नवलपुर/ नवलपुरमा खोलामा डुवेर ५ बर्षका बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ देउरालीका बसन्त तरामु मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार सनिवार साँझ खोलामा डुवेका बालकलाई उद्धार गरी मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि पुर्याईएकोमा राती नै बालकको मृत्यु भएको हो ।
प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी दिलिपकुमार गिरीका अनुसार घर नजिकै रहेको भैंसेखोलामा ति बालक डुवेका हुन् । बाहिर खेल्दै गरेका बालक खोलातर्फ गएको फूपुले देखेपछि हतारिदै जाँदा पानीमा डुबेको अवस्थामा बालकलाई उद्धार गरि अस्पताल ल्याएका थिए ।
यस्तै, एक युवक नारायणी नदीमा हाम फालेर वेपत्ता छन् । आज आईतवार गैंडाकोटस्थित नारायणी पुलबाट रुपन्देही देवदहका एक युवकले हाम फालेर नदीमा हराईरहेको प्रहरीले जनाएको छ ।
हाम फालेको स्थानमा फेला परेको झोलाभित्र रहेका कागजात र परिचय पत्रका आधारमा देवदह वडा नं. १० का २४ बर्षका विक्रम खत्री रहेको प्रहरीले जनाएको हो ।
आईतवार मध्यान्ह करिव १२ बजेतिर नदीमा हाम फालेका ति युवकको खोजी कार्य भैरहेको यद्यपि, साँझ ६ बजेसम्म फेला पार्न नसकिएको नवलपुर प्रहरीले जनायो ।





