बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मधुरियो ‘घिन्टाङ’ !

मधुरियो ‘घिन्टाङ’ !


  • खगेन्द्र पराजुली
  • कार्तिक १७ २०७८, बुधबार

अवस्था यस्तै हो भने मादल बनाएरै गुजारा गर्दै आएका रामप्रसाद नेपालीलाई पनि पेशा छोड्नु पर्ने अवस्था सृजना हुने त होइन भन्ने डर पलाएको छ ।

नवलपुर/ पछिल्लो समय लोकप्रिय बाजा मादल संस्कृति लोप हुने अवस्थामा पुगेको छ । नयाँनयाँ प्रविधि, सूचना, सञ्चार र मनोरञ्जनका लागि इन्टरनेट, अनलाइन र सामाजिक सञ्जालको प्रयोगमा वृद्धि हुँदै जाँदा लोकबाजा संस्कृतिप्रति पछिल्लो पुस्ताकै लगाव घटेको हो ।

कावासोती नगरपालिका १३ का रामप्रसाद नेपालीलाई कुनै समय मादल बनाउन भ्याइनभ्याई हुन्थ्यो । बिहानदेखि साँझसम्म पसलमा बसेर उनले मादल बनाउँदै, बजाउँदै गर्दा मादलको आवाजले कावासोतीको फलफुल चोक नै गुञ्जायमान हुन्थ्यो ।

तर, अचेल मादल बनाउने बजाउनेको संख्या घट्दै जादा रामप्रसाद नेपाली फुर्सदिला भएका छन् । तिहार दैलोमै आइपुग्दा पनि पहिले जस्तो व्यापारमा चहलपहल र रौनक छैन । डेकमा गीत बजाएर नाचगान तथा भैलो खेल्न थालेपछि मादलको संस्कृति हराउँदै जान थालेको रामप्रसाद नेपालीको भनाइछ ।

मादल बनाउन आउनेको संख्या पनि घट्दै गएपछि मादल बनाएर गुजारा चलाउनेहरु अन्य पेशामा आवद्ध भएका छन् । मादल बनाउने पेशाकर्मीहरु विस्थापित हुने क्रम पनि बढ्दो छ । अवस्था यस्तै हो भने मादल बनाएरै गुजारा गर्दै आएका रामप्रसाद नेपालीलाई पनि पेशा छोड्नु पर्ने अवस्था सिर्जना हुने त होइन ?भन्ने डर पलाएको छ ।

२० वर्षदेखि कावासोतीको फलफूल चोकमा हुलाकी मादल पसल राखेर नेपालीले नयाँ मादल बनाउने, पुराना मादल मर्मत गर्दै आएका छन् । तीजदेखि तिहारसम्म मादल बनाउनेहरुको भिड लाग्ने पसलमा अचेल मादल बनाउन आउनेहरुको संख्या बेसरी घटेको बताए । उनी भन्छन्, ‘भैलो खेल्न मादलको सट्टा डेकको प्रयोग गर्न थालेपछि मादलको आवाज गाउँघरमा विस्तारै सुनिन छाडेको छ ।’

यता, केही संघ संस्था र व्यक्तिहरु मौलिक बाजा जोगाउन लागिपरेका छन् । देवचुली नगरपालिकाको गणेशटोलमा रहेको नमुना आमा समूह प्रगतिनगरले भने आफ्नो संस्कृति संरक्षणको लागि भनेर पनि मादल बजाएर तिहारमा देउसीभैलो खेल्ले तयारीमा रहेको मादल पसलमा पुरानो मादल मर्मत गर्न र नयाँ मादल पनि किन्न आएकी आमा समूहका सचिव सरस्वती गिरीले बताइन् ।

चाडपर्वमा डेकमा गीत बजाएर नाच्ने संस्कृतिले गर्दा लोकबाजाहरुको प्रयोगमा असर परेको छ। जसले गर्दा हाम्रो मौलिक कलासंस्कृति लोप हुने अवस्थामा पुगेको छन् । मादलजस्तै अन्य बाजाको संरक्षण, प्रवर्दधन र विकासमा ध्यान दिन आवश्यक रहेको सरोकारवाला बताउँछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->