बागलुङ/ नेपाली कांग्रेसको चौधौं महाधिवेसनअन्र्तगत शनिबार बागलुङका १० वटै पालिकामा अधिवेसन हुँदैछ । केही पालिकामा निर्विरोध नेतृत्व चयन हुने संभावना छ । तर सदरमुकाम बागलुङ नगरपालिकासहितका नगरक्षेत्रमा भने चुनावी टक्कर हुने तयारी छ ।
सदरमुकामस्थित बागलुङ नगरपालिकामा संस्थापन पक्ष र इतरपक्षको दोहोरो प्रतिष्पर्धा हुने देखिएको हो । संस्थापनले कर्ण हमालको नेतृत्वमा प्यानल निर्माण गरेको छ । उनको सचिवमा मिलन केसी र उपाध्यक्षमा नारायण पौडेल छन् । संस्थापन इतरपक्षले उमाकान्त शर्मा बाबुलाई उठाएको छ । उनको उपसभापतिमा प्रदिप गौतम र सचिवमा कृष्ण शर्मा तथा आशिक राजभण्डारी अगाडि बढेका छन् ।
सभापतिका उमेदवार हमाल उद्योग बाणिज्य संघको सभापतिमा केही बर्षअघि बसन्तकुमार श्रेष्ठसँग पराजित भएका थिए । नेपाल तरुण दल बागलुङका अध्यक्ष शर्मा अहिले पनि संघको बरिष्ठ उपाध्यक्ष छन् । दुवैजना कांग्रेसको क्रियाशिलसँगै व्यवसायिक क्षेत्रमा लागेका व्यक्ति हुन् ।
पदाधिकारीका उम्मेदवारहरु युवा छन् । उनीहरुले पनि व्यवसायिक क्षेत्र समातेका छन् । ‘युवा भन्दैमा सबैले राजनीतिमा हाम्फाल्नु हुँदैन, पछि समस्या आउँछ’ पूर्व शिक्षक जगन्नाथ आचार्यले भने, ‘आर्थिक रुपमा सबल भएकोले मात्रै राजनीतिक क्षेत्रमा लाग्नुपर्छ ।’ राजनीति पेशा नभई सामाजिक सेवा भएको उनले बताए ।
गलकोट नगरपालिकामा पनि सभापतिका लागि वडा नंं ३ का अध्यक्ष बीरजंग भण्डारी र वडा नंं ५ का अध्यक्ष नारायणध्वज मल्ल अगाडि सरेका छन् । भण्डारी युवा हुन् भने मल्ल भारतीय सेनाका निवृत्त हुन् । विकास निर्माणको काममा चार बर्षमा धेरै सक्रियता देखाएको र हालको सचिव पदमा रहेर काम गरेकोले भण्डारीलाई एकाथरीले विश्वास गरेका छन् । मल्ल पुरानो भएकोले काममा मेहेनत गर्छन् भन्ने दाबी गर्ने पनि छन् ।
जैमिनी नगरपालिकामा भने हालका सभापति काशीराम आचार्य र प्रेम सपाकोटाले उम्मेदवारी घोषणा गरेका छन् । आचार्य हाल सभापति पदमै छन् । सापकोटाले पनि नगरपालिकामा केही गरेर देखाउने इच्छा राखेको बताए । ढोरपाटन नगरपालिकामा कल्याण कायत र दिपक अदै सभापतिको उमेदवारको रुपमा चिनिएका छन् ।
सैद्धान्तिक रुपमा कुन पक्षको भन्ने नभएपनि जिल्लाबाट कुन नेताले कसलाई च्याप्छन् भन्नेमा निर्वाचनको परिणाम आउने टिप्प्णी शुरु भएको छ । जिल्ला सभापतिमा दिपेन्द्र थापा, जगदिशचन्द्र उपाध्यक्ष, नवराज पौडेल, जगन्नाथ आचार्य र द्रोण कुँवरले प्रचार गरिरहेका छन् । तीमध्ये अन्तिम प्रतिष्पर्धा थापा र उपाध्यायबीच नै हुने आंकलनपछि नगर तथा गाउँपालिकाका सभापति उमेदवारले पनि उनीहरुको पक्ष लिने देखिएको हो ।
वडा अधिवेसनमा अधिकांस युवाहरु सभापति र क्षेत्रीय प्रतिनिधिमा आएका छन् । त्यसैले पालिका तहको अधिवेसनमा पनि उनीहरुको मत पर्दा युवा वा युवाको नेतृत्व गर्न सक्नेले पद पाउने संभावना रहेको बिद्यार्थी नेता हरिहर शर्मा बताउँछन् । ‘युवा भन्दैमा सबै आउनै पर्छ भन्ने पनि होइन, तर काममा युवा जोश पनि देखिनुपर्छ’ उनले भने, ‘काम गरेर पार्टीलाई एक ढिक्का बनाउने, निर्वाचनमा पहिलो शक्ती बनाउने काम गर्न सक्नेको नेतृत्व आवस्यक छ ।’
गाउँ तथा नगर अधिवेसनपछि क्षेत्रीय अधिवेसन हुनेछन् । उक्त अधिवेसनले महाधिवेसन प्रतिनिधि पनि छनौट गर्ने छ । संघ क्षेत्रबाट केन्द्रीय माहाधिवेसन र प्रदेश क्षेत्रबाट प्रदेश महाधिवेसनकालागि प्रतिनिधि छनौट हुनेछन् । संघियता पछिको पहिलो अधिवेसन भएकोले कांग्रेस कार्यकर्ता कुन तहमा बसेर कस्तो काम गर्न सकिन्छ भन्नेमा अन्यौल समेत छन् ।





