ताङतिङका महिलाहरु उद्यमी बनेका छन् । होमस्टे चलाउँछन् । फूल रोपेका छन् । पोखरा लगेर एउटा माला पचास रुपियाँमा बेच्न थालेका छन् । उनीहरु भाङ्ग्रा, राडी अनि बख्खु पनि बुन्छन् । पुरुषहरु सेखु, डोको, थुन्से बेचेर पनि पैसा कमाउँछन् ।
पोखराबाट नजिकको सुन्दर गाउँको छान्दा प्रायः को रोजाइमा पर्ने गाउँ हो– ताङतिङ । हुन पनि हो, गाउँले रहनसहन, जनजीवन बुझ्न र प्राकृतिक सुन्दरतामा रमाउन यो गाउँ आँखीझ्याल मान्न सकिन्छ । यसपटक गुरुङ जातिको बाहुल्यता रहेको यस ठाउँ पुग्ने योजना बन्यो । त्यो पनि साइकलमा ।
बर्खा केही थामिएको थियो । छ्याङ्ग खुलेको आकाश अनि सँगै खुलेका थिए, हिमालहरु । हेर्दै लोभलाग्दा ! मन पनि सँगै खुलेको थियो । यात्रा थियो –करिब २५ किलोमिटरको । कस्सिएर पाउदानी चलाए साइकलमा ६÷७ घण्टाको यात्रा । तर, बर्खाले गाउँ पु¥याउने बाटो ध्वस्त पारेको थियो । खाल्डाखुल्डी अनि गेग्रान नै गेग्रान । भन्छन् नि ‘फलामको चिउरा चपाउनु ।’ हो, त्यस्तै भएको थियो ।
कोभिडले करिब दुई वर्ष थलिएको नेपालको पर्यटन । सँगै ठप्प थियो,ताङतिङको पनि । ताङतिङ ग्रामीण पर्यटन अर्थात् होमस्टे पर्यटनमा सुनौलो अक्षर लेखाउन सफल गाउँ । आन्तरिकसँगै बाह्य पर्यटकको पनि राम्रै ‘फ्लो’ थियो पहिला । कोरोना कहरले दुई वर्ष ठप्पै रह्यो । गाउँमा पर्यटकलाई प्रवेश खुला गरेको केही समयमात्र भएको थियो ।
अबेर साँझ मात्र साइकलले गाउँ पु¥यायो । गाउँ पुग्नु अगावै बाटैमा केटाकेटीहरु साइकलपछि पछ्याउन थाले ।‘ओइ गियरवाला साइकल, हेर्न आइजा त।’ एकैछिनमा नै एक हुल बाँधिए । म आउने पूर्व खबर पाएर होला एकजनाले त रोडैमा फूलमालाले मलाई स्वागत गरे । उनीहरुको न्यानो स्वागतले एक पलमै हराएजस्तै भो दिनभरको थकान, भोक अनि प्यास ।
चिटिक्क मिलेको ढुंगे सिँढी, ढुंगैको गारो । उस्तै सफा अनि चिटिक्क परेको बाटो । कुहिने र नकुहिने फोहोरलाई जम्मा गर्ने छुट्टै डस्टबिन राखिएका छन्,ठाउँठाउँमा । ‘ताङतिङ गाउँमा स्वागत छ’ लेखिएको ठुलो बोर्ड मुस्कुराइरहेको थियो –स्वागत द्धारमा ।
आखाँले देखुन्जेल घरैघर । मेरो आजको बास अर्थात् होमस्टेसम्म साइकल ठेल्न तँछाडमछाड थिए, केटाकेटीहरु । सगैँ दुई चार सेल्फी खिच्यौँ । केही चकलेट दिएपछि उनीहरु आ–आफ्नो घर लागें । होमस्टे अध्यक्ष पसमाया गुरुङले अबिर अनि मालाले स्वागत गरिन् । त्यस दिनको बास उनकै घरमा ।
झम्के साँझ । अन्नपूर्ण र लमजुङ हिमालसगैँ पारि गुचुमुुच्च परेको सिक्लेस गाउँ उस्तै लोभलाग्दो देखिन्थ्यो । साइकल अनि झोला बिसाउन नपाउदैँ खाजा तयार भयो । भुटेको मकै अनि तातो चिया । साँझसगैँ चिसिएको आङ नै तातो बनेर आयो ।
ताङतिङ (१६८५ मिटर) गाउँ । करिब दुई सय घर धुरी झुरुप्प भएको सुन्दर गाउँ । मादी जलविद्युतले गाउँ झलमल्ल थियो । अनि उस्तै उज्याला र फरासिला थिए–ताङ्तिङेहरु । केही समयअघि गाउँसम्म बाटो पुगेपछि गाउँले जीवन फेरिएको छ । बसमा काहुँखोलाबाट तीन घण्टाको यात्रा । बिहान ८, दिउसो १२ अनि साँझ ४ बजे बसहरु पाइँदा रहेछन् । पहिला पोखरा, चितवन र काठमाडौंबाट पर्यटनकहरु खुबै आउँथे । दुई वर्ष त ठप्पै भयो पर्यटन । बल्ल बिस्तारै फेरि जुर्मुराउँदै छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यस गाउँ घुम्न विदेशी पाहुनाहरुको पनि बाक्लै ओइरो लागेको थियो ।
धार्मिक, सांस्कृतिक अनि प्राकृतिक रुपले सम्पन्न छ, ताङतिङ गाउँ । स्याङजाको सिरुबारीबाट वि.सं. २०५४ सुरुवात भएको ग्रामीण पर्यटन अर्थात् होमस्टे यहाँ चाहिँ वि.सं. २०६७ सालबाट सञ्चालनमा आयो । यो सँगै गाउँको पर्यटन पनि फस्टायो । अहिले गाउँमा सोह्रवटा होमस्टेहरु सञ्चालनमा छन् । थप चारवटा होटलहरुले पनि पाहुनाहरुलाई खाना बस्नको सुविधा दिइरहेका छन् । होम्स्टेमा हरेक दिनमा करिब सत्तरी÷असीको हारहारीमा पाहुनाहरुलाई खाना बस्नको व्यवस्था हुन्छ । सबैलाई आर्थिक रुपले टेवा पुगोस् भन्ने हेतुले पालैपालो पाहुना राख्ने नियम बनाइएको छ ।
गाउँको अर्गानिक खाना, सिजन अनुहारको सागसब्जी, लोकल कुखुरा अनि उस्तै आतिथ्यता, विशेष लाग्छन् पाहुनालाई । त्यसैले त फर्कीफर्की आउँछन्, पाहुनाहरु । गाउँको लोकल रक्सी (नारे पा) पनि पाहुनाहरुले चाख्न पाउँछन् । त्यस रात मैले भने ढिडो पकाउन लगाएँ । लोकल कुखुराको झोल अनि कोदाको ढिंडो, उस्तै स्वादिलो । आफ्नै घर पुगेको आभाष भएको थियो ।
गाउँलेहरु पौरख गर्छन् । मिहिनेती छन् । आफ्नै पाखुरा चलाउँछन् । खेती किसानी गर्छन् । बेसीमा कोदो, धान, आलु अनि तोरी फलाउँछन् । घर छेवैमा भने सिजन अनुसारको तरकारी र फलफूल पनि उब्जाउँछन् । धेरै ब्रिटिस अनि इन्डियन लाहुरे । आजकल भने महिलाहरु बढी उद्यमी देखिन्छन् । विभिन्न समूहमा विभाजित उनीहरु गाउँमै फूलको बगैँचा बनाएका छन् । पाहुना स्वागत अनि सत्कारमा मात्र फूलको प्रयोग नगरी प्रति माला पचास रुपियाँमा पोखरामा लगेर फूल बेच्छन् । महिलाहरु भाङ्ग्रा, राडी अनि बख्खु पनि बुन्छन् । पुरुषहरु सेखु, डोको, थुन्से बेचेर पनि पैसा कमाउँछन् ।
साँझपख आमा समूहका आमाहरु गुरुङ पोसाकमा तयार हुन्छन् । सांस्कृतिक कार्यक्रममा पाहुनाहरु धीतमरुन्जेल नाच्छन् । गाउँको स्थानीय भाका अनि गीतहरु गुञ्जन्छन्–रातभर । रात छिपेपछि मात्र आफ्ना बिस्तार लाग्छन्,पाहुनाहरु ।
गाउँबाट दुई दिनमा पुगिने क्होलासोँथर गुरुङ जातिहरुको उद्गम स्थल मानिन्छ । यहीँबाट पछि गुरुङ जाति कास्की, स्याङ्जा, तनहु हुदैँ देशभर फैलिएको भन्ने बुझिन्छ । त्यसैले यहीँ गाउँ हुँदै क्होलासोँथर, दूधपोखरी, कोरी र कपुचे ताल पदयात्रामा निस्कने टोलीहरु बाटामा भेटिन्छन् ।
गाउँको पुछारमा दुईतले गुम्बा पनि छ । नौँचु पैगी लामा महायान बौद्ध गुम्बा । त्यहाँ गौतम बुद्ध, गुरु पद्यसंभव र आर्य अवलोकितेश्वरका मूर्ति छन् । पर्यटकहरु त्यहाँ पूजापाठ गर्न, बत्ती बाल्न र ध्यानमा बस्न सक्छन् ।
गाउँको सिरानमा गुरुङहरुको कोइबा धिँ पनि छ । गुरुङ जातिहरु आफ्नो जन्म मृत्यु र अन्य विशेष कार्यहरु त्यहीँ गर्छन् । त्यसैमा टासिँएर तयार पारिएको हुन्छ, सिजन अनुुसारको आकर्षक फूलको बगँैचा । गाउँबाट आधा घण्टा उकालो लागे नौजुडाँडा भ्यू प्वाइन्ट पुगिन्छ । बिहान पर्यटनहरु त्यहाँबाट हिमाल अनि गाउँ हेर्दा मन्त्रमुग्ध हुन्छन् ।
एक दिनको बास गरेर गाउँ मज्जाले डुल्न सकिन्छ । गाउँको रीतिरिवाज, धर्म संस्कृति बुझ्न चाहने पर्यटकहरु दुई–चार दिन यहीँ रमाउँछन् । यहाँबाट पर्यटकहरु हिडेरै सिक्लेस, याङ्जाकोट, मनाङसमेत पुग्छन् । गाउँको नजिकैको भीरमा भीरमौरी काढेको डकुमेन्ट्री बनाउन हरेक साल विदेशीहरु आउछन् । गाउँको एक मात्र भिरमौरी का्ढ्ने नाइके अब आउने युवा पुस्ताले पनि सिकून् भन्ने चाहन्छन् ।
हरेक साल चैतेदसैँ अनि ल्होसार मेलामा नजिकका गाउँहरुलगायत पोखराबाट पनि मेला हेर्न मानिसहरुको घुइँचो लाग्दो रहेछ । होमस्टे अध्यक्ष पसमाया गुरुङ अझै धेरै आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन अर्गानिक खाना अनि स्थानीय नृत्यहरुमा जोड दिन्छिन् । बर्खा याममा पनि गाउँसम्म गाडी चलाउन सकिए अझ धेरै पर्यटकहरु भित्रिन्छन् भन्नेमा दुई मत छैन । अब होमस्टे समितिले सम्पूर्ण कोभिडका सुरक्षाका मापदण्डहरु अपनाएर पर्यटनलाई ब्यूँताउन जरुरत देखिन्छ ।
साच्चै नै गाउँ सम्मै पक्की बाटो, विदेश र शहर पलायन न्यूनीकरणका साथै अर्गानिक खाना सँगै पाहुनाहरुलाई घाँटु र सोरठीजस्ता स्थानीय नृत्यहरु पस्काउन सकिए आगामी वर्षहरुमा पर्यटकहरु फर्की फर्की नआउलान् भन्न सकिँदैन । यसका लागि स्थानीय निकाय, अन्नपूर्ण संरक्षण क्षेत्रलगायत गाउँलेहरुको समयमै ध्यान पु¥याउने पो हो कि ?
अर्को दिन बिहानै गाउँ एक फन्को मारेँ । सुनेको र पढेकोभन्दा पनि सुन्दर लाग्यो–ताङतिङ गाउँ । गाउँ अनि गाउँले परिवेशलाई नजिकबाट नियालँे र धीत मरुन्जेल क्यामरामा कैद गरँे । बिदाईका लागि फूलमालासहित गुरुङ पोसाकमै सझिएका थिए,आमा टोली । ‘फेरि आउदैँ गर्नुस् ल’ भनेर टोलीले बिदाईका हातहरु हल्लाए । अनि म लागें पोखरातिर । मनमा भने ताङतिङको धीत अझै मरेको थिएन ।





