बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘मिडिया विधेयक मिडियामैत्री आउँछ’

‘मिडिया विधेयक मिडियामैत्री आउँछ’


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७८, बुधबार

गण्डकी प्रदेश सरकारले आम सञ्चार विधेयक ल्याएपछि अहिले चर्चामा छ । मिडियालाई अंकुश लगाउने गरी विधेयक ल्याइएको भन्दै विभिन्न पत्रकार संगठनहरु विरोधमा उत्रिएका छन् । राजनीति, व्यापार र विधेयक वरिपरि रहेर प्रदेशका आन्तरिक तथा कानुनमन्त्री बिन्दुकुमार थापासँग ढोरपाटनकर्मी विजय नेपालीले गरेको कुराकानीको सम्पादित अंश :

०००
व्यावसायिक घरानाबाट राजनीतिमा आउनुभयो । राजनीति गर्न गाह्रो कि व्यवसाय ?

गाह्रोचाहिँ राजनीति गर्न रहेछ । व्यवसाय गर्न त धेरै सजिलो । त्यहाँ त निश्चित काममात्रै हुन्छ । तर राजनीति गर्न भने निकै कठिन हुँदो रहेछ । आफूले मात्रै सोचेजस्तो पनि नहुने । यहाँ सबैको कुरा सुन्नुप¥यो । सबैलाई रिजाउन पनि प¥यो र आम नागरिकको चित्त बुझाउन प¥यो । सबैको एउटै सोच हुँदैन फरक फरक कुरा आउँछन् । सोही अनुसार समन्वय गर्दै नेतृत्व गर्नुपर्ने हुन्छ ।

तपाईं व्यवसायीमात्र नभई कानुनको पनि विद्यार्थी कानुनमन्त्री बन्दा कस्तो अनुभव गर्नुभएको छ त ?

म आफैं पनि कानुनको ब्याकग्राउन्ड भएकाले जिम्मेवारी वहन गर्न धेरै सजिलो भएको छ । राइट म्यान राइट प्लेस भएको छ । अहिले गण्डकी प्रदेशसभाले ४८ वटा कानुनहरु बनाइसकेको अवस्था छ । ५ वटा विचाराधीन अवस्थामा छन् । २ वटा विधेयक आज (मंगलबार)मात्रै पारित भए । भनेपछि ५० वटा कानुन प्रदेशले साढे ३ वर्षको दौरानमा बनाउन सफल भएका छौं ।
यसलाई चाहिँ हामीले पुनरावलोकन समिति पनि बनाएका छौं । प्रदेशले बनाएका कानुनहरु कति कार्यान्वयनमा आए, कति आएनन् । कतिलाई सधार गर्नुपर्ने कति छन् । संघीय कानुनसँग कति बाँझिएका छन् र संविधानसँगै पनि कति बाँझिएका छन् भन्ने कुरा सबै हेर्ने काम गर्छ त्यो काम अघि बढेको छ ।

गठबन्धनको सरकार छ । काम गर्न कत्तिको सहज वातावरण छ ?

एउटै पार्टीको सरकार हुनु र गठबन्धनको सरकार हुनुमा फरक त पर्छ । काम गर्न केही असहज त हुन्छ नै ! समन्वयको अभाव हुन्छ । पार्टीको आफ्नै सिद्धान्त, विचार हुन्छ त्यसलाई एकै ठाउँमा राखेर लाँदाखेरि अफ्ठेरो त पक्कै हुन्छ ।
तर, पनि अहिले काम गर्नलाई त्यस्तो असहज महसुसचाहिँ भएको छैन । सबै पार्टीबीच समन्वय भएको छ । त्यसले गर्दा मैले सहज महसुस नै गरेको छु ।

प्रतिपक्षबाट सत्ता पक्षमा आउँदा कस्तो लागेको छ ?

हामीले नसोचेको भएको छ । नेपाली जनताले शान्तिको चाहना गरेका थिए । शान्तिप्राप्त भयो । संविधान चाहेका थिए त्यो पूरा भयो । अस्थिर सरकार भइरहेको अवस्थामा स्थायी सरकार बनाउन सके समृद्धितर्फ जान सकिन्छ कि भन्ने आम जनताको चाहना थियो । त्यही कारणले नै २ तिहाइको सरकार आयो ।
गण्डकी प्रदेशकै कुरा गर्दा पनि हामी टोटल ६० जना सांसद, माननीयहरु मध्येमा ४० जना चाहिँ सरकार स्थापित भयो । हामीले कल्पना पनि गरेका थिएनौं । हामीले फेरि सरकारमा जाऔंला, मन्त्री हांैला भन्ने सोचेका पनि थिएनौं । राजनीति हो जे पनि हुँदो रहेछ । २ तिहाइको सरकारपनि ढलेर गल्र्यामगुर्लुम्म भयो । गण्डकी प्रदेश भनेको त अझ एमालेको निकै बलियो पकड भएको प्रदेश थियो । नसोचेको कुरा हामी नै सरकारमा आयौं ।

तपाईं मन्त्री हुनुभन्दा अघि दोबाटे विश्वकर्माको नाम निकै चर्चामा थियो । निष्ठाको राजनीति गर्नेलाई नदिई धनाढ्य व्यक्तिलाई दियो भन्ने आरोप जनस्तरबाटै आयो यसमा तपाईंको धारणा के छ ?

धनाढ्य हुनु अपराध होइन । मलाई के लाग्छ भने मचाहिँ जनमत प्राप्त सांसद हुँ । मेरो बलियो कुरा भनेकै त्यही हो । कास्कीमा कांग्रेसले ९ सिटमध्ये ८ सिट गुमायो । मैलेमात्र कास्कीमा कांग्रेसको बिउ राख्ने काम गरे ।
प्रदेशको राजधानीबाट जितेको भएर नै मैले मन्त्री पाएकोजस्तो मलाई लाग्छ । दोबाटेजीलाई मैलेपनि सम्मान गर्छु । उहाँ निष्ठाको राजनीति पनि गर्नुहुन्छ । कर्मठ योद्धा पनि हो । मैले धेरै नजिकबाट पनि चिन्छु ।
तर, संविधानले २ प्रणालीबाट सांसद छान्ने काम गर्छ । प्रत्यक्ष निर्वाचन र समानुपातिक प्रणालीबाट । कांग्रेसले ४ मन्त्री मध्येमा ३ मन्त्री समानुपातिकबाट आएकालाई बनाएका छन् । तर, प्रत्यक्ष सांसदलाई अझैपनि अपहेलना गरेजस्तो देखियो । मेरो सुरुदेखि नै नाम चलिरहेको हो । तर, पछि कसरी विवादमा आयो, मलाई थाहा भएन । मेरो कारणले उहाँ मन्त्री हुनबाट रोकेको हो जस्तो लाग्दैन ।

मिडिया विधेयकबारेमा तपाईंको धारणा के छ ?

म आउनेवित्तिकै पनि यो विधेयकका विषयमा मिडियाकै व्यक्तिहरुसँग धेरै चरणका कुराकानी गरिसकेको छु । छलफललाई निरन्तरता दिएको पनि छु । यो मिडिया विधेयक अघिल्लो सरकारले तयार पारेको विधेयक हो । हामीले अहिले टेबुलमात्र गरेका हौं ।
आज संसद अन्त्य भइसकेको अवस्था छ । हामीले यो विधेयकलाई विद्ययान समितिमा व्यापक छलफल गर्ने र त्यसमा धेरै कुरा सुधार गर्नुपर्ने पनि सुझाव आएको छ । विज्ञसहित हामीले मिडियाकर्मीलाई पनि राखेर कसरी मिडियामैत्री बनाउन सक्छौं, त्यतातर्फ जान्छौ । यो ७ प्रदेशभरिमै हाम्रो प्रदेशको आमसञ्चार विधेयक उत्कृष्ट विधेयक बनाउने पहलका लागि म अघि बढेको छु ।

मिडिया विधेयक ल्याउन यस अघिको सरकारले पनि छलफल गर्दै सुझाव लियो । तर सच्चिएन । तपाईंहरु पनि त्यसैको निरन्तरतामा हो ?

पहिलाको कुरा मलाई थाहा छैन । यो आमसञ्चार विधेयक अलिकति करेक्सन गर्नुपर्ने परिमार्जित गर्नुपर्ने हामीले पनि ठानेका छौं । मिडियाका साथिहरुसँग पनि कुरा गर्दा धेरै सुझाव पाएँ ।
अहिले गण्डकी प्रदेशको इतिहासमा पहिलो पटक नेपाली कांग्रेसकै व्यक्ति विधायन समितिको अध्यक्षमा निर्वाचित हुनुभएको छ । अब कानुनमन्त्रीमा पनि भाग्यवश कांग्रेस नै छ । हामी यो कुरामा एकदमै प्रतिबद्ध छौं । प्रेस रजिष्टार, उमेर हद लगायत सजाय तथा कर्मचारीले नै मुद्दा हेर्नपाउने भन्ने विषयलाई सच्याउन पर्ने नै छ, जुन उचित छैन ।
त्यो बरु प्रेस रजिष्टारलाई नै दिनुपर्छ । यसलाई हामीले मनन गरेका छौं । हामी त्यही अनुसार नै जान्छौ । पहिलाको सरकारले के ग¥र्यो भन्दा पनि अब सच्याएर उत्कृष्ट विधयेक बनाउने म अहिले नै प्रतिबद्धता व्यक्त गर्दछु । म मन्त्री हुदाँ नै यो विधेयक पास भयो भने मिडियामैत्री नै भएर आउँछ अन्यथा यो थाती नै रहन्छ ।

नेताहरु सधैं मिडियालाई दबाउने गरी नै विधेयक ल्याउन खोजिरहेका हुन्छन् । लोकतान्त्रिक पार्टीको मन्त्री भएर तपाईं पनि उही मार्गमै हिँड्नुभयो नि ?

म मन्त्री भएको अस्वथामा नै विधेयक पास भए मिडियामैत्री नै आउँछ । अन्यथा अनुकुल वा प्रतिकुल भन्न सकिँदैन । त्यही भएर नै अहिले नै पास गरौं भन्ने हो । मैले प्रदेशभरका जिल्लामा जुम मिटिङ गरेको छु । मैले सुधार गुर्नपर्ने कुरा बुँदागत दिनुहोस् भनेको थिएँ ।
तर, मिडियाका साथिहरुले यस्लाई हतार नगरी लाने भन्नुभयो त्यसैले हिउँदे अधिवेशनमा पास गर्ने गरी जान्छौं । कानुनमा ‘र, तथा’जस्ता धेरै शब्दले पनि धेरै फरक पार्छ । त्यसैले पनि मिडियाकै साथिहरुको सल्लाह बमोजिम अहिले छलफलमा राखेका छौं ।

र अन्त्यमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु भएको छ । तपाईंको उम्मेद्वारी महाधिवेशन प्रतिनिधि हो ?

मन्त्रालयमा आउने भेटघाट गर्ने, क्याविनेट बैठकले नै समय बितेको छ । अहिले अधिवेशन चलिरहेको छ । यस्को भव्य सफलताको शुभकामना छ । १४ औं महाधिवेशन सव्य र भव्य बनाउन सके यस्ले प्रजातान्त्रिक पार्टीको परिभाषा दिन्छ । हामी प्रदेश प्रतिनिधि स्वतः हुन्छौं मेरोबारे भन्नुपर्दा महाधिवेशन प्रतिनिधिमा जान चाहन्छु ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->