रोगको उचित निदान गर्न गलत आहारविहार र जीवनशैली भएकाहरूले प्राकृतिक जीवनशैली अपनाउन जरुरी छ । प्राकृतिक उपचार पद्धतिको मुख्य अंग भोजन व्यायाम र जीवनशैलीमा सुधार नै हो ।
बुझ्ने शब्दमा भन्नु पर्दा सजिलै दिशा गर्न नसक्नुलाई कब्जियत भनिन्छ । कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक समस्या हो । यो समस्या सामान्य लागेतापनि पायल्स जस्तो झन्झटिलो समस्या बल्झाउनमा प्रमुख भुमिका कब्जियतकै रहन्छ ।
विशेष रोग लागेको अवस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाईसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्याबाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली नै हो । भोजन, व्यायाम, विश्राम र भावानात्मक रूपमा असन्तुलित जीवन नै अप्राकृतिक जीवन हो । भोक लागेको बेला नखाने, भोकभन्दा ज्यादा खाने गरिन्छ (पचाउन गाह्रो हुने) भोजनहरू, तारेको भुटेको, पचाउन कठिन, जंकफूड र संरक्षित (साँधेको) खाद्यान्न प्रायःजसो खाइरहने, सागसब्जी सलाद जस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रबल सम्भावाना रहन्छ । व्यस्त र भागदौडले भरिएको, तनावपूर्ण जीवन जिउनेहरू, श्रमपछि विश्राम नगर्नेहरू, भय, चिन्ता, शोक र उदासीनताका कारणले पनि कब्जियत देखिएको छ । व्यायाम र श्रमबाट भाग्नेहरूलाई पनि कब्जियतले छाडेको छैनभने लामो समयसम्म विरेचक औषधी, पेनकिलर, नार्काटिक्स र दिमाग लठ्याउने औषधि खानेहरूमा कब्जियत ज्यादा देखिएको पाइन्छ ।
लक्षण
मल त्यागको प्राकृतिक आवृत्तिमा विलम्ब हुनु, मल त्याग गर्न बल लगाउनुपर्ने अवस्था आउनु, दिसा कोमल नभएर गोटा पर्नु, अपानवायु बढ्नु, पेट भारी हुनु वा दुख्नु, भोक नलाग्नु मुख बिग्रिनु, रिंगटा लाग्नु, तिघ्राको पछाडि पट्टिको मांशपेशी दुख्नु, टाउको दुख्नु छात्ती पोल्नु र थाकेको महसुस हुनु ।

लेखकः कृष्ण कुमार सैजु
जोखिम
कब्जियत कैयौं रोगहरूको कारण हो । पूर्वीय स्वास्थ्य विज्ञानमा कब्जियतलाई भयानक रोगहरूको जननी मानिएको छ । कब्जियत हुँदा लामो समयसम्म मल आन्द्रामा नै रही रहने भएकाले आन्द्राभित्रै मल सडेर कुपित भई इन्फेक्सन हुन पुग्छ । यसरी लामो समयसम्म आन्द्रामा मल रहिरहँदा आन्द्राभित्रै विषाक्त पदार्थ बन्न पुग्छ । यी विषात् पदार्थ आन्द्राबाटै अवशोषित भएर रगतको माध्यमबाट शरीरको विभिन्न अंगमा पुग्छन् । फलतः अंगहरूमा विषाक्त बढ्न गई महत्वूर्ण अंगहरूको कार्य क्षमतामा कमी आउँदा अनेक रोग देखिन सक्छ । पूर्वीय स्वास्थ्य विज्ञानहरूको मत अनुसार कब्जियतको कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्राइटिस, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्रोम, एसिडीटी, एपेन्डीसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चायापोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु जस्ता समस्या आउँछ ।
मानसिक समस्या
जस्तैः डर, चिन्ता, खिन्नता, उदासिनता, अनिद्रा, यौनशक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्यक्षमता गडबड हुनु, सर्दीले सताइरहनु, ज्वरो, खोकी बल्झिरहनु, मांसपेसी तथा नसा–नाडीहरु कमजोर हुनु, अन्तश्रावी ग्रन्थीहरुको कार्य सुचारु नभएर हार्मोनको मात्रा घटवड भइरहनु लगायत समस्या पनि आउँछ । कोलेस्टेरोल, युरिक एसिड आदि रगतमा हुने तत्वहरू घटबढ भइरहनु, रक्तअल्पताको समस्या देखापर्नु, महत्वपूर्ण अंगहरूको कार्यक्षमता घट्न जस्ता रोग देखिन सक्छ ।
भोजन
बिहानको नास्तामा तारेभुटेको, बट्टा र बोतलबद्ध खाद्य पदार्थ, मैदाका परिकारको सट्टामा ताजा फलफूल लिने बानी बसाल्नुपर्छ । मौसमअनुसारको फलफूल जस्तै मौसम, सुन्तला, नासपाती, खरबुजा, काँक्रो, आँप, सरिफा, बेल, बेलौती, मेवाका साथै अंकुरित मुंग, मेथीलगायत मौसमी तरकारी समावेश गर्ने । मुनन्का र छोगडालाई राती भिजाएर बिहान खाने गर्दा कब्जियत कम गर्न सहयोग गर्छ । ठोसभोजन दिनको दुईपल्ट मात्र लिने गरौं । बिहानको भोजनमा रातो चामल वा मकैको भात, गहुँ वा मकैको पिठोको रोटी, काउली बन्दा तोरी र बेथेको साग हुनुपर्छ । मास, खेसरीबाहेक बोक्रोसित पकाएको दालले पनि कब्जियतमा फाइदा पु¥याउँछ । बेलुकाको भोजनमा अन्नको सहभागीता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारीसँग ताजा मोही मात्र खादा कब्जियतमा राम्रो गर्छ । माछा, मासु अण्डा, घ्यू, पनिर, मख्खन र मैदाबाट बनेका वस्तु नखानु नै उच्चित हुन्छ । चीकु, केरा, स्याउ, अंगुर, लिची जस्ता फलले कब्जियतमा फाइदा गर्छ । आलु, पिँडालु, तरुल, सुठुनी भन्टा, चुकन्दर ओल, राजमा, सेतो चना, मास, भटमास जस्ता सब्जीतथा दालजन्य बेलुका नखानै उत्तम हुन्छ ।
उपचार
रोगावस्था भएकाहरूले रोगको उचित निदान गरेर रोग निमूल पार्नेतिर लाग्नुपर्छ । गलत आहारविहार र जीवनशैली भएकाहरूले प्राकृतिक जीवनशैली अपनाउन जरुरी छ । प्राकृतिक उपचार पद्धतिको मुख्य अंग भोजन व्यायाम र जीवनशैलीमा सुधार नै हो ।
व्यायाम
अंग व्यायाम, रिढव्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, सूर्यनमस्कार, योगआसन तथा प्राणायाम गर्दा कब्जियतमा अत्यन्त फाइदा पुग्छ । ताडासन, त्रीयकताडासन, पवनमुक्तासन, माण्डुक, मत्येन्द्र, भुजांग, उदारकर्स धनुरजस्ता आसनविधि, भस्त्रिका, अग्निसार, कपालभातीजस्ता श्वासन विधिले कब्जियत निवारणमा अचुक काम गर्छ । एनिमा, कुन्जल, लधु तथा गरु शंखप्रक्षालन (आन्द्राको सफाइ), पेटको मालिस, माटोको पेडुँपट्टि, कटिस्नान र गणेशक्रिया जस्ता प्राकृतिक उपचार विधि पनि कब्जियत भएकाहरूले अपनाउनु पर्ने हुन्छ ।
अपनाउनै पर्ने सावधानी
राती चाँडै सुत्ने, बिहान ब्रम्ह मुहर्त (घाम झुल्किनु भन्दा ९६ मिनेट अगाडिदेखि घाम झुल्किँदासम्मको समय)भित्र उठिसक्ने । उठ्ने बित्तिकै १ लिटरजति मनतातो पानी पिउने बानीले कब्जियत नियन्त्रणमा सहयोग पु¥याउँछ ।
दैनिक आधा घण्टाको व्यायामलाई जीवनशैलीको अभिन्न अंग बनाऔँ । अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, मर्निगं वाल्क जस्ता क्रियाकलापले शरीर तथा पाचन प्रणालीलाई मजबुत राख्न सहयोग पु¥याउँछ ।
भोजनको समय निश्चित गरी उही समयमा मात्र भोजन गर्ने गरौँ । रातीको भोजन सकभर सूर्यास्त आसपासको समयमा होस् । भोजनलगत्तै सुत्ने बानी कब्जियतको मुख्य कारणमध्ये एक हो । भोजन गर्दा चपाइचपाइ खाने गरौ, भोजनको समयमा कुराकानी गर्ने, उठीउठी वा टिभी, कम्प्युटर अथवा मोबाइलमा व्यस्त रहेर भोजन गर्नेहरूमा कब्जियत ज्यादा पाइएको छ ।
खानामा मौसमी तथा स्थानीय (लोकल) अन्न तथा सागसब्जीको विशेष समायोजन होस् । सागसब्जी, सलाद तथा रेसादार फलफूलको समायोजनले कब्जियत नियन्त्रण गर्न सहयोग गर्छ ।
मल त्यागको समयमा मनलाई पूर्ण रूपमा मल त्याग गर्नमा नै लगाऔं । शौचालयमा बसेर अखबार पढ्ने, गीतसंगीत सुन्ने तथा अन्य विषय सोच्ने गर्दा मस्तिष्कले मल त्याग सम्बन्धी सूचना सम्बन्धित अंगहरूलाई दिने बिलम्ब गर्ने हुँदा कब्जियत हुने सम्भावना रहन्छ ।
आर्युबेदिक उपचार विधी
त्रिफला चुर्ण दुई चम्चा हल्का तातो पानीमा घोले नियमित रुपले राती सुत्नुअघि सेवन गर्नुपर्छ । मनतातो दुध वा पानीमा हर्रा–बर्रा र अमलाको समान मात्रामा तयार गरिएको चूर्ण राती सुत्नुअघि सेवन गर्नुपर्छ । कब्जियतको उपचारमा किसमिस एकदमै उपयोगी मानिन्छ । आठ वटा जति किसमिस तातो दुधमा उमालेर नियमित सेवन गर्नुपर्छ । पेटको रोगमा एकदमै उपयोगी हुन्छ, मेवा । स्याउ र अंगुरको सेवनबाट पनि कब्जियतको समस्याबाट मुक्त हुन सकिन्छ । अमलाको चूर्णले कब्जियतको समस्याबाट मुक्ती दिन्छ । गोलभेडा सेवन गर्दा कब्जियत ठीक हुन्छ । तामाको भाँडामा राखिएको पानीमा थोरै नुन हाल्ने र बिहान खाली पेटमा पिउने गर्नुपर्छ ।





