नेपाली खेल इतिहासमै पहिलो पटक फुटसलको राष्ट्रियस्तरको प्रतियोगिता हुँदैछ । जुन असोज २ गतेदेखि २२ गतेसम्म पोखरामै हुँदैछ । पोखराको खेलकुद सेलाइरहेको समयमा ए डिभिजन लिगले एउटा रौनकता ल्याउने देखिएको छ ।
महामारीबीचमा पनि हुन गइरहेको राष्ट्रिय फुटसल लिगको आयोजना गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले गर्दैछ । प्रतियोगिता वरिपरि रहेर एन्फा फुटसल विभाग प्रमुख एवं लिग संयोजक विनोद गुरुङसँग फुटसल र फुटसल लिग तयारी तथा उद्देश्यबारे ढोरपाटनकर्मी विजय नेपालीले गरेको कुराकानी :
राष्ट्रिय लिगहरु काठमाडौंमा मात्रै सीमित हुँदै गर्दा पोखरामा पहिलो पटक यति ठूलो लिग हुँदैछ यहाँसम्म कसरी आइपुग्यो ?
पोखरामा ल्याउनुको मुख्य कुरा भनेकै बहुउदेश्यीय कर्भड हल नै हो । फुटसल खेल्न आवश्यक मापदण्ड पुग्ने हल नै पोखरामा मात्रै भेटियो । कोर्टका लागि आवश्यक पर्ने मापदण्ड भनेको पार्केटिङ हुनुपर्छ २०÷४० को कभर्डहल हुनुपर्छ त्यो भनेको पोखरामा मात्रै छ । त्यसैले पोखरामै आएको हो । पोखरामा अन्तराष्ट्रिय मापदण्ड अनुसारको म्याट पनि छ पार्केटिङ पनि छ ।
पोखरामा ल्याउँदा कत्तिको मेहेनत गर्न प¥यो त ?
मेहेनत त धेरै नै गर्न प¥यो नि ! योभन्दा पहिला पनि काठमाडौंमा भएको थियो लिग । त्यहाँ कस्तो भयो भनेदेखि काठमाडौंको टोलीमात्रै भयो । मैलेचाहिँ यसलाई राजधानीमात्र होइन राजधानी बाहिर पनि लैजानुपर्छ र सातै प्रदेशको सहभागिता रहनुपर्छ भनें । फुटबल, फुटसल केन्द्रमा मात्रै होइन देशभर हुनुपर्छ भनेर मैले नै योजना ल्याएको हुँ ।
फुटसल भनेको कस्तो खेल हो ? यो नेपालमा कहिलेदेखि आयो ?
फुटसल नेपालमा आएको धेरै भएको छैन, ६/७ वर्ष मात्रै भयो । योचाहिँ सानो मैदानमा खेलिन्छ । यसमा ५/५ जना खेलिन्छ । यो नेपालहरु जस्तो देशमा लोकप्रिय हुँदै गएको छ ।
नेपालमा कति छन्, त फुटसलहरु र ती कस्ता छन् ?
नेपालमा साढे ३ सय फुटसलहरु छन् । ती सबै व्यवसायिक हुन् । व्यवसायिक भएपनि टेक्निक र स्किलले खेलिने भएकाले युवाहरुको रोजाइमा पर्दै गइरहेका छन् । अधिकांश फुटसल आर्टिफिसियल छन् । त्यहाँ म्याट होइन आर्टिफिसियल घाँसहरु छन् ।
व्यावसायिक रुपमा आएको खेललाई एन्फाले साथ दिएको छ । फुटसलबारे एन्फाले के सोचिरहेको छ ?
हो, व्यवसायिक रुपमा सञ्चालन भएपनि धेरै खेलाडी उत्पादन भएका छन् । यो हाम्रो लागि फाइदाको कुरा हो । तर, एन्फाले पनि अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटसल कोर्ट निर्माण गर्ने योजना बनाइरहेको छ । जुन काठमाडौंमा बन्नेवालामा छ ।
छोटो समयमा पनि फुटसलको लोकप्रियता निकै बढ्यो यस्को कारण के होला ?
सानो क्षेत्रमा खेलिनु नै मुख्य कारण हो । यसमा बढीभन्दा बढी युवाहरु छन् । अर्को कुरा फुटसलमा जतिपटक पनि परिवर्तन हुन पाइन्छ । माइन्डगेमका कारण पनि यो पपुलर भएको हो । फिफाले नै हेर्ने भएकाले पनि मिनी फुटबलको रुपमा विकास हुँदैछ ।
एन्फामा कहिले देखि आवद्ध भयो ?
एन्फामा आवद्ध भएको ६ वर्षजति भयो ।
राष्ट्रिय फुटसल लिग गर्दै हुनुहुन्छ तयारी कस्तो छ अहिलेसम्म ?
तयारी अन्तिम चरणमा पुगेको छ । मैदानमा लाइट हाल्नेदेखि स्टेज बनाउने काम पनि सकिन लागेको छ । खेलाडी तथा अफिसियलहरुका लागि पनि आवासको व्यवस्था भइसकेको छ । सबै व्यवस्थापन भएको छ । अब हामी प्रतियोगिता सञ्चालन गर्नमात्रै पर्खिरहेका छौं ।
प्रतियोगिता भन्नेबित्तिकै दर्शकको पनि कुरा आउँछ, कोरोना महामारीको समय छ दर्शकका लागि खुल्ला हुन्छ कि हुँदैन ? खुल्ला भएमा टिकटदर कति हुनेछ ?
योचाहिँ हामीले पनि सोचिरहेका छौं आधा दर्शक राख्ने योजना बनाइरहेका छौं । हामीले स्वीकृतका लागि पत्रचार गरेका छौं । अब हेरौं के हुन्छ ? त्यो पनि खोप लगाएका हुनु पर्नेछन् । हामीले २ सय रुपैयाँसम्म टिकटदर तोक्ने कि भन्ने सोच बनाइरहेका छौं । हामी सबै स्वास्थ्य प्राटोकल अपनाएर नै दर्शक प्रवेश गराउनेछौं । प्रवेशद्वारमा स्वास्थ्यकर्मी हुनेछन् जसले ज्वरो नाप्नेदेखि स्यानिटाइजर प्रयोग गर्नका लागि सहयोग गर्नेछन् ।
राष्ट्रिय लिगले पोखरालाई के फाइदा हुन्छ त ?
पोखरालाई त अब सबै कुराले फाइदा छ नि ! कोरोना भाइरसका कारण सबै ठप्प भइरहेको अवस्थामा अब पोखरा खुल्यो भन्ने सन्देश दिनेछ । अर्को कुरा पर्यटकीय सहर भएकाले देशभरका खेलाडी आउने हुन् । होटलहरुलाई पनि केही हदसम्म सहजता भएको हामीले महसुस गरिरहेका छौं ।
यो राष्ट्रिय लिगले फुटसलमा ए डिभिजन टिम भनेर हुन्छ कि हुँदैन त ?
यो लिग नै ए डिभिजन राष्ट्रिय लिग हो । यो नै ए डिभिजन हुन्छ । यो लिगमा २ टिम रेलिगेसनमा पर्नेछन् । हामीले आगामी दिनमा सि डिभिजन हुँदै बि र ए डिभिजन गराउने छौं ।
अघिल्लो वर्षपनि लिग भयो अहिले पनि हुँदैछ । फेरि पहिलाझैं लिग सकिएपछि हराउने र अर्को वर्ष गराउँदा छनोट हुँदै नयाँ टिम आउने होला ! आगामी दिनमा एन्फाले यसलाई कसरी लैजाने छ ?
रेलिगेसनमै पर्ने फुटसलको यो पहिलो राष्ट्रिय लिग हो । आगामी दिनमा हामीले यसलाई व्यवसायिक तरिकाले नै लैजाने सोच बनाइरहेका छौं । फुटसलको पनि साफ च्याम्पियनसिपदेखि वल्र्डकप हुन्छ । अहिलेदेखि नै सुरुआत गरिसकेका छौं । अहिलेको लिगमा पनि हामीले तयारी खर्च भनेर राखेका छौं । योभन्दा अलि बढी सेवा सुविधा दिएर जीवन्त राख्ने एन्फाले सोच बनाइरहेको छ ।
आगमी वर्ष हुँदा यही टोलीनै ए डिभिजन रहने हो ?
ए डिभिजन टोली अब यही नै रहने छ । अब भनेको सी डिभिजनबाट छनोट भएर बी डिभिजन र बीबाट छनोट भएर नै ए डिभिजन आउने हो । रेलिगेसन राखेकै त्यही भएर त हो नि !
लिगले अब निरन्तरता पाउँछ त ?
हामीले अब यसलाई बर्सेनि गराउँदै जानेछौं । अहिले जम्मा २० दिनको प्रतियोगिता हो । आगामी वर्ष क्लबलाई कन्ट्रयाक गराएर अलि लामो गर्ने योजना हाम्रो छ । एक महिना गराउने योजना बनाउने छौं ।
फुटसल गर्नुको उद्देश्य के हो ?
यो लिग गर्नुको उद्देश्य भनेक राष्ट्रिय टिम बनाउनु नै हो । हामी फुटसलको पनि उत्कृष्ट राष्ट्रिय टिम बनाउन चाहान्छौं । अप्रिलमा हुने एएफसी छनोटका लागि तयार हुनुपर्ने छ । कोभिडको कारण अक्टोवरमा हुनुपर्ने छनोट खेल स्थगित भएर अप्रिलमा सरेको हो । दोस्रो चरणमा प्रवेश गर्न सक्यौ भने विश्वकप छनोट चरण खेल्न पाउने छौं ।
अन्त्यमा फुटसल लिग हुँदै छ । आम दर्शकदेखि सहयोगीलाई के भन्न चाहानुहुन्छ ?
यो पोखरामा हँुदैछ । पोखरा खेलकुद सहर पनि हो । हामीलाई विश्वास छ, पोखरेलीले साथ दिने छन् । मेरो र एन्फाको तर्फबाट सम्पूर्ण पोखरामात्र नभई गण्डकी प्रदेशवासी, सहयोगी संघसंस्था सबैलाई धेरै धेरै धन्यवाद छ । यो लिग सफल पार्न सबैले साथ दिनुहोला धन्यवाद ।





