय क्षेत्र बनेको छ, मध्यपहाडी सडक पुगेपछि पातिहाल्नेले मुहार फे¥यो ।’

बागलुङ बजार छोडेर बुर्तिबाङ बजार पुग्ने जो कोहीको पहिलो रोजाइ ढोरपाटन शिकार आरक्ष हुँदा पातिहाल्नेले दोस्रो ठाउँ ओगटेको छ । निसीखोलाको भल्कोटमा सडकको त के कुरा ? मध्यपहाडी खुल्नु पूर्व मोबाइलमा नेटवर्कको समेत समस्या थियो । नत गाउँमा कोही पुग्थे नत त्यहाँका गाउँलेहरु सहज हिसाबले सदरमुकाम र जिल्लाका अन्य ठाउँमा पुग्न सक्थे ।
‘हाम्रोमा मोबाइल फोन लाग्ने भएको ५ वर्ष भयो, सडक बनेपछि मात्रै टावर बनेको हो,’ निसीखोला गाउँपालिका ६ भल्कोटका स्थानीय सूर्यमान बुढामगरले भने, ‘अहिले त सुगम भएको छ ।’ मध्यपहाडी लोकमार्गको विस्तारसँगै बागलुङको कर्णाली भनेर चिनिने पश्चिम बागलुङले परिचय फेरेको छ ।

‘३ दिन पैदल हिँडेर सदरमुकाम पुगिन्थ्यो, अहिले ५ घण्टामा गाडीले दैलोमै पु¥याउँछ,’ बुढामगर भन्छन्, ‘बिरामी पर्दा एम्बुलेन्स घरमै आउँछ, बारीमा फलेको तरकारी बजार सहजै पुग्छ ।’ बागलुङ बजारबाट बुर्तिबाङ सडक पुग्दा समेत निसीखोला पुग्न एक दिन लाग्थ्यो । अहिले समय, खर्चको बचत भएको बुढा बताउँछन् ।

मध्यपहाडीले बागलुङमात्रै होइन गण्डकीका पर्वत, कास्की र गोर्खा जिल्लाको मुहार फेर्नेमा ठूलो भूमिका खेलेको छ । गोरखामा आरुघाट–ओखले १३ किलोमिटर सडकखण्ड बनेको छ । गोरखा खण्डको केही भाग कालोपत्रेसमेत भएको आयोजनाले जनाएको छ । त्यो भन्दा पश्चिमको ४० किलोमिटर खण्डमा पनि काम भइरहेको छ ।
सडकले स–साना गाउँ र बजार क्षेत्रको विकास लहर ल्याएको छ । यो सडकको ८२ किलोमिटर खण्ड कास्कीमा पर्छ । करपुटार, थुम्की, बेगनास, तल्लो हेम्जा, लुम्ले, काँडेको पर्यटन र आर्थिक विकासमा मध्यपहाडीको भूमिका रहेको बताउँछन् स्थानीय ।

पर्वतमा डिमुवादेखि कुश्मा र मालढुंगासम्मको २५ किलोमिटर भूभाग पर्छ । स्थानीय शाखा सडक बनाउन र सोही सडकको माध्यमबाट जनजीविका चलाउन सहज भएको छ । एकै ठाउँमा जोडिएका कुश्माको शिवालय चोकका घरहरुले मुलद्वारको अघि फराकिलो सडक पाएका छन् ।
कुश्मा र पातिचौर बजारले सडकको बीचमा बगैंचा पाउँदैछन् । ‘कहाँ पहिलेको पोखरा बागलुङ सडक कहाँ अहिले विस्तार भएको मध्यपहाडी, धेरै अन्तर छ,’ कुश्माका व्यवसायी दिपेन्द्र केसी भन्छन्, ‘बस्तीमा विस्तार भएको सडकले सबै क्षेत्रमा सहयोग गर्छ ।’

बागलुङ–पातिहाल्ने खण्ड १ सय ४२ किलोमिटर छ । मध्यपहाडी लोकमार्गको सबैभन्दा धेरै दुरी बागलुङ खण्डमा पर्छ । यही सडक बनेपछि ढोरपाटन शिकार आरक्ष पुग्ने, घुम्नेहरुको संख्यामा समेत उल्लेख्य बृद्धि भएको तथ्यांक त्यहाँ रहेका होटल तथा रेस्टुराहरुमा छ । बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–बुर्तिबाङ खण्ड कालोपत्रे हुँदा पश्चिम बागलुङलाई सहज छ । बुर्तिबाङ पातिहाल्ने खण्ड र बागलुङ बजार घोडाबाँधे खण्डको समेत स्तरोन्नती र कालोपत्रको काम चलिरहेको छ ।
‘समयमै सडक कालोपत्रे नहुँदा वर्षाेदेखि हिलो र धुलो खेप्नुपरेको छ, सडक बनेपछि सुन्तला र दुध बजार पठाउन भने सहज भएको छ,’ काठेखोला गाउँपालिका ६ बिहुँका गुरुप्रसाद कँडेलले भने, ‘कालोपत्रे छिटो भैदिए सहज हुन्थ्यो ।’ बिहुँ खण्डमा कालोपत्रेको लामो समय बितिसक्दासमेत काम सकिएको छैन ।
देशभरको अवस्थालाई हेर्दा करिब १ हजार किलोमिटर पहिलेकै पुरानो चल्तीको सडक र थप ७ सय ५६ नयाँ ट्रयाक खोलेर सुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम २ खण्डमा बाँडेर काम भइरहेको छ । अहिले चल्तीका सडकहरु समेत स्तरोन्नति भइरहेका छन् ।

तराईमा रहेको हुलाकी राजमार्गको विकल्पको रुपमा विकास गर्न थालिएको मध्यपहाडी जति आलोचित र चर्चित छ त्यत्तिकै रुपमा जनजीविकासँग जोडिएको छ । पूर्वमा नेपाल–भारत सीमानाको पाँचथर चियो भन्ज्याङबाट सुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल–भारत सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ ।
यो लोकमार्गले मध्यपहाडका २४ जिल्ला र २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने आयोजनाले जनाएको छ ।
आर्थिक वर्ष २०६४÷६५ मा सुरु भएको मध्यपहाडी लोकमार्ग गण्डकी प्रदेशमा भने ०६८÷६९ बाट मात्रै काम सुरु भएको हो । ५ वर्षमा ट्रयाक खोलेर कालोपत्रे थाल्ने भनिएको सडकको स्तरोन्नतिको काममा भने ढिलाइ भइरहेको छ । राष्ट्रिय योजना आयोगले २०७१ मा गरेको एक सर्वेक्षणअनुसार आयोजना सम्पन्न भएको १० वर्षभित्रमा रोजगारीमा २० प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

गरिबी पश्चिम पहाडमा २८.०१ बाट १८ प्रतिशतमा र सुदूर पश्चिमको पहाडमा ३६.८३ बाट २५.५ मा झार्ने लक्ष्य छ । गण्डकीका सबै जिल्ला मध्यपहाडीको पश्चिम खण्डमा पर्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->