
पोखरा/ कलम भनेर टिपेको चीज बम बनेर पड्किएला भनेर अनिताले सोचेकै थिइनन् । माघी पर्व मनाउन अघिलो दिन २०६३ पुष ३० गतेका दिन दाङका थारु समुदायले सुंगुर काट्न थालेका थिए । अनिता सानो भाइलाई लिएर सुंगुर काटेको हेर्न गइन् । उनले बाटोमा एउटा कलम जस्तो चीज भेटाइन् । लेख्छ कि भनेर यसो हातमा कोरिन् । तर लेखेन । त्यतिबेला अनिता ६ बर्षकी थिइन्, कक्षा ३ मा अध्यनरत ।
बाटोमा भेटिएको डटपेनको मसी चिसोले जमेर नलेखेको हुन सक्ने उनले ठानिन् । अनिताले डटपेन लिएर लमही नगरापलिका–२ बनकट्टास्थित घर गइन् । बाटोमा भेटिएको कमलको मसी पगाल्न अगेनामा राखेर तताउन थालिन् । कलम भए पो मसी पग्लनु । आगोले टिपेर कलम झ्यारझ्यार गर्न थाल्यो । अनिताले निभाउन खोजिन्, अचानक बिष्फोट हुन पुग्यो । बल्ल थाहा भयो, अनिताले बाटोमा भेटेको कलम रहेनछ, बम रहेछ ।
बम पड्केर अनिताले दाहिने हात गुमाइन् । अगेना नजिकै उनका बाजे, बज्यै र दाई पनि आगो ताप्दै थिए । बमको आवाजले उनका बाजे र बज्यै कान नसुन्ने भए । बाजे, बज्यै र दाइलाई पनि बमको छर्राले लाग्यो । त्यतिबेला अनिताको हातमा हड्डी मात्र बाँकी थियो । उनलाई कोहलपुर अस्पताल लगियो । क्यान्सर हुन सक्ने भन्दै पछि नेपालगञ्जमा उनको दाहिने हात काटियो । अहिले पोखरास्थित हरियो खर्क अस्पतालमा कृत्रिम हात राख्न लागेकी छिन् ।
बेवारिसे बम विष्फोटमा परेकी अनिताको परिवारले द्धन्द्धपीडितले पाउने राहतका लागि सरकारी निकायमा धाउन थाले । सबैले आश्वासन मात्र दिए । कसैले राहत दिएनन् । अहिले अनितासँग उनी बेवारिसे बम विष्फोटमा परेको प्रमाणसमेत छैन । उनको उपचार गर्दा बनाएको मेडिकल रिपोर्ट जिल्ला प्रहरी कार्यालयले माग्यो । उनका परिवारले लगेर दिए । प्रहरीले मेडिकल रिपोर्ट लगेर केही गरेन । अनिताको परिवार रिपोर्ट माग्न गए, प्रहरीले छैन भनिदियो ।
अनिता अहिले २१ बर्षकी भइन् । स्नातक पढ्दैछिन् । माओवादी युद्धका बेला बेवारिसे बम पड्केर अंगभंग भएकी उनलाई अहिलेसम्म राहतका नाममा कसैले केही दिएको छैन । युद्धका पीडितहरुको लिष्टमा उनको नाम समेत लेखिएको छैन । किनकी, उनी तत्कालिन बिद्रोही माओवादी थिइनन् । तत्कालिन राज्य पक्षको पनि थिइनन् । दुबै पक्षमा नरहेका सर्वसाधारण पीडितलाई राहत र न्याय दिने सरकारी नीति अहिलेसम्म पनि छैन ।
अनिता जस्तै बम विष्फोटमा परेकी थिइन्, तनहुँको आँबुखैरेनी गाउापालिका– ४ बेनीटारकी गीता मगर । उनका बुबा रुकुम सदरमुकाम खलङ्गामा काम गर्थे । २०५९ सालमा बुबाले परिवारलाई पनि तनहुँबाट खलङ्गा लगे । उतै बस्ने, पढ्ने व्यवस्था मिलाए ।
२०६८ मंसिर २५ गतेका दिन शनिबार थियो । गीता बहिनीलाई लिएर साथीहरुसँग दाउरा खोज्न जंगल गइन् । खलङ्गाको बोहोरागाउँमा नेपाली सेनाको महिन्द्रदल गण (ख) गुल्मको पेरिमिटर भित्र माइन बिच्छ्याएको रहेछ । जुन गीतालाइ थाहा थिएन । दाउरा खोज्ने क्रममा जमिनमा बिच्छ्याएको माइन पड्कियो । गीताले दाहिने खुट्टा गुमाइन् ।
उनले तत्काल सेनाले हेलिकप्टर मार्फत सैनिक अस्पताल छाउनीमा लगेर उपचार गराइदिए । दाहिने खुट्टाको घुडादेखि तलको भाग काम नलाग्ने भयो । अहिले उनले कृत्रिम खुट्टा राखेकी छिन् ।
बम बिष्फोटमा परेकी गीताकी आमा राहतका लागि लगातार ३ बर्षसम्म काठमाडौं धाइन् । गीताको उपचार, शिक्षा र राहत नपाएसम्म अस्पतालबाट गीतालाई डिस्चार्ज नलिने उनका आमाले भनिन् । ५ महिना अस्पताल बसेर उपचार गराएकी गीतालाई सेना र तत्कालिन सरकारले आश्वासन दियो, गीता डिस्चार्ज भइन् ।
गीता डिस्चार्ज भएपछि न त उनको शिक्षाका लागि सेनाले केही ग¥यो, न त सरकारले राहत नै दियो । आश्वासन पाएपनि अहिलेसम्म केही नपाएको गीताले बताइन् । तत्कालिन शान्ति मन्त्रालयले पटक पटक अनेक कागजात मागे । गीतालाई बोलाएर भेटे । फोटो खिचे । तर सरकारले केही नदिएको गीताले बताइन् ।
गीताको उपचार, शिक्षा र राहतका लागि धाउँदा धाउँदा अहिले उनका आमा प्रेसरको बिरामी भएकी छिन् । कहींकतैबाट केही नभएपछि चुप लागेर बसेको उनले बताइन् । जिल्ला प्रशासन कार्यालय जाँदा कहिले भोली आउनु भन्ने त कहिले भित्र रहेका सिडिओले छैन, भेट्न मिल्दैन भनेर फर्काएको तितो अनुभव गीतासँग छ ।
अहिले उनले लगाएको कृत्रिम खुट्टा बर्षैपिच्छे फेर्नुपर्छ । त्यसका लागि कम्तिमा पनि ७० हजार रुपैया लाग्छ । खुट्टा फेर्नका लागि पनि अहिलेसम्म कसैको केही सहयोग नपाएको गीताले बताइन् ।
द्धन्द्धपीडितलाई सरकारले राहत दिएको कुरा गीता र उनका परिवारले सुनेका छन् । मानिस मृत्यु भएका परिवारले १० लाख पाएका छन् । उपचार, शिक्षा र अन्य सुविधा पनि पाएका छन् । गीता जस्तै घाइतेले पनि राहत र अनेक सुविधा पाएको उनले देखेकी छिन् । गीताले अहिलेसम्म कुनै पनि राहत र सुविधा नपाउनुको कारण भने अहिलेसम्म उनको परिवार कुनै पक्षमा लागेनन् । साधारण नागरिक रहे ।
तत्कालिन शान्ति तथा पुननिर्माण मन्त्रालयले द्धन्द्धपीडितलाई राहत र सुविधा दिन बनाएको निर्देशिकाकै कारण गीता छुटेकी हुन् । निर्देशिकामा राज्य वा बिद्रोही पक्षका मृतक, बेपत्ता, अंगभंग र घाइतेले मात्र सुविधा पाउँथे । गीताको परिवार राज्यपक्ष वा बिद्रोहीपक्ष थिएनन् । साधारण नागरिकलाई राज्यले हेरेन ।
कपिलबस्तुको बुद्धभूमी नगरपालिका–२ गोरुसिङ्गेकी तुलसी परियारको घर नेपाली सेनाको ब्यारेक नजिकै छ । सेनाले ब्यारेक वरीपरी ल्याण्डमाइन बिछ्याएको थियो । २०६३ बैशाख २५ गते तुलसी साथीहरुसँग बाख्रा चराउन गइन् ।
सेनाले ल्याण्डमाइन बिछ्याएको सबै ठाउँमा तारजाली लगाएको थिएन । साथीको बाख्रा चर्दाचर्दै ब्यारेकभित्र गयो । तुलसी बाख्रा निकाल्न भित्र गइन् । ब्यारेकभित्र जमिनमा सुकेका पातपतिङ्गर थियो । बाख्रा निकाल्दै गर्दा अचानक बिष्फोट भयो । उनको कम्मरतल दुबै खुट्टामा चोट लाग्यो । हातमा, नाडीमा र औलामा चोट लाग्यो । बिष्फोटमा परेका कारण उनले दाहिने खुट्टा गुमाएकी छिन् । अहिले कृत्रिम खुट्टा राखेकी छिन् ।
लुम्बिनी अञ्चल अस्पतालमा ४ महिना उपचार गरेको उनले संझिन् । उनको उपचारका बेलामा सरकारले मात्र नभई कोही कसैले सहयोग गरेनन् । उपचारका बेला आर्थिक अभाव भएपछि तुलसी पढ्ने स्कुलमा गएर उनका बुबाले सहयोगको अनुनय बिनय गरे । स्कुलका शिक्षकहरुले एक सय रुपैया दिएर अपमानपूर्वक फिर्ता पठाइदिएको तुलसीले बताइन् ।
उनका बुबा जिल्ला प्रशासन कार्यालयमा पुगेर सहयोग मागे । सदरमुकाम पुगेर सहयोग माग्दा गाडी भाडा समेत नदिई फर्काइदिए । उनका बुबाले गाउँमा घर बनाउने काम गर्थे । घरमा बाख्रा, कुखुरा पालेका थिए । त्यही बेचेर तुलसीको उपचार गरे । राहत र सहयोगको आशामा जहाँ गएपनि निराशा मात्र पाएका तुलसीका बुबा त्यो घटना भएको डेढ बर्षमा बितेको उनले बताइन् । उनलाई कक्षा १२ सम्म एउटा संस्थाको सहयोगमा पढिन् । अहिले स्नातक आप्mनै खर्चले पढिरहेकी छिन् ।
माओवादी द्धन्द्धमा धेरै मानिसको ज्यान गएको घटनामध्ये पर्छ, म्याग्दीको बेनी आक्रमण । २०६० चैत ७ गते माओवादीले बेनी कब्जा गरेका थिए । त्यतिबेला बेनीका कृष्णलाल श्रेष्ठ जिल्ला अदालतमा रात्रीकालिन ड्युटीमा थिए । अदालतको ढोका फोरेर माओवादी भित्र पसे । माओवादीले आप्mना हतियार र गोलीगठ्ठा राखेर भित्रै बसे । कृष्णलाललाई डराउनुपर्दैन भने ।
बिहान ६ बजेतिर कृष्णलाल शौचालय गए । त्यहीबेला राती आएका माओवादी टोली निस्केर हिडेछन् । माओवादीकै अर्को टोली आयो र जिल्ला अदालतमा आगो लगाइदियो । माओवादीले हाकिमको कोठा देखाउँछस् कि गोली हान्दिम् भनेर कृष्णलालतर्फ राइफल तेस्र्याए । कृष्णलाल अदालतको गेटबाहिन निस्कने वित्तिकै बाहिर गोली चल्यो । कृष्णलालको पाखुरा, कुमको जोर्नी र पिठ्युँमा गोली लाग्यो । गोलीले जमिनमा ढलेका कृष्णलालको खुट्टामा बम पड्कियो ।
म्याग्दी भिडन्तमा यसरी घाइते भएका कृष्णलाललाई सेनाले हेलिकप्टर मार्फत छाउनी अस्पतालमा उपचार गर्न लगे । सेनाले छाउनीमा राख्न नमिल्ने भन्दै टिचिङ अस्पताल पठाइदियो । अस्प्तालमा ३ दिनसम्म कसैले सोधीखोजी गरेन । अस्पताल प्रशासनले उपचार गर्न कि त पैसा कि कागज ल्याउन भने । घाइते भएका कृष्णलालले कहाँबाट लैजानु । उनका परिवारलाई थाहा समेत थिएन ।
तीनदिनसम्म अस्पतालमा बिना उपचार बसेका कृष्णलालको खुट्टा पाक्यो । गोली लागेका ठाउँहरु पनि पाक्न थाल्यो । अस्पताल पुगेको ३ दिनपछि मात्र प्रहरी हवल्दार उनको उपचारका लागि पत्र लगेर अस्पतालमा बुझायो । त्यसपछि मात्र उनको उपचार भएको कृष्णलालले बताए ।
कृष्णलाल भिडन्तमा घाइते भएर अस्पताल पुगेको उनका श्रीमतीले १९ दिनपछि मात्र थाहा पाइन् । समयमै उपचार गर्न नपरेको भए उनको खुट्टा काट्नुपर्थेन भनेर कृष्णलाललाई डाक्टरले भनेछन् । तीनदिनसम्म उपचार नै नगरी अस्पताल बस्दा नै उनले खुट्टा गुमाउनुपरेको गुनासो गरे ।
कृष्णलाल त्यतिबेला सरकारी सेवामा थिए । उनको पेन्सन आउन १८ महिना मात्र बाँकी थियो । तर प्रशासनको लापारबाहीका कारण उनले पनि सरकारले दिने कुनै पनि राहत पाउन सकेनन् । राष्ट्रिय मानवअधिकार आयोगले त्यतिबेला उपचारका लागि १ लाख रुपैया दिएको कृष्णलाल संझन्छन् । बाँकी उपचार खर्च आफैले ब्यहोरेको उनको भनाई छ ।
बेनी आक्रमण पश्चात म्याग्दीका सिडिओसहित कर्मचारी सरुवा भए । कृष्णलाल उपचारका लागि काठमाडौं अस्पताल बस्नुप¥यो । उनको नाम कसैले सिफारिस गरिदिएनन्, त्यही भएर सरकारी उपचार र राहतबाट त्यतिबेला बञ्चित हुन परेको उनले बताए । प्रशासनमा निरन्तर धाउँदा समेत केही नलागेको उनको भनाई छ ।
‘त्यतिबेला कति धाँए, कति गुहारें कसैले सुनेन,’ कृष्णलालले भने, ‘सिडिओले पनि म त नयाँ परें म आउनुभन्दा अघिको घटना मलाई थाहा भएन भनेर टारिदिए ।’ शान्ति प्रक्रियापछि नेताको पुच्छर समातेकाले मात्र राहत पाएको भन्दै उनले आफु कुनै पनि नेताको पुच्छर समाउन नगएको बताए ।
सरकारले बनाएको कार्यविधिमा २०५२ फागुन १ देखि शान्ति संझौता भएको मिति २०६३ मंसिर ५ गतेसम्म तत्कालिन सेना र माओवादीबाट भएका घटनाका पीडितलाई मात्र द्धन्द्धपीडित परिभाषित गरेको छ । जबकी, शान्ति संझौतापछि पनि ठाउँ ठाउँमा बेवारिसे बम पड्केर अंगभंग भएका गीता लगायतलाई पीडितले द्धन्द्धपीडितको परिचय नै पाउन सकेका छैनन् ।
अपाङ्गता भएका द्धन्द्धपीडितको राष्ट्रिय संजालका अध्यक्ष सुरेन्द्र खत्रीले शान्ति संझौता भएको १५ बर्षपछि पनि पीडितले परिचय पाउनकै लागि संघर्ष गर्नुपरेको बताए । म्याग्दीमा बेवारिसे बम पड्केर दुबै हात गुमाएका खत्रीले भने, ‘हामीले न्याय र राहत कहिले पाउने हो थाहा छैन, तर अझै पनि द्धन्द्धपीडित हौं भनेर राज्यसँग परिचय मागिराख्नुपरेको छ ।’
द्धन्द्धकालमा कुनै पनि पक्षमा नलागेका तर विभिन्न बिष्फोट लगायतका घटनामा परेर अपाङ्गता भएका आधा भन्दा बढी व्यक्तीले नियमित औषधी सेवन गर्नुपरेको खत्रीले बताए । यसरी अपाङ्गता भएका ४० प्रतिशत नागरिकले सहायता समाग्री प्रयोग गर्नुपरेको छ । उनीहरुको उपचार, औषधी र सहायता सामाग्री खर्च अहिलेसम्म सरकार र कुनै पनि निकायले सहयोग नगरेको खत्रीले बताए ।
‘द्धन्द्धपीडितको परिचय दिँदा नै कुन पक्षको भनेर कार्यविधि बनाएपछि हामी छुट्यौं,’ खत्रीले भने, ‘माओवादी र सरकारपक्ष कतै पनि नलागेका पीडितको आवाज अहिलेसम्म कसैले बोलेका छैनन् ।’ आफुहरुले आवाज निरन्तर उठाएपनि सुनुवाई नभएको उनको भनाई छ ।
माओवादी द्धन्द्धमा यसरी घाइते र अपाङ्गता भएका नागरिकको उपचार खर्च तत्काल सरकारले व्यहोर्नुपर्ने, सहायता सामाग्री र औषधी निशुल्क हुनुपर्ने, परिचय पत्र उपलब्ध गराउनुपर्ने र सरकारी सेवा सुविधा र अध्यनमा सुविधा दिनुपर्ने आफुहरुको माग रहेको खत्रीले बताए । उनले द्धन्द्धकालमा अपाङ्गता भएका नागरिकलाई सरकारले अरु सामान्य अवस्थामा जसरी लिन नहुने उनको भनाई छ ।
‘हामी अपाङ्गता भएका व्यक्ती होइनौं, जबर्जस्ती अपाङ्गता बनाइएका व्यक्ती हौं,’ उनले भने, ‘हामीलाई सरकार र राजनीतिक पार्टीहरुले नै न्याय र राहतबाट छुटाएका हुन् ।’
सरकारले द्धन्द्धपीडितलाई न्याय दिन गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन अयोग प्रति उनीहरुले विश्वास गर्न सकेका छैनन् । यी दुबै आयोगलाई पीडितले स्विकार गर्न नसक्ने भन्दै उनले स्वतन्त्र र निष्पक्ष आयोग गठन आफुहरुको माग रहेको बताए । ‘हामी अहिलेसम्म सरकारले दिएको राहतमा त विभेद गरेर, पार्टी हेरेर दिएका छन्, हामी कुनै पार्टीको सदस्य नबनेकालाई न्याय दिन्छ भन्ने विश्वास छैन,’ खत्रीले भने ।
माओवादी युद्धका पीडितलाई सघाइरहेका अभियन्ता रमेश अधिकारीले द्धन्द्धपीडितले सामान्य राहत पाउने कुरा पनि शान्ति संझौतायता राजनीतिक दल समातेर मात्र पाउन थालेको बताए । पीडितलाई न्याय दिन सरकारले नचाहेको भन्दै उनले कुनै पनि दलमा आवद्ध नरहेका द्धन्द्धपीडित साधारण नागरिक सबैभन्दा पीडामा बाँचेको उनले बताए ।
‘विद्रोही र सेनाका आवाज सुनिदिने निकाय छ,’ अधिकारीले भने, ‘दुबैतर्फ नलागेका साधारण नागरिकको आवाज सुनिदिने कुनै निकाय भएन ।’
राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका प्रमुख चन्द्रकान्त चापागाइले द्धन्द्धपीडितलाई सरकारले विभेदपूर्ण व्यवहार गरेको बताए । ‘एउटै घटनामा परेका एउटाले राहत, उपचार खर्च र अनेक सुविधा पाउने, अर्कोले नपाउने भन्ने हुँदैन,’ उनले भने, ‘आयोगले द्धन्द्धपीडितका विषयमा धेरै सिफारिस गरेको छ, तर सरकारले कार्यान्वयन नै गरेन ।’





