बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नगरसभापतिको उमेदवारी घोषणाक्रम सुरु

नगरसभापतिको उमेदवारी घोषणाक्रम सुरु


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०७८, सोमबार

संघीयता पछिको पहिलो अधिवेशन भएकोले केही नौलो, अलमल र ढिलाई भएपनि यो अधिवेशनले कांग्रेस कार्यकर्ता चलायमान बन्ने सम्भावनासमेत देखिएको उनीहरु बताउँछन् ।

बागलुङ/कांग्रेस महाधिवेशनको पहिलो चरण अर्थात् वडा अधिवेशन सकिएको छ । त्यसपछिको गाउँपालिका तथा नगरपालिका तहको अधिवेशनले चर्चा पाइरहेको छ । असोज ९ गते गाउँ तथा नगर अधिवेशनको तयारी छ । त्यसका लागि उमेदवार बन्ने र घोषणा गर्ने होड चलिरहेको छ ।

यो अधिवेशनले जिल्लामा १० वटा पालिकाका १० जना सभापतिसहित पदाधिकारी चयन हुनेछन् । हरेक उमेदवारीमा सदरमुकाम आइपुग्ने धेरै नेता तथा कार्यकर्ताहरु वडा तहको अधिवेशनले खपत हुने सम्भावना छ । त्यसपछि सुरु हुने क्षेत्रीय अधिवेशनमा पनि प्रदेश क्षेत्रका ४ र संघ क्षेत्रका २ गरी ६ जना सभापतिसहित पदाधिकारी, महाधिवेशन प्रतिनिधि समेत हुनेछन् । अन्त्यमा जिल्लामा सभापति सहितको पदाधिकारीका लागि आइपुग्दा धेरै कार्यकर्ताले अवसर पाइसकेको हुनेछन् । त्यसले कांग्रेस कार्यकर्ताहरुको ठाउँ र योग्यता अनुसारको पदस्थापन हुने सम्भावना बढेको छ ।

संघीयता पछिको पहिलो अधिवेशन भएकोले केही नौलो, अलमल र ढिलाई भएपनि यो अधिवेशनले कांग्रेस कार्यकर्ता चलायमान बन्ने सम्भावनासमेत देखिएको कार्यकर्ताहरु बताउँछन् । ‘अब धेरै मानिसले अवसर पनि पाउँछन्, कांग्रेस चलायमान पनि हुन्छ,’ कांग्रेस कोषाध्यक्ष उमेश गौतमले भने, ‘अवसर पाएपछि कसले के काम गर्न सक्छ भन्ने देखाउनेबेला पनि हुनेछ ।’

सभापतिको उमेदवारी घोषणा गर्ने क्रम सुरु

आसन्न अधिवेशनका लागि गाउँपालिका र नगरपालिकाको सभापति तथा पदाधिकारीको उमेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । नेपाल तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ले नेपाली कांग्रेस बागलुङ नगर सभापतिको उमेदवारी घोषणा गरेका छन् । नेपाल तरुणदल बागलुङको नेतृत्व सम्हालेका शर्माले भातृ संगठनहुँदै पार्टीको नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
जैमिनी नगरपालिकामा हालकै सभापति काशीराम आचार्यले फेरि उमेदवारी घोषणा गरेका छन् । सभापतिकै लागि विद्यार्थी नेता विष्णुराज पौडेल र प्रेमप्रसाद सापकोटाले पनि उमेदवारी घोषणा गरेका छन् । युवाहरुले पनि दाबी गरेकोले कांग्रेस राजनीतिमा नयाँ तरंग समेत देखिएको छ ।

गलकोट नगरपालिकामा २ जनाले उमेदवारी घोषणा गरेका छन् । वडा नं. ३ का अध्यक्ष तथा हालका नगर सचिवसमेत रहेका वीरजंग भण्डारी र वडा नंं ५ का अध्यक्ष नारायणध्वज मल्लले उमेदवारी घोषणा गरेका हुन् । भण्डारी युवा छन् भने मल्ल पाको उमेरका हुन् ।

ढोरपाटन नगरपालिकामा भने सार्वजनिक रुपमा उमेदवारी घोषणा भएको छैन । गाउँपालिकातर्फ पनि कार्यकर्ताले उमेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् । क्षेत्रीय सभापतिमा पनि केही उमेदवारहरु देखिन थालेका छन् । बागलुङ क्षेत्र नंं १ तर्फ खड्ग थापाले उमेदवारी घोषणा गरेका छन् । क्षेत्र नं २ मा गण्डकी थापा, जोकलाल बुढा लगायतले उमेदवारी दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->