बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

आधा जीवन बित्यो पानी भित्रै…

आधा जीवन बित्यो पानी भित्रै…


  • दिवस गुरुङ
  • असोज ४ २०७८, सोमबार

जब मानबहादुर सेतीभित्र पस्दै जान्छन्, तब पानी कम्मर माथि सर्दै आउँछ । आधा शरीर त पानी भित्रै । लाग्छ जिउने आश पनि आधा नै हुन्छ –त्यतिबेला ।

भदौरे झरी रोकिएको थिएन । झन् बेस्मारी दर्किरहेको थियो। योसँगै सेती नदीको बहाव बढ्दो छ । मात्तिएर आएको सेतीले भेटेजति सबैलार्ई सँगै सोहोरेर लैजान्छ। उस्तै डरलाग्दो सुनिन्छ, सेतीको गडगडाहड । पानीको सतह किनार छेउछाउ उक्लँदै छ । तर, पानीको प्रवाह नगरी ज्यान कै बाजी थापेर पानीभित्र पस्नेहरु छन् ।रहरले हैन, बाध्यताले । भोको पेटले । जीवन बाँच्न मृत्युसँगै पौठेजोरी खेल्नेहरुका कथा । अझ भनौं, सेती किनारमा बालुका निकाल्नेहरुका कथा ।

लामाचौर र याम्दी जोड्ने झोलुंगे पुल छ । पुलबाटै देखिन्छ, पारि सराङकोट बादलभित्र लुकामारी खेल्दै गरेको । पुलमा रंगीबिरंगी बौद्ध धर्मवालम्बीहरुले झुण्डाएका लुङ्ताहरु फर्फराइरहेका छन् । अनि पुलमुनि बगिरहेको छ बेतोडले सेती । सेती किनारामा बालुकाका बोराले घेरेर छुट्टाछुट्टै बालुकाकै थुप्रो जम्मा पारिएका छन् । अझ भनौं जीवन जिउने आशाको थुप्रो । यसै थुप्रोमध्ये एकमा जिउने सास भेट्छन् –मानबहादुर ।

उमेरले ४५ कटेयहीँ जेठमा । तर, शरीरमा उस्तै जोस र जाँगर कायमै छ ।यसो नगरे सुखै पनि कहाँ छ र ? बिहान सखारै आँखा मिच्दै मिर्मिरेमै सेतीमा पस्छन् । अनि साँझ मात्रै फर्कछन् छाप्रोमा । वर्षा, हिउँद, जाडोयाम, यही सेतीकै पानीसँगै खेल्दै बित्छ–उनको । गर्मी हुँदा होस् वा कठ्यांग्रिदो जाडो याममा, पानीमा नपसी धरै छैन । लाग्छ–सालाखाला जीवनको आधा समय त उनले पानीमै बिताए । सेतीमै बिताए, पानीसँगै जीवनका उर्जाशील समय । बालुका झिक्दै, बोक्दै अनि चाल्दै । आजको दिनसम्म कैयौं थुन्से बालुवा सेती किनार लगाए, तर उनको जीवन कहिल्यै किनारा लागेन । झन् दलदलमा फस्दै गएका छन्,आफ्ना अनि सन्तानका सपनाहरुमा । जसरी उनी बालुकाको खोजीमा सेतीको बीचतिर फस्दै थिए ।

नजिकै छ उनको टिनले छाएको सानो टहरा । अनि त्यसैभित्र अटाएका छन् उनी, श्रीमती अनि छोराछोरीसहितको सुखी परिवार ।३ वर्षकी सानी छोरी नजिकै थुप्रिएको बालुवामा खेल्दै छिन् । त्यसैमा रमाउँदै छिन् । छोरा साथीसँग खेल्न कतै गएकोे हुँदो हो ।यता श्रीमान श्रीमती खेल्दै थिए, सेतीसँगको पौठेजोरी । सेती उर्लेर आउँदा डर लाग्दैन ? प्रतिउत्तरमा मुस्कुराउँदै उनी भन्छन्, ‘आजको दिनसम्म हाम्रो चुलो यही सेतीले बलेको छ । छोराछोरीले जेनतेन पढ्न पाएका छन्, यही सेतीले । सेती नहुँदो हो त हामी बेसाहारा बन्थ्यौं होला । डर त लाग्छ कि तर यहीँ डरमै त जिउने आश छ नि । यसैमा जिउनुको आनन्द बेग्लै छ नि ।’

हो, यहीँ डर र त्रासमै रमाउने उनको दैनिकी बनेको छ । जीवन जिउने आधार बनेको छ । सेती छ रत उनको चुलो बलेको छ । आङ ढाकेका छन् एकसरो लुगाले ।

रातभर दर्केको पानी बिहान मात्र केही थामिएको थियो । बहाव घट्दै थियो, तर किनारा छाडेको थिएन पानीले । सेतीको बेगसँग डराएर कहाँ किनारामा बालुका थुप्रिन्छ त ?मनभरि आँट बटुलेर पस्नै पर्छ सेतीभित्रै । लड्नै पर्छ सेतीसँग ।
टाउकामा हरियो प्लास्टिक ओढेका छन्। अनि त्यसमाथि नाम्लोसहितको थुन्से ।जब उनी सेतीभित्र पस्दै जान्छन्, तब पानी कम्मर माथि सर्दै आउँछ । आधा शरीर त पानी भित्रै । लाग्छ जिउने आश पनि आधा नै हुन्छ –त्यतिबेला ।ह्वात्तै भेल बढेर कहिलेकाहीँ सेतीले सँगै सोहोरेर अलि पर पु¥याउँछ । अनि जसोतसो ज्यानलाई सम्हालेर किनारामा फर्कन्छन् उनी ।

यताउनकी श्रीमती बेल्चाले बालुका निकाल्दै थिइन् । पानीभित्रै फलामको कुर्चीजस्तो स्ट्यान्ड ठडाइएको छ । अनि त्यही माथि अडिएको छ थुन्से, जसरी अडिएको छ उनीहरुको सेतीमाथि आड भरोसा । उनी थुन्सेमाबालुवा भर्छिन् । मानबहादुरखाली थुन्सेश्रीमती कहाँ छोड्छन् अनि बालुवा भरिएको थुन्से बोकेर किनारमा पुग्छन् । अनि दोहोरिन्छ उनीहरुको यहीँ दैनिकी । एक खेप, दुई खेप अनि किनारसम्म पु¥याउँछन् कैयौं खेप बालुवाले भरिएका थुन्सेहरु । अझ भनौं, सपनाले भरिएका थुन्सेहरु ।

जति खेप पु¥याउन सक्यो, उति नै धेरै कमाइ । तर, वर्खामा कहाँ धेरै ओसार्न सकिन्छ र ? पानीसँगै खेल्दाखेल्दै उनमा घुडा तथा जोर्नी दुख्ने समस्या बल्झिएको छ । जाडोयाममा कटकटी दुखाईले राम्ररी नसुतेका कैयौं रातहरु छन् उनका । दुखाई निको पार्ने औषधि टारिरहेका छन् । ‘डाक्टरकहाँ पुग्दा पानीसँग नखेल्न सधैं सुझाउँछन्,’ मनको गुनासो पोख्दै उनले भने, ‘पानीसँगै नखेली त हाम्रो जीवनको खेलो नै कहाँ चल्छ र ? सेती छ र त जीवन चलेको छ । दुई मुठी सास फेरेका छौं । एक सरो लुगा फेरेका छौं । बिहान बेलुकाको छाक टारेका छौं । ’

भित्तामा नयाँ वर्षका क्यालेन्डर थपिन्छन् । अनि सँगै थपिन्छन् उनका दुःखका पानाहरु पनि । वर्ष थपिएसँगै छोराछोरीका उमेर थपिएका छन् । अनि चाहना र रहरहरुका चाङ पनि थपिदो हो ।अहिले नै पढाई खर्च धान्न मुस्किल भइसकेको छ उनलाई । कहिलेकाहीँ बिरामी परेर थला परे चुलो बल्ने नबल्नेमा उनी दोधारमै छन् ।

राम्रो कमाएर राम्रो ठाउँमा घर सर्ने उनको पुरानो सपना केवल सपना नै रह्यो । कुन दिन सेती मात्तिएर सबै घर सोहोरेर लाने हो, मनभरि डरले डेरा जमाउँछ उनको । नयाँ घर, नयाँ ठाउँ, रहरै रह्यो उनका लागि । सोचेजस्तो जीवन कहाँ हुन्छ र ? तै पनि कुदिरहनु पर्ने, अबिरल बगिरहनु पर्ने, त्यही छेवैको सेती झैं ।
कोरोना कहरले नराम्ररी पिरोल्यो उनलाई । कैयौं दिन कोठाभित्रै थुनिए । बाध्यताले लकडाउन खुकुलो हुनै अगावै उनी सेती भित्रै पसे । यो उनको बाध्यता मात्र हैन, उनीजस्तै कैयौं मानबहादुरका हुन् । उनी त केवल प्रतिनिधित्व पात्र न हुन् ।

बिदा लिदैँ गर्दै सोध्छु, ‘सेतीको चर्को आवाज सुन्दासुन्दा दिक्क लाग्दैन तपाईलाई ?’ मुसुक्क मुस्कुराउँदै उनी जवाफ दिन्छन्, ‘कतै नयाँ ठाउँ जाँदा पनि के छुटेछुटे झैं लाग्छ, सेती सुसेलेको नसुन्दा । जीवनमा उतारचढावका बीच पनि निरन्तर बगिरहन त यहीँ सेतीले न सिकाएको छ, हामीलाई ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->