बागलुङ- चौधौ महाधिवेसनको संघारमा जुटेको कांग्रेसले जिल्लाका चार पालिकामा निर्विरोध र ६ पालिकामा निर्वाचनबाट नेतृत्व चयन गर्दैछ ।
शनिबारदेखि शुरु भएको अधिवेसनमा ताराखोला, निसीखोला, तमानखोला र काठेखोला गाउँपालिकामा निर्विरोध निर्वाचन सम्पन्न गरेको हो । नेतृत्व चयन भएकामध्ये ढोरपाटन नगरपालिकामा धनबहादुर कायत ‘कल्याण’ निर्वाचित भएका हुन् । उनले पिदक अदैलाई पराजित गरेर निर्वाचित भएका थिए । कुल खसेको १ सय ४४ मतमा कायतले ८६ र अदैले ५२ मत पाएका थिए ।
उपसभापतिमा कृष्ण केसी र रमेश गौतम, बिजयी भएका छन् । सचिवमा टिकाराम पाण्डे र दिपन्द्र बिक निर्वाचित भएका छन् । यसैगरी ताराखोला गाउँपालिकामा कमलापति पाठक, निसीखोला गाउँपालिकामा सूर्यबहादुर घर्ती, तमानखोला गाउँपालिकामा लीलाबहादुर छन्त्याल र काठेखोला गाउँपालिकामा यामदत्त कंडेल सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको कार्यसमिति पनि चयन भैसकेको छ ।
आइतबार बागलुङसहित गलकोट र जैमिनी नगरपालिकामा निर्वाचन भैरहेको निर्वाचन अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए । बडिगाड र बरेङमा पनि सहमति मार्फत नेतृत्व चयनकालागि अझै प्रयास भैरहेको बताइएको छ ।





