शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जोखिम मोले, भत्ता पाएनन्

जोखिम मोले, भत्ता पाएनन्

डा. शैलेन्द्र पोखरेलका अनुसार आइसोलेसनमा लगातार ३/४ महिनासम्म खटिएका चिकित्सक र नर्समात्रै २५ जनाले जोखिम भत्ता पाएका छैनन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७८, आइतबार

बागलुङ/ नेपालकै पाँचौ र छैठौ कोरोना संक्रमित उपचार गराउँदा २ करोड खर्च भएको चर्चा भयो । धौलागिरि अस्पतालले त्यतिधेरै रकम कसरी खर्चेको होला भनेर टिकाटिप्पणी भए । अस्पतालमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीले त्यतिधेरै भत्ता कसरी खाए भन्ने जिज्ञाशा पनि उठे ।

तर, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले भने अझै जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । ‘बाहिर हल्ला त भयो, तर जोखिम मोलेर काम गरेकाले डेढ वर्षदेखि भत्ता पाएका छैनन्,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘त्यो बेलाको जोखिममा पटकपटक फेरिएका पिपिई, उपचार सेवा, एम्बुलेन्स, पिसिआर परीक्षणका लागि पोखरा र काठमाडौं धाउनुपरेको बिवाय ओझेलमा परेको छ ।’ एक जना दुर्घटनाको बिरामी आउँदा ६ जनाले पिपिई लगाएर उपचार गराउनु परेको उनले बताए ।

गत वर्षसम्म पिपिईलाई ६ हजार रुपैयाँसम्म पथ्र्यो । ६ जनाले पिपिई लगाएर उपचार गर्दा एकैपटक ३६ हजार रुपैयाँ खर्च भएको उनले स्मरण गरे । यता सरकारले भने पहिलो लाइनमा खटिएर काम गर्नेलाई शतप्रतिशत र दोश्रो लाइनमा खटिनेलाई ५० प्रतिशत भत्ता दिने सरकारी निर्णय गरेको थियो । उक्त निर्णय अनुसारका केही पनि सुविधा नपाएको उनले बताए ।
अस्पतालमा डेढ वर्षमा झन्डै ७ सय बिरामीको उपचार गरेको रेकर्ड छ । अझ पिसिआर मेसिन आएपछि चौबिसै घण्टा स्वाब परीक्षण र पिसिआर ल्याबमा खटिनेले समेत केही पाएका छैनन् । स्वास्थ्यकर्मी र चिकित्सकले गण्डकी प्रदेश सरकारमा पनि यो समस्या जानकारी गराएको बताए ।

केही समयअघि गण्डकी प्रदेशको संसदीय टोलीले समेत अस्पतालको भ्रमण गरेको थियो । टोलीलाई पनि चिकित्सकले त्यही गुनासो गरेका थिए । ‘देशै डराएको बेला हामीले बिना पूर्वाधार र बिना तयारी बिरामी भर्ना गराएका थियौं, तर जोखिम भत्ताको चर्चामात्रै हुन्छ, निरन्तर काम गरेकालाई केही दिन सकिएको छैन,’ पोखरेलले भने, ‘रातदिन खटिने नर्सहरु रित्तो हात फर्केका छन् ।’
वरिष्ठ नर्स देवी भट्टराईले कोरोनाका बिरामी आउँदा डराएर काम गरेका धेरै नर्सले अहिले पनि केही नपाएको गुनासो गरिन् । ‘आँसुसँगै भात खाएका नर्स अझै सेवामै छन्, उनीहरुले केही पाएका छैनन्,’ भट्टराइले भनिन्, ‘२ करोड खाए भन्ने हल्ला होइन भनिदिने को छ र ?’ भत्ताबाहेक स्वास्थ्य क्षेत्रको पूर्वाधार बिकास र व्यवस्थित सिस्टम बसिदिए पनि राम्रो हुने उनले बताइन् ।

डा. शैलेन्द्र पोखरेलका अनुसार आइसोलेसनमा लगातार ३÷४ महिनासम्म खटिएका चिकित्सक र नर्स मात्रै २५ जनाले जोखिम भत्ता पाएका छैनन् । ल्याबमा खटिने थप १० जना, १० वटै पालिकामा स्थापना भएको कोभिड अस्पतालका ५ जनाको दरले ५० जना, १० जना चालक र स्वास्थ्य संस्थामा कार्यरत थप १ सय गरी झण्डै २ सयले कुनैपनि भत्ता नपाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
गत वर्ष क्वारेन्टाइन चलाउँदा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीले पनि भत्ता नपाएको उनले बताए । केही नपाएको अवस्था र अहिले होम आइसोलेसनमा बस्ने नीतिगत कारणले धेरै संक्रमित घर घरमा बस्दा व्यवस्थापन केही सहज भएको उनले बताए ।

संक्रमण फैलिनमा भने होम आइसोलेसन थप सहयोगी भएको पनि उनले टिप्पणी गरे । जोखिम मोलेर काम गर्दा ६० जनाबढी स्वास्थ्यकर्मी, केही एम्बुलेन्स चालक र सहयोगीलाई कोरोना संक्रमण भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->