अहिले लगातार चलिरहेका लगभग ४० वटा नर्सरी छ । त्यसमा ३५ वटा जति त हामी सबै प्रक्रिया पु¥याएर नै सञ्चालन गरिरहेका छौं । बाँकी रहेकाले पनि प्रक्रिया पु¥याउन लागिसकेका छन् ।
शरदीय पर्व तिहार झिलिमिलीमात्रै होइन, रंगीचंगी फूलको पर्व पनि हो । तिहारको समयमा गृह सजावटमा बढी ध्यान दिइने भएरै यसको बजार माग पनि उच्च हुन्छ ।
फूल व्यवसायी डिलबहादुर गुरुङ २०६३ सालदेखि नै निरन्तर पोखरामा फूल व्यवसायमा सक्रिय छन् । उनले ‘सिजनल मनकामना नर्सरी’ पोखरामा सक्रिय पुष्प व्यवसाय चलाइरहेका छन् । नर्सरीको विभिन्न शाखा पनि खुलेका छन् ।
पोखरामा नर्सरी खोल्दादेखि हालसम्मको अवस्था र तिहारको समयमा फूलको खपत कसरी भइरहेको छ र फूल व्यवसायको अवस्था कस्तो छ भन्नेबारे नर्सरी सञ्चालक तथा फ्लोरी कल्चर एसोसिएसन नेपाल कास्की जिल्ला अध्यक्षसमेत रहेका गुरुङसँग ढोरपाटनले गरेको कुराकानी सारसंक्षेप ।
नर्सरी व्यवसायमा लागेको कति भयो ?
नर्सरी व्यवसाय गरेको १५ वर्ष भयो ।
१५ वर्ष अघि नर्सरी खोल्दा र अहिलेको अवस्था कस्तो छ ?
मैले सुरुआत गर्दा ठ्याकै फूलको परिचय नै त्यति थिएन । विदेश गएर कमाएको रकमलाई नै सदुपयोग गरेर नै नर्सरी खोलेको हुँ । पहिला र अहिलेमा धेरै फरक छ । मैले नर्सरी खोल्दा मलाई छिमेकीहरुले पनि गाली गरे । यत्रो जंगल फालेर के झारपात रोपेको होला भन्थे । अहिले उनीहरुले नै अहो ! यसले त भविष्यलाई साचेर पो गरेको रहेछ भन्छन् । अहिले निकै गर्व लाग्ने गर्दछ ।
पुष्प व्यापारभन्दा पहिले वैदेशिक रोजगारमा पनि जानुभयो क्यार !
मैले मलेसियामा चिया बगानमा काम गरें । चियाका मुना टिप्ने काम थियो । तर, काम सकिएपछि म फूलहरुको बगैंचामा नै गएर बस्थें । त्यहाँ काम गर्दा बिदा थिएन । कुनै बहानाबाजी हुँदैन्थ्यो । विरामी भएपनि आराम गर्न पाइएन ।
एकपटक बिदा लियो भने दुई दिनको तलब काट्थ्यो । ‘तिमीहरुलाई मैले ३ वर्षका लागि किनेर ल्याएको हो । मोर, बाच मतलब छैन । ‘सीर्फ काम गर हामीलाई काम चाहियो’ भन्थ्यो ।
पानी परोस्, घाम लागोस् चिसो होस् केही मतलब नै छैन । जसोतसो ३ वर्ष बिताएँ त्यसपछि परिवारसँगै फूलखेतीतर्फ नै लागे । त्यसपछि विदेश जाने सोच कहिल्यै बनाइन् । अहिले यसैमा भुलेको छु । अब त मेरो जीवनभरको ठेक्का नै लिएर यसोआरामको जिन्दगी दिन्छु भनेरै कागजी गरेरै बोलाएपनि म जान्नँ ।
कति लगानीमा खोल्नुभयो ?
मैले त्यतिखेर ६–७ लाख रुपैयाँ लगानी गरें । परिवारले पनि सुरुमा त कराएपछि भविष्य यतै देखेपछि सबै खुसी छन् । अहिले महिनामा ६० हजार भन्दा माथि नाफा भइराखेकै छ । चाडबाडको समयमा अलि बढी पनि आम्दानी भएको छ ।
पुस्ता नै यही क्षेत्रमा लाग्नु भएको छ । कति छन् यो व्यवसायमा ?
लगभग २०४७ साल तिर नै मेरो बहिनी ज्वाइँले यो व्यवसाय काठमाडौंमा सुरु गर्नुभयो । मनकामना नर्सरी भनेर । हामी सबै उही नर्सरीको चेला हौं । त्यसरी नै अहिले पोखरामा मात्रै १० वटा जति हाम्रो नर्सरी छ । सबै मेरो वंश हुन् । काठमाडौंमा ४ वटा जति छ । चितवनमा पनि छ । अब जानेको नै यही छ । यही ग¥यौं ।
पोखरामा फूलको माग कत्तिको छ ?
पोखरामा फूलको माग दिनहुँ बढ्दो छ । पहिला म आउँदा मान्छेले यो गोरखादेखि आएर के गरेको होला भन्थे । तर, अहिले सबैले मेरो घर नजिक आएपनि हुन्थ्यो नि ! भन्न थालेका छन् । हामीले कतिपय अवस्थामा माग धान्न नसकेको हो कि झैं पनि भएको छ ।
तिहारको समय छ, फूलको व्यापार कस्तो चलिरहेको छ ?
तिहारको समयमा राम्रो हुने त छँदैछ । हामी नेपालीको महान चाड हो । अब यो हामीलाई चाहिन्छ है ! भनेर पहिला नै सर्वसाधारणले किनेर लाने गरेका छन् । फूलको अभाव हुन्छ कि भन्ने चिन्ताले अहिलेदेखि नै लगिसकेका छन् । दसैंपछि अहिलेसम्म ४० हजार रुपैयाँभन्दा बढीको फूल गइसकेको छ भाइटीकासम्म लगभग सबै सकिन्छ ।
तपाईं फ्लोरी कल्चर एसोसिएसन, कास्की जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । कास्की जिल्लामा नर्सरीको अवस्था कस्तो छ र कति नर्सरी रहेका छन् ?
अहिले लगातार चलिरहेको लगभग ४० वटा नर्सरी छ । त्यसमा ३५ वटा जति त हामी सबै प्रक्रिया पु¥याएर नै सञ्चालन गरिरहेका छौं । बाँकी रहेकाले पनि प्रक्रिया पु¥याउन लागिसकेका छन् । अवस्था ठिकै नै छ । यो पेशामा लाग्दा जति दुःख गरेपनि कहिल्यै थकाइ लाग्दैन । सबै नर्सरी चलिरहेका छन् । तर, जति चल्नुपर्ने त्यति नचलेको हो कि भन्ने पनि लाग्छ ।
कास्कीमा समग्रमा फुल उत्पादन कति हुने गर्दछ ?
हाम्रो उत्पादन समयानुकुल नै गइरहेको छ । तर, पनि यही भन्ने आकँडा नभएपनि साढे २ देखि ३ करोडको हारहारीमा उत्पादन हुने गर्दछ । तर, बाहिरबाट ल्याउनैपर्ने हुन्छ । त्यसको अर्को कारण पनि छ । हामीले यहाँ स्थानीय तरिकाले नै उत्पादन गर्दछौं ।
बाहिरबाट ल्याउँदा धेरै दुःख गर्न नपर्ने र नाफा धेरै हुने हुँदा हाम्रो उत्पादनले नधानेको जस्तो देखिन्छ । अहिले सबै ठाउँमा फूल फुलिरहेको छ । मलाई यहींको उत्पादनले पुग्छ भन्ने लाग्छ । तर, पनि १५–२० प्रतिशत भने आउने गरको छ ।
तिहारमा सयपत्री फूल किन बढी खपत हुने गरेको छ । यसको महत्व के छ ?
सयपत्री फूल धार्मिक सांस्कृतिक र स्वास्थ्यको हिसाबले पनि बहुउपयोगी फूल हो । यो फूलको महत्व धेरै नै छ । यस्को सुगन्ध र बनोटले पनि मानिसलाई मनदेखि आनन्द दिने गर्दछ । यसले मानिसको अहंकारलाई कम गर्ने र फूलको केसरी रङले त्याग र मायालाई दर्शाउँछ भनिन्छ । घरमा नकरात्मक कुरालाई फाल्ने काम गरिन्छ भन्ने पनि मान्यता रहिआएको छ । यो स्वास्थ्यमा पनि उपयोगी फूल हो । यो फूल सुकाएर वा लेदो बनाएर औषधीको रुपमा पनि उपयोग गर्न सकिन्छ ।
यो समयमा भारतबाट करोडौं फूल भित्रिन्छ भनिन्छ । के हाम्रो उत्पादन नपुगेकै हो त या हामीले फूलको महत्व बुझाउन नसकेका हौं ?
कतिपयले नाफायुक्त व्यापार गर्ने मनासायले र सजिलो तरिकाले जान खोजेकै कारण बाहिरबाट आउने हो । त्यही नै हो बाहिरबाट ल्याउँदा आफ्नो मेहेनत लाग्दैन । ल्यायो, बेच्यो, कमायो ।
पहिलापहिला उतै निर्भर पर्नुपर्ने स्थिति थियो । अहिले त्यस्तो छैन । हामीले नै बजार धान्न सक्छौं । मैले यो सिजनमा नै ४० हजार माथि बेर्ना तयार गरिसके एउटा नर्सरीमा भने त्यसरी नै सबैको हेर्ने हो भने त उत्पादन राम्रो छ नी । यतिमात्र होइन हामीले अघिल्लो वर्षहरुमा भन्दा यो वर्ष उत्पादनमा समेत दोब्बर बृद्धि गरेकै हौँ ।
अहिले सयपत्री र मखमली फूलको बजार भाउ कस्तो छ त ?
बजार भाउ हामीले देशको अवस्था हेरेर नै तोकेका छौं । कोरोनाले २ वर्ष त्यसै गयो । यसकारण पनि अहिले सयपत्री फूल प्रति थुँगा ५ रुपैँयाको दरले बेच्ने गरेका छौँ भने मखमली माला अनुसार छ । प्रति माला सय रुपैयाँभन्दा माथि मूल्य छ । किलोअनुसार लगभग ३ सय रुपैयाँसम्म छ ।
फूलका बिउहरु कसरी उत्पादन गर्नुहुन्छ ?
यो सबै बिउ विजन स्वदेशमा पाइदैन हामीलाई दुखदायी कुरा त्यतातिर छ । हामीलाई राज्यलेनै बिउ विजन, नर्सरीलाई चाहिने सबै मेटेरियलहरु दिन सकेको छैन । स्वदेशमै भएको भए निकै सहज हुने थियो । भारतबाट पनि होइन हामीले तेस्रो मुलुकहरुबाट ल्याउन परिरहेको छ । त्यसैलेपनि महँगो पर्ने गरको हो । काठमाडौंमा अफिस छ हामीले यहाँबाट जे चाहिन्छ त्यसका लागि ६ महिना अघि नै पैसा पठाइदिनुपर्दछ । यो हाम्रो बाध्यता हो ।
कुन कुन देशबाट आउने गर्दछन ?
यो थाइल्यान्ड, होल्यान्ड, अमेरिकालगायत देशहरुबाट आउने गर्दछ ।
नेपालमा उत्पादन गर्न सकिन्छ कि सकिँदैन ?
अब यो त यहाँका विशेषज्ञहरुको कुरा हो । हामी त धेरै पढेका पनि हौइनौँ अनुभवकै आधारमा व्यवसाय गरेका हौँ । विशेषज्ञहरुले गर्नुपर्ने कुरा हो । वहाँहरुले चाहाने हो भने नहुने भन्ने छैन सक्नुहुन्छ भन्ने लाग्छ ।
स्वदेशमै उत्पादन गर्न राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ त ?
राज्यले त मलाइ यस्तो लाग्छ की बिउ उत्पादन गर्नका लागि विशेषज्ञकै आवस्क पर्दछ । यस तर्फ ध्यान दिन आवस्यक छ । अर्को कुरा भनेको राज्यले हामीलाई खेर गइरहेको जमिन लिजमा उपलब्ध गराइदिए हुन्थ्यो । जहाँ खेर गइरहेको बगर, बाझो जमिनहरु छ त्यो बरु कति भाडा लिने हो लिएर दिए हुन्थ्यो ।
हामी जति दुःख गर्न पर्छ गर्न तयार छौं । हामीलाई त अनुदान समेत चाहिदैन यति होस् की ढुक्क तरिकाले गर्न पाए हुन्थ्यो । राज्यलाई कति तिर्न पार्ने हो खुसी साथ तिर्न सक्थ्यौँ । यति भइदियो भने हाम्रा अबका सन्तान विदेश जान पनि पर्दैन । यहि व्यवसायमै घुमल्न्छिन् । यतै स्वरोजगार हुने थिए । बाध्यतावस हामीले छातिमाथि हात राखेर नै विदेश पठाउन परिरहेको छ ।





