बागलुङ/न्याय र अधिकारका लागि विभिन्न ११ बुँदे माग राख्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले बागलुङ नगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार संघले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमार्फत नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएको हो ।
स्वास्थ्य, शिक्षण संस्था वरपर मदिरा र सूर्तिजन्य पदार्थको प्रयोग निषेध गर्नुपर्ने, जुवातास खेल्न रोक्नुपर्ने, माध्यमिक तहका किशोरी विद्यार्थीको लागि आराम कक्ष, शौचालय र स्यानेटरी प्याडको व्यवस्था मिलानुपर्ने एक विद्यालय एक स्टाफ नर्सको व्यवस्था गर्नुपर्ने माग संघले राखेको छ ।
आमाको नामबाट नागरिकता, छोरा सरह पैतृक सम्पत्तिमा समान अधिकार र लैंगिक उत्तरदायी बजेटको व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ । संघका संयोजक धनमाया शर्माले हस्ताक्षर गरेको ज्ञापनपत्रमा बागलुङ नगरपालिकालाई महिला हिंसामुक्त पालिका घोषणा गर्न माग गरिएको छ ।
महिला हिंसाका घटनामा शून्य सहनशीलता अपनाउँदै न्याय र अधिकार प्राप्तिको बाटो सहज बनाउन माग गरिएको शर्माले बताइन् । अल्पकालीन सुरक्षित गृहको व्यवस्था मिलाउन र सबै गर्भवतीलाई स्वास्थ्य संस्थामै सुत्केरी हुने व्यवस्था मिलाउन ज्ञापमन पत्रमार्फत माग गरिएको छ ।
हिंसापीडित महिलाहरुको लागि न्यायीक समितिमार्फत तत्काल न्याय दिने व्यवस्था मिलाउन र छोरीको लागि जन्मेपछि खाताको र माध्यामिक तहसम्म निशुल्क शिक्षाको व्यवस्था गर्न माग गरिएको नेतृ टीकादेवी विकले बताइन् ।
ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले ज्ञापन पत्रमा उल्लेख भएका कतिपय विषय नीतिगत व्यवस्था भएपनि कार्यान्वयन हुन नसकेको बताए । नीति निर्माणको तहमा ज्ञापनपत्र पु¥याउने भन्दै ज्ञवालीले जायज मागहरु सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता समेत जनाए ।





