बागलुङ/ सेतो पुतलीको झुसबाट आँखामा संक्रमण हुने र आँखाको ज्योतीसमेत गुम्ने अवस्थाको सापुको जोखिम बढ्दै गएको छ । बागलुङमा पनि सापु संक्रमण गराउने सेतो पुतली प्रशस्तै देखिएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले बताए । उनका अनुसार बजारदेखि गाउँसम्म यस्तो पुतली देखिएका छन् ।
बागलुङमा त्यस्तो समस्या हुन सक्ने आंकलन पनि उनले गरेका छन् । कार्यालयका कोभिड फोकलपर्सन देवप्रकाश घिमिरेका अनुसार बागलुङ घर भई पोखरास्थित हिमालय आँखा अस्पतालमा ६ जना र बुटवलस्थित लुम्बिनी अस्पतालमा २ जना आँखामा संक्रमण भएर उपचारत छन् ।
उनीहरु सबै बागलुङमै संक्रमण भएर गएका हुन् वा उतै संक्रमित भए भन्ने यकीन नभएपनि जोखिम भने बढीरहेको घिमिरेले बताए । सेतो पुतलीको अण्डाबाट संक्रमण हुने ‘सापु’बाट उनीहरु पीडित भएको पुष्टि भएको हो ।
‘हामीले सबै पालिकाको स्वास्थ्य शाखाबाट बुझ्दैछौं,’ गुरौले भने, ‘बागलुङ बजारमा पनि संक्रामक पुतली भने देखिएका छन् ।’ बालबालिका र वयस्कले पनि ती पुतलीबाट बच्नुपर्ने उनले सुझाव दिए । प्राथमिक स्वासथ्य केन्द्र बुर्तिबाङका प्रमुख डा. मिलन मल्लले १÷२ जनामा संक्रमणको समस्या देखेर रेफर गरेको बताए ।
घिमिरेका अनुसार अंग्रेजी बिजोर वर्षमा यो संक्रमण देखिइरहेको छ । २ वर्षअघि सन् २०१९ मा पनि यो संक्रमणबाट बागलुङका २ जना पीडित भएको तथ्यांक भेटिएको घिमिरेले जानकारी दिए ।
‘यसको संक्रमणबाट बच्न साबधानी अपनाउनेबाहेक अन्य विकल्प छैन,’ उनले भने, ‘चर्को बत्ती नबाल्ने, बालेको स्थानमा नजिक नजाने, झ्यालमा जाली लगाउने काम गर्नुपर्छ ।’ पोखरामा भर्ना भएका बिरामीमध्ये ९ महिनाका बालबालिकादेखि ३४ वर्ष उमेरका भएको उनले बताए ।





