सुवेदीको टाउकोमा १२ लाख ९० हजार ऋण भार छ । त्यही भारले उठ्नै नसक्ने गरी थिचेपछि आफूले भाडामा लिएको जग्गा छोड्दैछन्, व्यवसाय छोड्दैछन्, र सँगसँगै केही महिनाभित्रै नेपाल पनि !
पोखरा/ ठीक १२ बजेको चर्को घाम थाप्लो माथि छ । त्यही चर्को घामको समेत वास्ता नगरी असिनपसिन हुँदै उनी एक सहयोगीसँग धमाधम बाँसको टहरा भत्काइरहेका छन् । अनुहार मलिन छ र देखिन्छ उस्तै बेचैनी पनि । वरिपरि भक्इिसकेका टहराका बाँस यत्रतत्र छन् ।
स्याङ्जा आँधीखोलाका विक्रम सुवेदीको दैनिकी करिब २ हप्तादेखि पोखरा ४, मासबारमा यस्तै व्यस्ततामा बितिरहेको छ । च्याउ खेतीका लागि बनाएको जम्मै टहरा ३ दिनभित्र भत्काइसकेर जग्गा छोड्नुछ । तर, कहिले पानी परिदिन्छ, कहिले प्रचण्ड गर्मी ।
‘छिटो सकौं भनेर उहाँ (सहयोगी) दाइलाई पनि राखेर भत्काइराखेका छौं । हिजो (बुधबार) पनि काम गर्नै पाइएन । काम सुरु गर्नेबित्तिक्कै पानी प¥यो,’ लामो हुइँया छोड्नै निरस सुनिन्छन्, ‘आज फेरि यस्तो घाम । के गर्नु सर । न मौसमले साथ दियो न समयले !’
२१ लाख लगानी गरेर पोखरामा ठूलो च्याउ खेती सुरु गरेका सुवेदीको व्यवसाय कोरोनाले चुर्लुम्म डुबायो । पहिलो वर्ष राम्रै कमाइ गरे पनि त्यसपछिका समय लकडाउनमय रह्यो । उम्रिएका च्याउ बजारमा बिकेनन्, खाल्डो खन्दै पुर्दै गर्नुपर्ने स्थिति आयो । सहज समयको पर्खाइमा बस्दाबस्दै टाट पल्टिने स्थिति आयो ।
घरपरिवार, आफन्ती सबैबाट ऋणधन गरेर स्वदेशमै व्यवसाय सुरु गरेका सुवेदीको टाउकोमा १२ लाख ९० हजार ऋण छ । त्यही ऋणको भारले उठ्नै नसक्ने गरी थिचेपछि आफूले भाडामा लिएको जग्गा छोड्दैछन्, व्यवसाय छोड्दैछन्, र सँगसँगै केही महिनाभित्रै नेपाल पनि !
‘…अनि च्याउखेतीमा आएँ’
पराया भूमिको बगैंचा रक्षा गर्न ७२ सालमा सुवेदीले देश छोडे, कतार पुगे । सेक्युरिटी गार्ड बनेर गएका उनी ‘गार्डेन’ हेर्दाहेर्दै त्यसपछि रुचि पलायो । एकदिन आँट गरेर मालिकलाई भने, ‘गार्डेनको गोडमेल काम पनि गर्छु । अलिकति ‘पार्टटेम’को पैसा थपिदिनुस् ।’
एउटै व्यक्तिले थोरै मूल्यमा २ थरि काम भ्याउने भएपछि मालिकले पनि नाइँनास्ती गरेनन् । उनले बगैंचाको हेरचाहसँगसँगै तरकारी र फलफुल उब्जाउन सिके । ‘गार्ड बन्न गएको मान्छे, गार्डेनर बनें । कमाइ पनि राम्रै हुन्थ्यो,’ उनी सुनिन्छन्, ‘गार्डेन गोडमेलको ३ सय रुपैयाँ महिनाको आउँथ्यो ।’
३ वर्ष विदेश बसाइँपछि ७५ सालमा नेपाल फर्किए । घरजम गरे । कतार फर्किहाल्ने मनसायसहित नेपाल आएका उनले आफूले पाउने बोनस पनि ल्याएका थिएनन् । भन्छन्, ‘सेक्युरिटी गार्डलाई वर्षभरिको २२ सय बोनस दिइन्थ्यो । म फर्किहाल्छु भनेर त्यो पैसा पनि नलिई नेपाल आएको थिएँ ।’
तर, जब फेरि विदेश फर्किने दिनमा आयो, नवदुलहीले रोक्दै भनिन्, ‘नजाउनुुस् विदेश । यतै केही गरौं न । बरु बाख्रा पालौं, कुखुरा पालौं । अरु नेपालमै बसेर गरिराखेकै छन् नि ! तपाईं फेरि त्यता (कतार) नजाँदा हुँदैन ?’
श्रीमतिको सुझाव नराम्रो पनि थिएन । त्यसपछि नै हो उनले नेपालमै केही गर्ने र सपरिवार सुखी जीवन बिताउने सपना देखेको पनि । काठमाडौंमा उनका ठूला बुवाले च्याउखेती गरेर मनग्गे आम्दानी गरिरहेकै थिए । उनलाई पनि त्यही सोच आयो । काठमाडौं हान्निए । र, केही महिना ठूलो बुवासँगै बसेर च्याउखेती सिकेर पोखरा फर्किए ।
तर, व्यवसाय सुरु लगानी उनीसँग पर्याप्त थिएन । जम्मा ५० हजार रुपैयाँमात्र ‘क्यास’ थियो । एकजना सहकर्मी पनि बनाएपछि केही सजिला भयो । ‘ठूलो बुवा, दाइ सबैले सहयोग गर्नुभयो । अरुसँग १/२, १/२ माग्दामाग्दै १४, १५ लाख जम्मा बन्यो । ऋण ठूलो भए पनि कमाइ राम्रै होला, उठिहाल्ला भनेर सोचेर झ्याम्मै लगानी गरिहालें,’ टहरा अड्याउन बनाइएको बाँसको टेको हटाउँदै बोल्छन् ।
पोखरा, मासबारमा मासिक २५ हजार रुपैयाँ तिर्नेगरी करिब ६ रोपनी जग्गा भाडामा लिए । जसमध्ये साढे ४ रोपनीमा च्याउखेतीका लागि टहरो बनाए । बाँकीमा तरकारी खेतीका लागि ठाउँ राखे । पहिलो वर्ष सोचेजस्तै च्याउ उम्रियो, सोचेजस्तै कमाए पनि । पहिलो वर्ष उनले लगानी जत्तिनै आम्दानी पनि गरे ।
तर, समय सधैं उस्तै चलेन । सहलगानी गरेर साथी पनि बीचमै बिरामी भएर व्यवसायबाट हात झिके । उनी एक्लिए । लगत्तै विश्वव्यापी महामारी कोरोना फलिएसँगै लकडाउन भयो । सबका सब घरभित्रै थुनिए । उनको व्यवसाय पनि ठप्प भयो ।
‘लकडाउनले सब्बै बन्द भयो । न बजारबाट माग आयो, न यता छरछिमेकबाट । बेच्न ठीक भएका च्याउ खाल्डो खनेर पटकपटक पुरें,’ आवाज अझ मलिन बनाउँदै भन्छन्, ‘बाबु पेटमा हुँदा पनि बुढाबुढी खुब खटियौं । तर, दोस्रो वर्षबाट त एकैचोटि खोलामा पुगियो । त्यसपछि माथि उठ्नै सकिनँ ।’
‘त्यसपछि सोचें, यहाँ केही नहुँदो रहेछ’
च्याउखेतीबाहेकको बचेको जग्गामा सुवेदीले व्यवसायिक तरकारी खेती पनि नगरेका होइनन् । तर, सोचजस्तो भएन । त्यसबाट उल्टै घाटा लाग्यो । ‘हामीले १० रुप्पे खर्च गरेर लगाएको तरकारी कहिले ५ रुप्पेमा, कहिले ६ रुप्पेमा बिक्री हुन्छ । त्यसको झनै ठेगान रहेन । बजारमामात्रै महंगो पर्ने रहेछ,’ उनले बजारको यथार्थ सुनाए ।
आफूहरुले ६० रुपैयाँ किलो व्यापारीलाई च्याउ बिक्री गरिरहेको तर, बजारमा पुग्दा करिब ३ सयको हाराहारीमा मूल्य पुग्ने सुवेदी सुनाउँछन् । भन्छन्, ‘लगानी बराबरको मूल्य पनि पाउन छाड्यौं । पोखरामा च्याउखेतीबाट ममात्रै होइन, १४ जना साथीहरु डुबेका छौं ।’
साउनमात्रै १० लाख रुपैयाँ बराबरको च्याउ फाले । वातावरण नमिलेका कारण जम्मै च्याउ बिग्रियो । एउटा बोटबाट एक पाउ पनि च्याउ उम्रिएन । ऋण बढेको बढ्यै गर्न थाल्यो । उल्टै गोजीबाट २ महिनाको भाडा तिर्नुपर्ने स्थिति आयो ।
त्यसपछि सुवेदीले नराम्रोसँग हार खाए र फेरि विदेश जाने सोचे । अझै पनि श्रीमति गाउँ फर्किएर बाख्रा पालौं भनिरहेको उनी सुनाउँछन् । तर, उनले अब पहिलेको ‘गल्ती’ दोहो¥याउने पक्षमा छैनन् ।
‘दिन, ग्रह बिग्रिएपछि केही नसोचिँदो रहेछ । सुरुमा यस्तो दिन आऊला भन्ने सोच्दै सोचिएन,’ उदास हुँदै भन्छन्, ‘ऋणैऋण भएपछि बुझें, यहाँ (नेपालमा) चाहेरमात्रै केही नुहुने रहेछ । यत्रो ऋण कसरी तिर्ने ? फेरि विदेश जाँदैछु । दाइले कतारबाट भिसा पठाइदिँदै छ ।’





