नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु भइसकेको छ । वडातहको अधिवेशन सकिइसकेको छ । तर, वडातहको नतिजालाई आधार मान्ने हो भन्ने समावेशिताको हिसाबमा सन्तोषजनक छैन ।
महाधिवेशन चलिरहँदा कास्की कांग्रेसमा दलित, अल्पसंख्यक, महिलाको स्थिति शून्यजस्तै छ । राजनीतिक नेतृत्व दलितले लिन सक्छन् कि सक्दैनन् भन्ने विषयको पेरिफेरिमा रहेर नेपाल दलित संघका सभापति एवं हालैमात्र क्षेत्रीय प्रतिनिधिमा निर्वाचित दुर्गाबहादुर सुनारसँग ढोरपाटनकमीै विजय नेपालीले गरेको कुराकानीको सम्पादित अंश :
भर्खरै क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । खुल्ला कि आरक्षणबाट ?
क्षेत्रीय प्रतिनिधिमा आरक्षणबाटै गएको हुँ । हामीहरु बीचमा पनि प्रतिस्पर्धा भयो । टुकलाल नेपाली र मेरोबीचमा प्रतिस्पर्धा हुँदै निर्वाचित भएको हुँ ।
कास्की जिल्लाभरका वडा अधिवेशनमा दलित उपस्थिति कस्तो रह्यो ?
३ नम्बर क्षेत्रमा करिब ३०, ३५ जनामात्रै क्रियाशील साथीहरु हुनुहुन्छ । त्यसमा पनि हामी ३ जना क्षेत्रीय प्रतिनिधिका लागि लडेका हौं । रुपा विश्वकर्माले दिएको उम्मेदवारी फिर्ता लिनुभयो । टुकबहादुर र मबीच प्रतिस्पर्धा भयो । क्षेत्रीय प्रतिनिधिमा आउने साथीहरु त हुनुहुन्छ नै तर वडा सभापतिमा भने हाम्रो समुदायबाट हुनुहुँदैन । तैपनि अन्य पदका लागि भने राम्रो उपस्थिति रहेको देख्छु ।
कास्कीका कति वडामा दलितले आफ्नो उम्मेदवारी दिए त ?
कास्की जिल्लाकै हेर्नुपर्दा प्रत्येक वडामा बढिमा ५ जनासम्म क्षेत्रीय प्रतिनिधिमा विजयी भएका छन् । तर, वडा सभापतिमै त एकजना पनि हुनुहुन्न । अन्य पदमा भने पक्कै पनि छन् ।
कास्कीमा दलितको अवस्था कस्तो छ ?
कास्कीमा दलितको अवस्था पार्टीगत हेर्दा अहिले कसैलाई आरोप प्रत्यारोप लगाउने छैन । हाम्रो समुदायको तर्फबाट हेर्दाखेरीमा १४ औं महाधिवेशनमा राम्रो उपस्थिति रहेकाले पनि राम्रै छ भन्ने लाग्छ । १० औं महाधिवेशनमा वडा ५ मा म मात्रै क्रियाशील सदस्य थिए । तर, अहिले करिब ४० जनासम्म पुगेका छन् ।
वडागत रुपमा हेर्दा नेतृत्व तहमा त दलित कोही पनि भेटिँदैनन् । किन यस्तो भयो के कांग्रेसलाई दलितले हाँक्न नसक्ने हो ?
अब मैले हेर्दा पार्टीलाई दोष लगाउने कि हाम्रो समुदाय नै अग्रसर नभएको भन्ने द्वुविधामा छु । जसरी पार्टीले अधिकांश स्थानमा अहिले आरक्षण कोटाबाट हरेक क्षेत्र वडामा प्रतिनिधित्व गर्ने वातावरण सिर्जना गरको छ । पार्टीले आरक्षणलाई निरन्तरता दिन खोजेकोजस्तो देखिन्छ । तर, अहिले हरेक क्षेत्रमा साथीहरु अगाडी बढ्छौ भन्ने समयमा कता कति स्थान दिन नखोजेको हो कि भन्ने मलाइपनि लागेको छ ।
सीमान्तकृत वर्गलाई आरक्षणमा सीमित बनाइएको छ । त्यसभन्दा बाहिरको नेतृत्वमा दलितको सहभागिता किन कम हुन्छ ?
अन्य जाति भनेर २०६३ ले जसरी सम्बोधन गरेको खस आर्य जनजाति । नेपाली कांग्रेसको विधानले संसोधन गरेको छ । त्यस विषयमा अरु जिल्लामा भन्दा कास्कीमा भएका नेताहरुले यस समुदाय प्रति अलिकति इष्र्या गरेको हो कि यो समुदायलाई अघि बढ्न नदिएको हो कि भन्ने कुराहरु देखिएका छन् ।
त्यसैले यही हेर्दासमेत पार्टीका जननायक विपी कोइराला, गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई लगायतका हामी कार्यकर्ता भएपनि कास्कीमा पूर्व सभापति आमन्त्रित रुपमा मात्रै जिल्लामा दिएको इतिहासमा देखिन्छ । पार्टीले अहिलेसम्मको इतिहासमा पहिलो पटक दलितलाई आमन्त्रण गरेर सदस्य दिएको भनेकै स्व. भवे सार्की मात्रै हुनुहन्थ्यो । अहिले आएर बढो मुस्किलले प्रेम परियारलाई सम्म लगेको देखियो तर, बीचमा हटाइयो ।
कुनैपनि ठाउँमा मनोनित गर्दा वा पु¥याउँदा कमसेकम नेताहरुले त्यही पार्टीको संस्था जसले पार्टीको नेतृत्व गरिरहेको छ । समन्वय पनि छैन, सोधाइ पनि छैन । मन लाग्यो भने एकैचोटि टपक्क टिपेर लाने, होइन भने छाडिदिने प्रवृत्ति देखिएको छ ।
मैैले पटक पटक भनेको थिए सोझै निर्वाचित भएर जाने वातावरण छैन । खुल्ला किसिमले जान रोक लगाइएको कास्की जिल्लामा पाइएको छ । तर, हामीले १४ औं महाधिवेशनमा वर्गिए हिसाबले, भातृसंगठनका हिसाबले धेरै साथिहरुलाई जिल्ला कार्यसमितिमा उम्मेदवारीका लागि आह्वान गरेका छौ ।
साथीहरु त्यसमा जान तत्पर देखिएका छन् र आउन आग्रह गरिरेहेका छौं यो पटक दलितको पनि सहभागिता रहनेछ । पार्टीले कति दिन्छन् भन्ने हेर्न बाकि नै छ । सद्यैं विभिन्न बहानाबाजि गर्दै टार्दै जाने गरिएको थियो यो पटक आशा छ त्यसो नहोस् ।
जिल्लादेखि केन्द्रसम्मको नेतृत्वमा जानसक्ने दलित नेता कति छन् ?
नेतृत्वमै जान सक्ने ७–८ जना योग्य व्यक्ति नै छन् । जसले जिल्ला सभापति देखि केन्द्रीय सदस्य र पदाधिकारीसम्म तत्काल जान सक्ने देखिन्छन् ।
यो अधिवेशनपश्चात नगर, जिल्ला कार्यसमितिसम्म दलित नेतृत्व देखिन्छ त ?
एकदमै । यो अधिवेसनपश्चात हामीलाई त्यहाँ देख्न सक्नुहुनेछ । अहिले जानका लागि सबै तम्तयार छन् । हामी योग्य भइसकेका छौं । पहिला जस्तो विभेदकारी रुप अहिले त छ भन्न मिल्दैन । पहिलाका दलित नेताहरुलाई नगर जिल्लामा आउन समेत कठिन थियो । सम्भवनै थिएन । अहिले भने केही सहज वातावरण बनेको छ । त्यसैलेपनि नगर देखि जिल्लासम्म ठुला पदमा नभएपनि सदस्य भने आउँछन् ।
१४ औं महाधिवेशनले दलितका लागि समेत नेतृत्वमा पुग्न कस्तो भुमिका खेलेको छ ?
यो महाधिवेशनबाट बल्ल हाम्रा लागि ढोका खोलिएका छन् । वडाबाट क्षेत्रीय प्रतिनिधि जाने तरिका यही नै हो । केन्द्रीय कार्यसमितिमा रहेकाहरु क्षेत्रीय हुने स्वभाविक हो वहाँहरु त्यका लागि योग्य भइसक्नुभयो । तर, तल्लो तहाबाट माथि पुग्नका लागि क्षेत्रीय प्रतिनिधि हुनैपर्छ । नगर,जिल्ला लगायत हरेक तहमा जानका लागि यो पहिलो खुडकिलो हो । यो प्रावधान भने बल्ल आएको छ ।
तपाईं नै फेरि दलित संघको जिल्ला सभापतिमा दोहोरिने योजना के छ त ?
मैले पहिला अधिवेसन निर्वाचन पश्चात विजयी हुँदा नै भनेको थिए । मेरो सभापतिमा पुनः दोहोरिने छैन । अहिलेपनि क्षेत्रीय प्रतिनिधि भएको छु । आगामी अन्य साथिलाई अवसर दिनेछु । एक कार्यकाल भन्दा लिएको छैन । र मेरो मान्यता भनेकै एक कार्यकालभन्दा बढी बस्नु हुन्न भन्ने नै हो ।
दलित हकहितका लागि बोल्ने अनि पदमा पुगेपछि दलित नेतालेनै अग्रपंक्तिमा आउन नदिने वा रोक लगाउने आरोप आउने गर्छ नी ?
सबैको आ–आफ्नो विचारमा भर पर्ने कुरा हो । सबैको आचरण र स्वभाव एकै हुदैँनन् । माथिल्लो तहका नेताहरुले कसरी आफ्नो स्थान ओगट्नु भएको छ कसैलाई आरोप लगाउन म चाहान्न । किनभने एउटै साथि धेरै ठाउँमा पटक पटक दशौ महाधिवेसनबाटै दोहोरिएको पाएको छु । त्यो सोच्ने भनेको वहाँहरुले नै हो । आफूमात्र नभएर अन्य साथीहरुलाईपनि माथि आउनदिन पर्छ भन्ने मान्यता राख्नु पर्ने हो त्यो भएको पाउँदैनौ । एउटै व्यक्ति पटक पटक दोहोरिनु हुदैन नाम त नभनिहालौ तर, केही साथिहरु सद्यै यहि संस्थालाई देखाएर लाभ लिइरहेका भने पक्कै छन् । पार्टीमा लाग्दा कुन तह र कुन पदसम्म पुग्ने भन्ने ग्यारेन्टि नहुँदा नै कयौँ दलित नेता भोटर भएरै बसेको अवस्था छ ।
अन्त्यमा ?
कांग्रेसको महाधिवेशन सफल बनाऔ । जुन रुपमा दलितको राजनैतिक अवस्था र नेतृत्वका बारेमा चासो राख्दै आज यो अवसर दिनुभयो सम्पूर्ण ढोरपाटन परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु धन्यवाद ।





