बागलुङ/ बागलुङ नगरपालिका वडा नंं १० की ८६ बर्षिय महिलाको धौलागिरि अस्पतालमा हड्डीको प्रत्यारोपण भएको छ । बुधवार दिउँसो चिकित्सकहरुको टोलीले ८६ बर्षिय महिला तुलसी थापाको सफल अपरेशनमार्फत कम्मरको गेडी जोर्नीको प्रत्यारोपण भएको हो ।
उनको गेडी भाँचिएको थियो । उक्त स्थानमा स्टिलको गेडी बनाएर प्रत्यारोपण समेत भएको अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रतिक आचार्यले जानकारी दिए । आचार्यकै नेतृत्वमा उक्त अपरेशन पनि सफल भएको हो ।
अस्पतालमा कार्यरत एनेक्स्थेसियोलोजिष्ट डा. नविन पौडेल, बरिष्ठ नर्स देवी भट्टराई, डाक्टरहरु कमल कार्की र केशव पाण्डे, नर्सहरु सन्जु क्षेत्री र शितल राजभण्डारीको टिमले ती महिलाको सफल अपरेशन गरेका थिए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलका अनुसार यो अपरेशन अस्पतालको इतिहासमै नौलो र जेष्ठ उमेरमा सफल भएको हो । अपरेशन गरेपछि पनि ती महिलालाई कम्तिमा १० देखि १५ दिन अस्पतालमै राख्नुपर्ने बताए । डा. आचार्यले यो अपरेशनले नेपालमै जटिल प्रकारको अपरेशन बागलुङमा सफल भएको सन्देश गएको बताए ।
लडेर घाइते भएकी ती महिलाको परिवारले तीन पटकसम्म अस्पताल ल्याएपछि मात्रै यो अपरेशन सफल भएको हो । पहिलो र दोश्रो पटकमा महिला नमान्दा अपरेशन हुन सकेको थिएन । अपरेशन नभएपछि उनलाई परिवारका सदस्यले घरमा लगेका थिए । तीजको दिन भदौ २४ गते लडेकी ती महिलाले अपरेशन गर्न नमान्दा धेरै पीडा सहनुपरेको थियो ।
‘धेरै पीडा हुन्थ्यो, त्यसैले फेरी अपरशेन गर्न मनाएर ल्यायौं’ वृद्दका नाती धनबहादुर थापाले भने, ‘अहिले सफल भयो, अब पीडा नहोला ।’ ‘वृद्द भएकोले धेरै जोखिम थियो, अझैपनि केही दिन जोखिम हुन सक्छ, तर समयमै अपरेशन भएकोले लठ्ठी टेकेर हिड्न सक्ने बनाएपछि क्रमशः सिधै हिड्न सक्ने अबस्थामा जानुहुनेछ’ डा. आचार्यले भने, ‘मेडिकल क्षेत्रको यो सफलता पनि हो ।’
राजधानीका अस्पतालमा उपचार गरेको भए यस्ता घटनामा हेरबिचारका लागि मात्रै ३ देखि ४ लाख खर्च हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए । ‘सबै उपचार गर्दा लाखौं खर्च हुन्थ्यो, यहाँ सामान्य खर्चमा उपचार संभव भयो’ रानामगरले भने, ‘अस्पतालमा चाहेजति उपकरण, विशेषज्ञ र अन्य डाक्टर भएमा नमूना बनाउन सकिन्छ ।’





