बागलुङ/ ‘मेरो गणना, मेरो सहभागिता’ राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा भएको छ । १२ औं राष्ट्रिय जनगणनाको सबै तयारी पूरा भएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । मुख्य प्रश्नावली लिएर कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणकहरु हरेक घरघरमा पुग्नेछन् ।
जिल्लामा तथ्यांक संकलन गर्न ३ सय ६० गणकहरु तयारी अवस्थामा रहेको जनगणना कार्यालय बागलुङका प्रमुख मुकुन्दप्रसाद शर्माले बताए । बागलुङ बजार, बुर्तिबाङ, हटिया र कुश्मिसेरामा चार दिने फाराम भर्नेसम्बन्धी तालिम प्रदान गरिनेछ ।
तथ्यांक संकलन गर्न घरघरमा पुग्ने गणकलाई आफू खटिएको स्थानको भौगोलिक विकटता र बासस्थान हेरी १ सय ८० देखि २ सय ५० सम्म घरपरिवारको तथ्यांक लिने जिम्मेवारी दिइएको छ । जिल्लाभरि करिब ६६ हजार घरपरिवार रहेको जिल्ला जनगणना अधिकारी शर्माले जानकारी दिए ।
यसपटकको जनगणनाबाट वडागत रुपमा घरपरिवारको आर्थिक विवरण, सामाजिक तथा औसत परिवार संख्या, व्यक्तिगत विवरण, शैक्षिक विवरणदेखि भौतिक पूर्वाधारका अवस्थासमेत के कस्तो अवस्थामा छन् सबै विवरण संकलन गरिने उनले बताए । राष्ट्रिय जनगणनाअन्तर्गत गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म सुपरीवेक्षकहरुद्वारा घरपरिवार सूचिकरण गरिसकेका छन् । गणकसँगै सुपरीवेक्षकहरु पनि सामुदायिक प्रश्नावली लिएर वडावडामा पुग्ने कार्यक्रम रहेको शर्माले बताए ।





