बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राष्ट्रियता र गणतन्त्र नै धरापमा प-यो : राजमो अध्यक्ष केसी

राष्ट्रियता र गणतन्त्र नै धरापमा प-यो : राजमो अध्यक्ष केसी


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७८, शुक्रबार

बागलुङ/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता र गणतन्त्र धरापमा परेको बताएका छन् । राजनीतिक दलहरुको प्रवृत्ति नसुध्रिएका कारण देशले संकट व्यहोर्नु परेको उनको भनाई थियो ।

अहिले देशमा प्रतिगमनको आवाज उठिरहेको उनले बताए । नेपालका ठुला राजनीतिक दलहरुले राजनीतिलाई व्यापार बनाएको आरोप लगाउँदै केसीले व्यवस्था परिवर्तन भएपनि दलहरुको प्रवृत्ति नसुध्रिएको जिकिर गरे ।
शुक्रबार प्रगतिशिल पत्रकार संघ बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केसीले दलहरुका कमजोरीमाथी देशीविदेशका शक्तिहरु खेलिरहेको आरोप लगाए । ‘एमसिसि हेरौं न कति ठुलो विवाद सिर्जना भैरहेको छ, यो विदेशी हस्तक्षेप र दलहरुका कमजोरी माथी खेल्ने बाटो हो’ केसीले भने ‘दलहरुका रिसले राजतन्त्र मागिरहेका छन्, हामीले कत्रो बलिदानीले ल्याएको गणतन्त्रमा कसरी धावा बोलिँदैछ ।’
केसीले दलहरु सत्ता बाहिर रहँदा राष्ट्रियता र गणतन्त्रको पहरेदार बन्ने र सत्तामा पुगेपछि आँफु र आफ्नाहरुमा केन्द्रित हुँदा अहिलेको अबस्था आएको बताए ।

‘राष्ट्रिय जनमोर्चाले राजनीतिक शत्रु शक्तिलाई बोक्यो भनिएको छ, मित्र मानिएका शक्ति प्रतिगमनमा लागे त के गर्नु’ केसीले भने ‘देशमा हिजो व्यवस्था परिवर्तनका खातिर विपी र गणेशमानले पनि सहकार्य गर्नुभएको थियो, त्यो सहकार्य बिटुलो नहुने अहिले बिटुलो हुने ?’

अहिलेको सरकार परमादेशको सरकार भनेर आलोचना हुने गरेकोप्रति संकेत गर्दै उनले संवैधानिक व्यवस्था अनुसारनै अहिलेको सरकार बनेको बताए । ‘पहिलेका संविधानमा नभएको हामीले अहिलेको संविधानमा व्यवस्था गरेका छौं, संबिधानको धारा ७६ (५), यो उपधाराले संसद भित्रबाट एक जना व्यक्तिले प्रधानमन्त्रीमा दाबी गर्न पाउने व्यवस्था छ’ उनले भने ‘बहुमतसहितको दावी लिएर जाँदा राष्ट्रपतिले मान्नु भएन त के गर्नु, कानुनी बाटो रोजियो ।’
केसीले सरकारले स्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था गरेकोमा बिरोध गरे । कालोधन लगानी गर्न नपाईने भन्दै केसीले स्रोत नखुलेको धनलाई कारवाही हुनुपर्ने बताए । सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेशको केसीले बचाउ गरे । ‘अड्को–पड्को तेलको धुप भन्छन् नी हो त्यहिं भएको हो’ उनले भने ‘सरकारले ल्याएको अध्यादेश बाध्यताको उपज हो ।’ अहिलेको पाँच दलिय गठबन्धन परिस्थितीको उपज भएको भन्दै उनले गठबन्धन टिक्ने वा टुक्रिने परिस्थितीले नै निर्धारण गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->