बागलुङ/एमाले गण्डकी प्रदेशका इन्चार्ज तथा पूर्व मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले मदन भण्डारीको सिद्दान्त रहेसम्म नेपालको राजनीतिमा एमालेलाई कसैले जित्न नसक्ने दावी गरेका छन् ।
उनले गठबन्धनको नाउँमा सत्तामा आउने जाने काम भएपनि जनताको विश्वास जितेर नेतृत्व लिन एमालेको बिकल्प खोज्ने बेला नभएको दावी गरे । बिहिवार बागलुङमा आयोजित अगुवा कार्यकर्ता भेलामा आएका गुरुङले माधव नेपाल नेतृत्वले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले एमालेलाई कुनै नोक्सानी नपुग्ने समेत ठोकुवा गरे ।
एमाले सशक्त भए सम्म नेपाल माथी बैदेशिक हस्तक्षेप हुन नदिने, बिकासलाई गति दिने र स्वतन्त्र राष्ट्रको अभियानमा कुनै असर पर्न नदिने समेत दावी गरे । उनले एमालेलाई गुटको राजनीतिबाट मुक्त गर्ने नीति समेत बन्न लागेको दावी गरेका छन् । उनले माधव नेपाल समूहलाई चोइटोको उदाहरण दिए । ‘चोइटिएर गएको टुक्रापछि एमालेमा निखार आएको छ’ उनले भने, ‘अमेरिका जाने युवा जस्तै एमालेमा जाने लहर आउन थालिसकेको छ’ उनले भने, ‘अब एमाले सबै युवाको सपनाको पार्टी भैसक्यो ।’ उनले एमाले संगठनलाइ बलियो बनाउन गुट अन्त्यको तयारी भएको बताए । महाधिवेसनमा समेत गुटबन्दी गरेर उमेदवार दिन नपाउने नीतिगत व्यवस्थापन गर्न लागेको उनले जानकारी दिए ।
कार्यक्रममा एमाले स्थायी कमिटिका सदस्य सुरेन्द्र पाण्डेले दलभित्रको आन्तरक लोकतन्त्र बलियो बनाउने र शुद्द र विधिले बाँधिएको पार्टी बनाउन लागेको बताए । कार्यदलमा बसेर पार्टी भित्रका समस्यामा संघर्ष गरेपनि फुटको राजनीतिमा नलागेको उनको धारणा छ । उनले नेतृत्व सहज हस्तान्तरण गर्न सकिने गरी संगठन बढाउनु पर्ने धारणा राखे । नेतृत्वमा गएपछि पद नछाड्ने प्रवृत्ति अन्त्य भएपछि मात्रै कम्प्युनिष्ट पार्टीमा चुस्तता आउने उनको धारणा थियो । पाण्डेले पुरानो कुरा पढेर पुरानै निष्कर्ष निकालेको भन्दै माधव नेपालको पनि आलोचना गरे । ‘कोही पुरानो कुरा गर्ने, पुरानै निष्कर्ष निकाल्ने होलान्, हामी त्यता लाग्दैनौं’ पाण्डेले भने, ‘ आधुनिक निष्कर्ष निकाल्दै पार्टी र आन्दोलनका उपलब्धी जोगाएका छौं ।’ गुटबन्दीपछिको कार्यकर्ता भेलामा आएका उनले माधव नेपाल समेत भोली एमालेमै फर्कने दावी गरे ।





