नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैँ नजिकिँदै गर्दा कास्की जिल्लामा चोरीलगायतका घटना बढ्न थालेका छन् । चाडवाडको समयमा नेपाल प्रहरीले के कस्तो सुरक्षा योजना बनाएको छ ? प्रहरी संगठन हाल के गरिहेको छ भन्नेबारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुवास हमालसँग हाम्रा सहकर्मी विजय नेपालीले लामो कुराकानी गरेका छन् । प्रस्तुत छ– कुराकानीको सम्पादित अंश ( सम्पादक)
– प्रहरीले चाडपर्व लक्षित योजना ल्याइसकेको छ । प्रहरी अरु बेलाभन्दा चाडबाडमा झन सक्रिय छ ।
–सकेसम्म घटना नहोस भन्ने नै हो तर भइहालेमा अनुसन्धानसँगै संलग्न व्यक्तिहरु कानुनको दायरामा ल्याइन्छ ।
–चाडबाडमा घर खाली छाडेर हिँड्दा चोरीका घटना बढ्न सक्छन् ।
–१०० मा फोन गर्दा प्रहरीकोमा लाग्छ । १०४ मा फोन गर्दा चाहिँ ट्राफिक प्रहरीको हो ।
–दशैंको बेला विभिन्न बहानामा चन्दा उठाउनेलाई पक्राउ गरिन्छ ।
–कास्कीमा लागूऔषध ठूलो समस्याको रुपमा देखिएको छ ।
नेपाली हिन्दुहरुको महान चाड दशैँ नजिकिदै छ । कास्कीमा सुरक्षा रणनीति कस्तो छ ?
जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष गरी चाडपर्व लक्षित योजना २०७८ बनाएर लागु गरिसकेको अवस्था छ । चाडपर्वको बेलामा हुन सक्ने विभिन्न किसिममा घटनाहरु जस्तै चोरी,डकैति,लुटपाट,हत्या, झैझगडा तथा ठूलो ग्याङ फाइटसमेत हुनसक्ने भएकाले त्यस्तो अवस्थाहरुलाई मध्यनजर गर्दै आफूसँग मौजुद जनशक्ति र तालुक गण्डकी प्रदेश प्रहरी कार्यालयसमेत गरेर थप मद्धतसहित सुरक्षा योजना लागु गरिएको छ ।
कस्ता किसिमका सुरक्षा योजना बनेका छन् र कहाँ–कहाँ लागु भएका छन् ?
विशेष गरी कास्कीको मुख्य मुख्य ९ वटा चोकहरुमा सिआरभी २४ सै घण्टा रहन्छ । जिल्ला प्रहरी कास्की र मातहातका ४ वटा वडा प्रहरी कार्यालयबाट गरी ७ वटा मोबाइल टिम पनि स्ट्यान्डबाइ रहन्छ । त्यो बाहेक मातहतमा चाहिँ सानसानो गल्ली जहाँ ठूलो भेइकल पुग्न सक्दैन त्यहाँ १४ वटा क्युआरटी गस्ती रहन्छ । जसले बस्तीहरुमा निगरानी गरेर त्यो ठाउँमा हुनसक्ने विभिन्न किसिमका घटनाहरुलाई तत्काल ट्रयाकल गर्न सक्दछ । त्यो बाहेक पनि कास्की प्रहरीले ग्रामीण इलाकामा मध्यनजर गर्दै विभिन्न प्रहरी चौकीदेखि लिएर अस्थायी प्रहरी पोष्टसम्मले ग्रामीण इलाकालाई कभर गर्ने गरेर मोबाइल गस्ती संचालनमा ल्याएका छौं । त्यो बाहेक जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसँग समन्वय गरेर राजमार्ग सुरक्षालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने हिसाबले स्याङ्जाको सिमानादेखि तनहुँको सिमाना र यता पर्वतको सिमानासम्म राजमार्ग लक्षित सुरक्षा योजना बनाइ कारवाही प्रक्रिया अघि बढाइ सकेका छौं । विशेषगरी हामीले क्रस पेट्रोलिङको पनि व्यवस्था गरेका छौँ । स्याङजादेखि छोरेपाटनसम्म मानव वस्ती कम भएकाले चोरीका घटना र राजमार्ग भएकाले विशेष गरी रातको १२ बजेपछि हुन सक्ने घटनालाई ध्यानमा राख्दै स्याङ्जाको कुपिन्डेदेखि छोरेपाटनसम्म र अर्को छोरेपाटनदेखि कुपिन्डेसम्म गरेर दुई वटा भ्यान राखेका छौँ । त्यो बाहेक हाम्रो सिभलमा पनि सुरक्षा योजना लागु गरेका छौँ ।
यात्रु सहायता कक्ष पनि संचालनमा आएको छ यसले चाहिँ के–के काम गर्छ ?
यात्रु सहायता कक्षामा विशेषगरी यात्रुलाई चाहिँ हुनसक्ने विभिन्न किसिमका समस्या आउन सक्छ । देशका विभिन्न स्थानबाट कास्की आएर अन्य स्थानमा जानका लागि कुन गाडी चढ्ने वा कहाँ जाने भन्ने किसिमका समस्या हुन सक्छन् । त्यो समस्या समाधान गर्दै कहाँ गएको कति भाडा हुन्छ भन्नेसम्मका जानकारी हामीले दिनेछौँ । यदि बढि भाडा लिएको अवस्थामा पनि यात्रु सहायता कक्षमा गएर कम्प्लेन गर्न सक्नुहुनेछ ।
मुख्यमुख्य चोक भनेका चाहिँ कुनकुन हुन् ?
मुख्यमुख्य चोक भनेको चिप्लेढुङ्गा,पृथ्वीचोक, विरौटाचोक, हल्लनचोक,हरीचोक, ट्याक्सीचोक, लामाचौर, भद्रकाली, अमरसिंहचोक र शिशुवा चोकमा हुन् । त्यहाँ चाहिँ गाडीसहितको टोली २४ सै घण्टा खटिन्छ । जसले त्यो क्षेत्रका वडाहरुमा हुन सक्ने घटनालाई तुरुन्त ट्रयाकल गर्नेछ । जिल्ला प्रहरी कास्की र मातहातका ४ वटा वडा प्रहरी कार्यालयबाट गरी ७ वटा मोबाइल टिम पनि स्ट्यान्डबाइ रहन्छ ।
चाडवाड नजिकिँदै गर्दा चोरीका घटनाहरु पनि बढिरहेका छन् एकातिर टास्क निर्माण गरी काम गरिरहनुभएको छ अर्कातिर चोरी भइरहेको छ किन बढिरहेका छन् । चोरीका घटना के सुरक्षामा कमी कमजोरी भएको हो त ?
घटनाहरु घट्नु सामान्य हो । तपाईँले त्यसलाई त्यसरी लिनु भएन । पक्कै पनि घटनाहरु घट्छन् । चोरी नै नहुने अपराध नै नहुने समाज छैन् । यदि भएपनि त्यो कल्पनाभन्दा बाहिर होला । घटनाहरु घट्छन । कति ठूलो वा सानो भन्ने मात्रै हो । विशेषगरी चाडपर्वमा चाहिँ बढी नै घट्ने गर्छ । स्थानीयहरु त्रसित हुने र कास्कीमा स्थानीय भन्दापनि बाहिरबाट आएर बसेकाहरु भएकाले चाडबाडको समयमा आफ्नो पुख्र्यौली घर जाने क्रम बढ्छ र घरहरु खाली हुने गर्दछ । हो त्यस्ता घरहरुमा बढी चोरी डकैति हुने गरेको पाइन्छ । हामीले त्यही कुरालाई ध्यानमा राख्दै सुरक्षा योजना बनाएका हौँ ।
केही चोरीका घटनाहरु घटेका छन् तपाईँले भनेको सही हो ।त्यही अनुसार पक्राउ पनि परिहेका छन् । हालैमात्र बगरमा भएको चोरीको घटनामा ९ जनालाई पक्राउ गरी हामीले मुद्दा चलाएका छौँ । रामबजारमा पनि ट्रयाकल गरेका छौँ । यो भन्दा अघिको आर्थिक वर्षमा ५५ वटा चोरीका मुद्दा थिए सबै फछ्र्यौट गरिसकेका छौँ । सकेसम्म घटना नहोस भन्ने नै हो तर भइहालेमा पनि त्यसलाई अनुसन्धानमा ल्याएर संलग्न व्यक्तिहरु कानुनको दायरामा आउँछ ।
चाडवाडमा अपराध बढ्ने हो ?
सामान्य अवस्थामा भन्दा चाडवाडमा आपराधिक गतिवि िबढी हुन्छ । विशेष गरी मदिरा सेवन गरी झगडा गर्ने र चाडवाडको समय घरहरु पनि खाली हुने हुँदा चोरी लुटपाटका घटना बढ्ने हुन्छ । चाडवाडमा मानिसहरु अलि बढी रकम लिएर हिँड्ने, गरगहना लगाउने तथा यात्रामा निस्कने हुँदा बजार सुनसान हुन्छ । यसो त अहिले कोभिडका कारण धेरैले रोजगारसमेत गुमाएका छन् । जसका कारण चोरीका घटना बढ्न सक्छ । नेपाली समाजमा चाडबाडको समयमा मीठो खाउँ,राम्रो लाउँ भन्ने भएकाले आफन्तकामा सहभागिता हुन जाँदा झन बढी घटना घट्ने गर्दछ । यदि तपाईँहरु कोही घर छाडेर जाँदै हुनुहुन्छ भने नजिकका व्यक्ति वा छिमेकीलाई खबर गरेर मात्रै जानुहोला । यदि बहुमूल्य सामान, नगदलगायत बस्तुहरु छन् भने कृपया जनप्रतिनिधि, छिमेकी वा नजिकको प्रहरी चौकीलाई खबर गर्नुहोस् । सुरक्षित राख्नुहोस या लिएर जानुहोस् त्यो भयो भने रिक्स कम हुन्छ भन्ने हो ।
यो बेला सहयोगको नाममा चन्दा उठाउनेदेखि लिएर सार्वजानिक सवारीले समेत दोब्बर भाडादर लिने गरेको पाइन्छ । त्यसतर्फ प्रहरीको ध्यान नगएको हो ।
यदि त्यस्तो भएमा प्रहरीको १०० नम्बर मा फोन गर्न सक्नुहुनेछ । र विशेष गरी सवारी भाडाको कुरामा चाहिँ १०३ मा समेत सम्पर्क गर्न सक्नुहुनेछ । १०० मा फोन गर्दा प्रहरीकोमा लाग्छ । १०४ मा फोन गर्दा चाहिँ ट्राफिक प्रहरीको हो । त्यो बाहेक जिल्ला प्रहरी कार्यालय कास्कीको ९८५६०३९५९९ मा पनि सो सम्बन्धमा जानकारी दिन सक्नुहुनेछ । चन्दाको सवालमा कुनैपनि व्यक्ति वा संस्थाले दुःख दिने नियतले वा लाभ लिने नियतले काम गर्छ भने त्यसलाई चाहिँ पक्राउ गछाँर्,ै कानुनको दायरामा ल्याउँछौँ । हामीलाई सम्पर्क गर्नुहोस् । हामी पक्राउ गर्छौ ।
चाडवाडको समय छ तर, पोखराका अधिकाशं सीसीटिभीले काम गर्दैन त ? यसले अपराधीको मनोबल बढाएको पनि छ ।
तपाईँले भनेजस्तै गरेर सीसीटिभी चाहिँ जिल्ला प्रहरी कार्यालय कास्कीको मात्र नभएर पोखरा महानगरपालिकालगायत विभिन्न संघ संस्थाको सहयोगमा राखिएको हो । अहिले पोखरामा खानेपानी पाइपलाइन बिस्तारको काम चलिरहेकाले जिल्ला प्रहरीको मातहतमा रहेको अधिकांश सीसीटिभीहरु चाहिँ पुनः मर्मत गर्नुपर्ने अवस्थाका छन् । यो भन्दैमा सीसीटिभी नभएको भन्ने चाहिँ होइन् । लेकसाइडमा २५ वटा सीसीटिभी प्रदेश प्रहरी कार्यालयबाट संचालन हुने गरी राखिएको छ । वडा प्रहरी कार्यालय बैदामबाट पनि करिब ३२ वटा सीसीटिभीबाट निगरानी भइराखेको छ । जिल्लाबाट संचालन हुने सीसीटिभीका संख्या चाहिँ अलिकति कम भएको र पुनः निमार्णको क्रममा रहेको छ । त्यो छिट्टै संचालनमा आउँछ । आवश्यक परेको खण्डमा अन्य निजी तरिकाले राखिएका सीसीटिभीबाट पनि अनुसन्धान गर्न भने सक्छौँ ।
कास्कीमा कस्ता किसिमका घटना बढिरहेका छन् त ?
विशेष गरी कास्कीमा अधिकांश घटना भनेको लागूऔषधको छ । त्यसपछि भनेको आत्महत्याका घटना रहेका छन् । हाम्रो हिरासतमा पनि लागूऔषधकर्ता तथा बिक्रेता नै बढी छन् । यो अपराध बढेकोभन्दा पनि प्रहरीको सक्रियता
बढेकाले हो भन्ने मलाई लाग्छ । आत्महत्या मात्रै वार्षिक रुपमा करिब ३ सयसम्मको हारहारीमा भएको देखिएको छ । पछिल्लो समय साइबर अपराध र बैंकिङ कसुर जस्ता घटनाहरु बढिरहेका छन् ।
लागूऔषधमा परेकाहरु कुन उमेर समूहका बढी रहेका छन् र यसको न्यूनीकरण कसरी गर्न सकिन्छ ?
कास्कीको सवालमा ३ वर्षको तथ्याङ्क भन्नुपर्दा विद्यार्थीहरु बढी छन् ,जो कलेज पढ्ने उमेरका छन् । यो लागूऔषधको पीडित र पीडक दुबै आफै हुन् । अन्य मुद्दामा एउटाले पीडा दिएको हुन्छ भने अर्काले पीडा पाएको हुन्छ । यसमा भने त्यसो हुँदैन । दुबै आफै हो । भन्न खोजेको प्रयोगकर्ता हो त्यसको क्षति ब्यहोर्ने पनि आफै हो । कुलतमा फसेकाहरु १६ देखि २५ वर्ष उमेर समूहका बढी रहेका छन् । विशेष गरी स्कूल लेभलदेखि नै चुरोट सेवन गर्नेहरुले पछि लागूऔषध सेवन गर्ने देखियो । यो न्यूनीकरण निकै चुनौतिको विषय बनेको छ । विभिन्न सचेतनामूलक कार्यक्रम हुने गरेपनि अझ प्रभावकारी तरिकाले हामी जान सकिरहेका छैनौँ । पक्राउ गरेर कारवाहीले मात्रै पनि हुने देखिएन् । समुदायमा विभिन्न कार्यक्रमको आयोजना हुनुपर्ने देखिएको छ ।
आत्महत्याको घटना घट्नुको मुख्य कारण चाहिँ के रहेछ ?
आत्महत्याको मुख्य कारण गरिबी, अशिक्षा र प्रेम सम्बन्ध नै देखिएको छ । कास्कीको हकमा हेर्दा सानो उमेरमा प्रेम गर्ने अनि ठोस निर्णय लिन नसक्दा आत्महत्या बढिरहेको देखिएको छ । यसका लागि समुदायले सचेतना फैलाउन अत्यावश्यक देखिएको छ ।
विशेष गरेर कोभिडको २ वर्ष बिताएका छौँ । तथापि कोभिड पुर्ण रुपमा सकिएको भने छैन् । सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाऔँ । धेरै भिडभाड नगरौँ । धेरै तडकभडक नगरौँ किनभने हामीले प्यान्डामिक अवस्थालाई जितिकसेका छैनौँ । भोलि जितेपछि जति नाचे पनि हुन्छ । रमाए पनि हुन्छ । र, आउँदै गरेको नेपाली हिन्दुहरुको महान चाड विजया दशमी तथा शुभ दीपावलीको सम्पूर्ण नागरिकमा हार्दिक शुभकामना ।





