बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कुकुर्दी स्वास्थ्य केन्द्र आफ्नै भवनमा

कुकुर्दी स्वास्थ्य केन्द्र आफ्नै भवनमा

पहिले स्वास्थ्य केन्द्र बनाउन घर दिए, अहिले जग्गा ।


  • ढोरपाटन संबाददाता
  • असोज १ २०७८, शुक्रबार

तनहुँ – बन्दीपुर गाउँपालिका २, कुकुर्दीमा रहेको कुकुर्दी आधारभूत स्वास्थ्य सेवा केन्द्रले आफ्नै भवनबाट सेवा दिन थालेको छ । संघीय सरकारको बजेटमार्फत गाउँपालिकाले भवन निर्माण गरेपछि केन्द्रले आफ्नै भवनबाट सेवा थालेको हो ।

३८ लाख ६० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको ३ कोठे पक्की भवनको गाउँपालिका अध्यक्ष पुर्णसिंह थापाले उद्घाटन गरे । यहाँ ७ वर्षअगाडि व्यक्तिको घरबाट स्वास्थ्य केन्द्रको सेवा सुरु भएको वडाध्यक्ष कृष्णप्रसाद लामिछाने बताउँछन् ।

‘स्वास्थ्य संस्था आवश्यक भएपछि २०७१ सालमा विष्णुलाल गुरुङको घरको एउटा कोठाबाट सुरु गरेका थियौं । हामी जनप्रतिनिधि निर्वाचित भएर आएपछि आर्थिक वर्ष ०७५÷७६ को बजेटले खोप केन्द्रको भवन बनायौं । घरबाट खोप केन्द्रमा सारेर स्वास्थ्य सेवा दिन थालियो’, वडाध्यक्ष लामिछाने सम्झन्छन् ।

२ कोठाको साँघुरो खोप केन्द्रबाट सेवा दिएको स्वास्थ्य सेवा केन्द्र आफ्नै भवनमा सरेर सेवा दिइरहेको वडाध्यक्ष लामिछानेले बताए । उनै विष्णुलाल गुरुङले ३ रोपनी जग्गादान गरेपछि स्वास्थ्य केन्द्रको भवन निर्माण भएको हो । बुधबार भवन उद्घाटनको अवसरमा गुरुङलाई सम्मान गरिएको छ ।

बन्दीपुर ४ वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन बनाउन संघीय सरकारले बजेट उपलब्ध गराएको छ । वडा नम्बर १, २, ३ र ५ मा भवन बनाउन बजेट आएको स्वास्थ्य शाखा प्रमुख अञ्जिर भट्टराईले जानकारी दिए । वडा नम्बर ३ मा स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । ८ असोजमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

२ वडामा स्वास्थ्य केन्द्र निर्माणधीन छन् । ‘आफ्नै भवन नहुँदा निजी घर, आमा समूहको भवनबाट सेवा प्रवाह भइरहेको छ’, भट्टराई भन्छन्, ‘पूर्वाधार अभावमा सेवा व्यवस्थित हुन सक्दैन । आफ्नै भवन भएपछि व्यवस्थित सेवा दिन सकिन्छ ।’

बन्दीपुर गाउँपालिकामा ६ वटा वडा छन् । वडा नम्बर ४ मा अस्पताल छ । वडा नम्बर ६ मा पनि स्वास्थ्य चौकी सञ्चालनमा छ । यो वडामा स्वास्थ्य चौकी पायक नपर्ने जनतालाई गाउँपालिकाले धरमपानीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र चलाएको छ ।

जनताको घरदैलोमा स्वास्थ्य सेवा पुग्नुपर्ने गाउँपालिका अध्यक्ष पुर्णसिंह थापा बताउँछन् । ‘स्वास्थ्य सेवा जनताको नैसर्गिक अधिकार हो । सकेसम्म घर घरमै पुगेर सेवा दिनुपर्छ’, उनले भने । अब गाउँपालिकाले प्रत्येक टोलमा महिनाको एक पटक डाक्टर पठाएर स्वास्थ्य सेवा दिने अभियान थाल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->