महिना दिन लाग्ने अन्नपूर्ण पदयात्रा मार्ग खुम्चिएर हप्ता दिनमा सीमित भएको छ । बेर छैन, कुनै दिन ट्राभल एजेन्सीले ‘अन्नपूर्ण फेरो पजेरोमा’ भनेर विज्ञापन बजाउन !
टी सपहरुमा भोटे ताल्चा लागेको वर्षौं भइसक्यो । सडक उक्लिएसँगै यहाँको पर्यटन सुक्यो । मोदी सुसाउँछन् नि नाइँ, मान्छेहरुले बिर्सिसके किनकि गाडीले छिनभरमै घान्दु्रक पु¥याइहाल्छ ।
हेर्दा राम्रो घान्दु्रके गाउँ छ,
बस्ने भए मायालु दिलमा ठाउँ छ…
घान्दु्रक पुग्नु अगावै तिलकबम मल्लको स्वरमा रहेको यो गीत सबैको मनमनै गुञ्जिन्छ । तर, अहिले घान्दु्रक नियालेको भएमल्ल निराशा हुन्थे होलान् । गीतले न्याय पाउने थिएन कि ?समय फेरियो, सँगै फेरियो घान्दु्रकको रुप । विकास उक्लियो, सँगै विकासको नाममा विनाश पनि ।
घान्दु्रकमा मौलिकता खोज्नेहरु त्यहाँ पुग्दा निराशा बन्न सक्छन् । ढुंगेनी गाउँको उपमा पाएको घान्दु्रकले के आफ्नो अस्तित्व अझै जीवन्त पार्न सकिरहेको छ त ?आधुनिकताको नाममा मौलिकता कतिको संरक्षित छ त ?हरेक पल्ट घान्दु्रक पुग्दा यी यावत प्रश्नका मनमनै गम्न थाल्छु । अनि भेट्छु त केवल निराशा अनि खिन्नता ।
घान्दु्रक । नेपालकै एक ग्रामीण पर्यटकीय गन्तव्य । ‘नेपाल चियाउनु छ भने जीवनमा एकपल्ट घान्दु्रक पुग्नैपर्छ,’ उहिलेका बूढापाकाहरुले घान्दु्रकको प्रशंसा गर्दै यस्तो भन्थे । हुन पनि घान्दु्रकको आँगनबाटै देखिने लोभलाग्दो हिमचुली र अन्नपूर्ण साउथ जति हेरेपनि कहाँ धीत मर्छ र ? ढुंगेनी गाउँ अनि पृष्ठभूमिमा हिमाल, यहीँ फोटो नै काफी थियाmेसंसारको मन जित्न । त्यसैले त सात समुद्र पारिका अन्जान मानिसहरु समेत घान्दु्रक भनेर मरिहत्ते गर्थे । एक पटक हैन, पटकपटक यहीँ रमाउन आउनेहरुको लिस्ट लामै हुन्थ्यो ।
पहिला पर्यटक उक्लन्थे हिमालतिर, अहिले पर्यटकभन्दा पहिला सडक उक्लिरहेका छन्,हतारमा । घान्दु्रक गाउँको पृष्ठभूमिमा डाँडाकाडासहितको हिमालको फोटो अब कहाँ खिच्न पाइन्छ र ? अहिले पहाड खोस्रेर बनेको सडकले डाँडा उजाड देखिन्छ । अनि, खल्लो अनुभूति दिलाउँछ पर्यटकलाई । विकास उक्लेको भन्छन् नि मान्छेहरु । यहीँ होला क्यार ! हुन पनि नेपालीका लागि विकास भनेकै घरघरमा पुग्ने डोजरले खनेको बाटो न हो ।
सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोग र उनको टोली अन्नपूर्ण प्रथमको आरोहण गरेका थिए । यसपछि न हो, अन्नपूर्ण क्षेत्र संसारले चिनेको । सारा विश्वले चियाएको । यसको करिब डेढ दशकपछि सन् १९६६ मा विश्वप्रसिद्ध पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेका थिए । अनि त पदयात्रीहरुको लामै लर्को नै लाग्यो,आधार शिविरसम्म । विश्वका हरेक कुनाबाट यो अनकन्टार भँेडी गोठतिर सबैको ध्यान खिचियो । एकपल्ट हैन, दोहो¥याइ, तेह¥याइ आउनेहरु धेरै छन् ।
अन्नपूर्ण पदयात्रा । कुनै बेला विश्वकै नामी पदयात्रा थियो यो । जीवनमा पुग्नै पर्ने लिस्टमा राख्थे विदेशीहरु । एकफेरो अन्नपूर्णलाई फन्को मार्न महिना दिनको क्याम्पिङ ट्रेक गर्नुपथ्र्यो । अहिले त महिनौैँ दिनबाटखुम्चिएर हप्ता दिनमा सीमितभएको छ । बेर छैन, कुनै दिन ट्राभल एजेन्सीले ‘अन्नपूर्ण फेरो पजेरोमा’ भनेर विज्ञापन बजाउने । जहाँ जहाँ पदयात्रीहरु पुगे, त्यहाँ त्यहाँ सडक पुगेका छन् अहिले । पदयात्रीले पर्यटन उकास्यो, सडकले पर्यटन नमज्जाले खस्कायो । डोजर आतंकले हैरान छ जहीँतहीँ । युवाहरु विदेश भासिँदै छन् । पदमार्गहरु मासिँदै छन् । स–साना गोरेटो अनि घोडेटोहरु फराकिला सडक बने । तरसँगै साँधुरियो घुम्नेहरुको मन पनि । गाडीको धुँवा अनि धुलो खादै पदयात्रा गर्नुको के मज्जा ?
कुरा गरौं, अन्नपूर्ण सेन्चुरी कै । काँडे, लान्दु्रक, घान्दु्रक हुँदै आधार शिविरसम्म दुई हप्ताको क्याम्पिक टे«क हुन्थ्यो– एक दशक अघिसम्म । यता नयाँपुलबाट सुरु हुने पदयात्रा बिरेठाटी हुँदै घान्दु्रकमा पहिलो दिनको थकान मारिन्थ्यो । लोभलाग्दा धानका फाँटहरु, अनि मोदीको चिसो सिरेटो, आँतै हर्ने खालको थियो । अनि बाटामा भेटिन्थे हँसिला गाउँलेहरु ।गफ मार्दै बाटो काटेको पत्तै हुन्थेन । खुलेर बोल्थे गाउँलेहरु हिमालझैं ।
यता ढुंगाले छापेका चिटिक्क परेका सिढींहरु उस्तै बिछट्टै लोभलाग्दा हुन्थे । पसिना चुहाउँदै हिमचुली नियाल्दै घान्दु्रक पुग्नुको आनन्दै बेग्लै हुन्थ्यो । भन्छन् नि स्वर्गीय आनन्द, हो त्यस्तै । तर आजकल सुनसान छन् ती पर्यटकलाई गन्तव्य पु¥याउने सिँढीहरु । झारपातहरुले अधिपत्य जमाइसकेको छ बाटाघाटामा । अनि सुनसान छन् गाउँघर । प्रायःटी सपहरुमा भोटे ताल्चा लागेको वर्षौं भइसक्यो । सडक उक्लिएसँगै यहाँको पर्यटन सुक्यो । मोदी सुसाउँछन् नि नाइँ, मान्छेहरुले बिर्सिसके किनकि गाडीले छिनभरमै घान्दु्रक पु¥याइहाल्छ ।
खच्चर र घोडाको लाम आजकल गाडीले विस्तापित गरिदिएको छ । गाडीको कर्कस आवाज अगाडि मोदीको सुसेली दबिएको आभाष हुन्छ । बोल्दो हो त, कति गुनासोँ पोख्दो हो, मोदीले । तर फुर्सद कसलाई पो छ र ? सबैलाई हतार छ, दुई घण्टा मै घान्दु्रक पुग्न । उस्तै परे, त्यही दिन पोखरा फर्कन ।
दिनभरको हिडाइपछि घान्दु्रक पुग्दा झोलासँगै थकान बिसाउँदा बिछट्टै आनन्द मिल्थ्यो । अनि थकान बिर्साउने रोदीनाँच । अहिले न रोदी छ न त घाँटु नाँच नै । यताघरघरमा भेटिने गुरुङ संस्कृति अनि परम्परा झल्कने सामानहरुखुम्चिएर संग्रहालयमा सीमित छ । सडक उक्लियो, सडकसँगै बोराको चामल अनि बोइलर कुखुरासँगै उक्लिए गाउँमा । न अर्गानिक स्वाद बाँकी रह्यो न अर्गानिक स्वागत नै ! विदेशी ओइरिएपछि नेपालीलाई के गन्दा हुन् ? कोठा छैनन् नेपालीका लागि, अन्तै होटल जानुस्, यहीँ नै हो धेरैले भोगेको तीतो यर्थाथ ।
हरेक वर्ष सडक विस्तार हिमालतिर लम्किदै छ । छिट्टै छोम्रोङ पुग्नेछ सडक । अनि त अर्को दशकमा आधार शिविरसम्म सडक नपुग्ला भन्न सकिँदैन । विकासका पूर्वाधारहरु हरेक कुनाकन्दरा पु¥याउनुपर्छ । सडक पु¥याउनुपर्छ अनि बिजुली र बत्ती पनि । तर, विकासका नाममा विनाश गर्न पनि त भएन नि । जुन जगमा उभिएर यस क्षेत्रमा आर्थिक प्रगतिहरु भित्रिए, आज त्यसैलाई लत्याएर भावी सपनाहरु बुन्दै छन् । ढुंगाले छापेका पदमार्गका छपनीहरु उप्काइए, चौतारा र कुवाहरुको नाम निशानै मेटाइदिए । विदेशीहरु सुसेल्दै उक्लने उकालाहरुमा अहिले मेसिन गुड्दै छन् । कहाँको उहिलेको घोडा र खच्चरको घाँटीको घण्टी सुमधुर धुन अनि कहाँ अहिले गाडीको कर्कस आवाज । यसरी त यहाँको पर्यटनको भविष्य त्यति लामो देखिदैन ।
यसरी नै पिरोलिएको छ घोरेपानी पुनहिल पदमार्ग पनि । पहिला नयाँपुल, तिखेढुंगा हुदैँ उल्लेरीमा बास बस्थे पर्यटकहरु । आजकल उल्लेरी मास्तिर नै डोजरले बाटो पु¥याइसकेको छ । छिट्टै घोरेपानीमा गुड्नेछ मोटर । यसरी पर्यटकको बसाइँ छोटिदै गएको छ । नेपालको पदयात्रा पर्यटनको भविष्यसँगै खुम्चिएको छ ।
यी त कास्की जिल्लाका नामी पदमार्गका कुरा । यस्तै समस्या मनास्लु, डोल्पा, खप्तडलगायत नेपालका नामी पदमार्गहरुमा विस्तारै सल्किदै गएको छ । समयमै यसलाई नियन्त्रण गर्न नसके नेपालको पर्यटनको भविष्य अन्धकार बन्न सक्छ ।
त्यसैले समयमै वैकल्पिक पदमार्गहरु खोजिनुपर्छ । सडक गाउँगाउँ पुग्नुपर्छ तर पदमार्गलाई विनाश पु¥याउनु हुँदैन । एक्याप र स्थानीय सरकारको समयमै ध्यान जाओस् । नत्र त यहाँको भविष्यको पर्यटन अन्धकार बन्न सक्छ । सबैलाई चेतना भया !





