बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अक्सिजन प्लान्टको सामान भित्रिँदै

अक्सिजन प्लान्टको सामान भित्रिँदै

अस्पतालको प्लाण्टबाट ग्रामीण भेगका स्वास्थ्यकेन्द्रमा पनि अक्सिजन पठाइने ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०७८, मंगलबार

बागलुङ/धौलागिरि अस्पतालमा स्थापना हुने नयाँ अक्सिजन प्लान्टका लागि चीनबाट सामान झिकाइएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले सामान हिँडिसकेको बताए । ‘ठूलो योजना भएकोले सामानहरु हवाइजहाजमा नअट्ने रहेछ, त्यसैले स्थलमार्गबाट हिँडेको पनि धेरै दिन भैसकेको छ, अब छिट्टै आइपुग्छ’, उनले भने, ‘ठेक्का सम्झौता भैसकेकोले छिटै जडान पनि हुनेछ ।’

अस्पतालमा हाल २५ शैयाका लागि अक्सिजन प्लान्ट जडान भएको छ । नयाँ आवश्यकता अनुसार गत वर्ष सरकारले बिनियोजन गरेको ३ करोड बजेटबाट नयाँ प्लान्ट जडानको काम अगाडि बढेको हो । सी ब्लक पनि प्रयोगमा ल्याउने गरी प्लान्ट जडान हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए ।
अस्पताल विकास समितिले गत वर्षको बजेट भएपनि चालु वर्षको खर्चमा देखाउने गरी बजेट सदुपयोग गरेको हो । ‘आर्थिक वर्षको अन्तिममा निकासा भएकोले अर्थबाटै व्यवस्थापन मिलाइएको छ’, रानामगरले भने, ‘खर्च चालु वर्षकोबाट देखाइनेछ ।’ असोज अन्तिम सम्ममा प्लान्ट जडान भैसक्ने उनले बताए ।

अस्पतालले २ करोड ९५ लाख माग गरेकोमा अर्थले ३ करोड स्वीकृति दिएको हो । अस्पतालले २ करोड ३२ लाखमा आरती मेडिटेक कम्पनीसँग ठेक्का सम्झौता गरेको हो । सामान आएपछि तत्कालै प्लान्ट निर्माण गरिसक्ने कम्पनीका प्रबन्ध निर्देशक सुरन गुरुङले बताए । अर्थले पनि चालु वर्ष काम सक्नका लागि दायित्व सारेर राखिदिएकोले कामको भुक्तानी दिनेबेला माग गर्ने तयारी गरिएको अस्पतालका लेखा अधिकृत झलक शर्माले बताए ।
अस्पतालमा दुइ वर्षअघि पनि अक्सिजन प्लान्ट निर्माण भएको थियो । प्रतिमिनेट १ सय ४१ लीटर मात्रै अक्सिजन दिने प्लान्टले आवश्यकता पूरा नभएपछि नयाँ प्लान्टको काम थालिएको हो । अब बन्ने प्लान्टले ८ सय लीटर प्रतिमीनेट अक्सिजन उत्पादन गर्नेछ । यो प्लान्ट बनेपछि धौलागिरिमै अक्सिजन अभाव नहुने अपेक्षा गरिएको छ । यो प्लान्टबाट दैनिक एकसय वटा नयाँ सिलिण्डर भर्न सकिनेछ ।

कोरोनाका बिरामीको चाप बढ्दा प्लान्टले नधानेपछि दैनिक ४ खेप पोखराबाट अक्सिजन भित्राउनु परेको थियो । लोकमार्ग अवरुद्ध हुँदा अस्पतालले कार्कीनेटाको सडकबाट सिलिण्डर खेपेको थियो । अस्पतालमा यसअघि ५० शैयामात्रै थिए । अब भने २ सय शैया बन्दैछ । अस्पतालको सी ब्लकमा नयाँ शैया थपिने छन् । ती सबै शैयामा प्लान्ट जडान हुनेछ । अस्पतालभित्रै अक्सिजन भर्ने व्यवस्थासमेत मिलाउन लागिएको डा. पोखरेलले बताए ।
‘अस्पतालले अक्सिजन भरेर बेच्ने त होइन, अत्यावश्यक परेका ग्रामीण क्षेत्रका कोभिड अस्पताल र स्वास्थ्य चौकीमा पठाउन सकिन्छ’, पोखरेलले भने, ‘ग्रामीण संस्थाबाट सदरमुकाम आउन मात्रै ६ देखि ८ घण्टा लाग्ने स्थान छन् ।’ ती संस्थाका एम्बुलेन्स र कोभिड अस्पतालमा अक्सिजनको जोहो गरिदिन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->