नवलपुर/ जिल्ला प्रशासन कार्यालय, नवलपुर प्रमुख मनमाआया पंगेनीले जिल्लामा नारायणी नदी तटीय क्षेत्रमा अपराधिक क्रियाकलाप बढेको बताएकी छन् । उक्त क्षेत्रमा खुलेका होटल, रेस्टुरेन्टले पर्यटन व्यवसायलाई टेवा पु¥याए पनि अपराधजन्य घटनामा बृद्धि गराएको सुनाइन् ।
कावासोतीस्थित जिल्ला प्रहरी कार्यालय नवलपुरको परिसरमा ६६ औं प्रहरी दिवसका अवसरमा बुधबार गरिएको कार्यक्रममा सिडिओ पंगेनीले जल्लामा शान्ति सुरक्षा कायममा चुनौती बढ्दै गएको बताएकी हुन् । उनले भनिन्, ‘यसको न्यूनीकरणमा नागरिकले प्रहरीसँग समन्वय बढाउनुपर्दछ ।’
सिडिओ पंगेनीले प्रहरी कर्मचारीले आफूलाई रोलमोडलका रुपमा उभ्याउन जरुरी रहेको बताएकी छन् । उनले शान्ति सुरक्षा कायम र अपराध नियन्त्रणको प्रमुख दायित्व बोकेको प्रहरी संगठनका कर्मचारीले नागरिकको मन जित्ने गरी सेवा प्रवाह गर्न पनि आग्रह गरिन् । उनले जिल्लाका विकट पहाडी गाउँमा छिटो छरितो सेवा प्रवाहमा समस्या आउने गरेको बताइन् ।
समारोहको अध्यक्षता जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलीपकुमार गिरीले गरेका थिए । गिरीले अनधिकृत र गैरकानूनी रुपमा नदीजन्य वस्तुको ओसारपोसार र उत्खनन्, लागु औषध ओसारपोसार, हारजित हुने गरी भएका जुवातास जस्ता क्रियाकलाप नियन्त्रणमा नवलपुर प्रहरीको उल्लेख्य सक्रियता रहेको बताए । समारोहमा विविध विधामा उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गरिएको थियो ।





