तिहार नेपालीहरुको महान चाडहरु मध्येको एउटा विशेष पर्व हो । यसले धार्मिक, सांस्कृतिक, सामाजिक, प्राकृतिक, भाषिक, साहित्यिक र पर्यावरणीय महत्व राख्दछ । तिहारसँग समुदायका आस्था, विश्वास, भाषा, संस्कृति, रहनसहन, जातीय/राष्ट्रिय पहिचान, कला (नृत्य, वाद्य, गायन) र विविध अनुभूतिहरु जोडिएका छन् । पर्वसँग सम्बन्धित यी ज्ञान र सीपहरु एक पुस्ताबाट अर्को पुस्ता, एक समुदायबाट अर्को समुदाय र एक भूगोलबाट अर्को भूगोलमा प्रचार–प्रसारणका माध्यम भनेकै यिनै चाडपर्व हुन् । चाडपर्वको महिमा नबुभ्mदा कतिपय व्यक्ति र समुदायले आप्mनो पहिचान गुमाउँदै गएको अवस्था छ । पहिचानको पीडा गुमाउनेहरुलाई मात्र थाहा हुन्छ । तिहारको महिमा धर्म, संस्कार, लोकगीत, लोकगाथा, लोकनृत्य र लोकवाद्यसँग प्रत्यक्ष जोडिएको छ । तिहारको सन्दर्भसँग जोडेर भैलो, देउसी र सोरठीको यहाँ चर्चा गरिएको छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाको दिनसम्मका यी पा“च दिनलाई यमपञ्चकका नामले चिनिन्छ । पौराणिक मान्यताअनुसार यमराजले आप्mनी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको प्रसङ्गलाई जोडेर तिहारका पा“च दिनलाई यमपञ्चक भनिन्छ । यमपञ्चकको पहिलो दिनमा कागबलि (खाना) चढाएर कागको पूजा गरिन्छ । कागलाई यमको दूत अनि वातावरणीय स्वच्छता कायम राख्न र शुभाशुभको पूर्व सङ्केत दिनसक्ने चतुर पन्छी मानिन्छ । कागको पूजा गर्नाले र घरको मूल ढोकामा यमराजका नाममा दीप प्रज्ज्वलन गर्नाले अपमृत्यु वा अल्पमृत्युको भय हु“दैन, आरोग्य र दीर्घजीवन प्राप्त हुन्छ भन्ने जनविश्वास रही आएको छ ।
यमपञ्चकको दोस्रो दिन पितृतर्पण, नदीमा दीप प्रवाह र यमराजको दूत मानिने कुकुरको पूजा गरिन्छ । कुकुर र मानवको घनिष्ठ सम्बन्धलाई यहाँ दर्शाइन्छ । कुकुर मानिसको स्वामीभक्त सहयोगी र तीव्र घ्राण शक्ति भएको प्राणी हो । यस दिनले पितृस्मरण र चौपायप्रतिको स्नेहलाई प्रतीत गराउँछ । यसरी नै यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजा हुन्छ । तेत्तीसकोटी देवताको प्रतीक मानिने गाईको पूजा गर्नाले स्थिर लक्ष्मी, यश, कीर्ति र धनधान्य प्राप्ति हुन्छ भन्ने विश्वास गरिन्छ । यमपञ्चकको चौथो दिन घरघरमा गोवद्र्धन पर्वतको आकृति बनाई गोवद्र्धन पूजा गरिन्छ । यसै दिन घरपालुवा जनावर गोरुलाई सिंगार्ने, पूजागर्ने, माला लगाइ दिने, नुन/पिँडो खुवाउने आदि कार्य गरी कृषि प्रधान समुदायमा गोरुको महत्वलाई उजागर गरिन्छ ।
यमपञ्चकको पाँचौ दिन शास्त्रीय विधिपूर्वक यम, यमुना र अष्टचिरञ्जीवी (मार्कण्डेय, बलि, व्यास, हनुमान, विभीषण, कृप, परशुराम र अश्वत्थामा) को पूजा गरी दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, ऐश्वर्य र सुकीर्तिको कामना गर्दै सप्त रङ्गी टीका, मखमली र सयपत्री पूmलको माला लागाइदिने, दाजुभाइलाई मनपर्ने मिष्टान्न र वस्त्र उपहार दिने गरिन्छ । दाजुभाइले पनि दिदीबहिनीलाई पैसा र उपहार दिने चलन हुन्छ । यसले चेलीमाइती सुसम्बन्धलाई अझै गाढा बनाउँछ ।
यसरी तिहार पर्व पाँच दिनसम्म क्रमशः काग, कुकुर, लक्ष्मी/गाई, गोवद्र्धन/गोरु र भाइपूजा गरी पशु, पन्छी, प्रकृति र मानव कल्याणको कामनासहित हर्ष, उमङ्ग, आहारविहार, सरसफाइ र मनोरञ्जनका साथ धुमधामसँग सम्पन्न गरिन्छ । तिहार पर्वलाई उल्लासमय बनाउनमा भैलो, देउसी र सोरठीसँग एकाबद्ध भएर आउने लोकगीत, लोकगाथा, लोकनृत्य र लोकवाद्यले अझै विशेष भूमिका खेलेका हुन्छन् ।
तिहारको महिमा धार्मिक आस्था, सांस्कृतिक परम्परा, सामाजिक सम्बन्ध र मनोरञ्जनसँग पनि जोडिएको छ । तिहारको साइनो भैलोसँग जोडिएको छ । भैलो नृत्यमूलक लोकगीत हो । यसलाई गाउने नभनी भैलो खेल्ने भनिन्छ । पुरुषहरू खेल्दा भैलो र महिलाहरू खेल्दा भैली भन्ने चलन हुन्छ । तिहारमा गाउने, बजाउने, नाच्ने, मनोरञ्जन गर्ने, माग्ने र आशिष् दिने परम्परा परापूर्व कालदेखि चल्दै आएको हो । यस चाडमा विभिन्न मनोरञ्जनका साथै भैलो, देउसी र सोरठी जस्ता पर्वगीतहरू गाइन्छन् र नृत्य प्रदर्शित हुन्छन् । भैलो, देउसी र सोरठी उस्तै र एकअर्काका पूरक जस्ता देखिए पनि भैलो र देउसी सामान्य कलाकारले पनि प्रदर्शन गर्न सक्छन् तर सोरठी गाउन र नृत्य प्रदर्शन गर्न सिद्धहस्त कलाकारको आवश्यकता पर्दछ । भैलो र देउसी कतै पुरुष, कतै महिला र कतै पुरुष महिला सहभागी भएर पनि खेल्ने चलन हुन्छ । सोरठीमा पुरुषको मात्र सहभागिता रहन्छ ।
तिहारमा भैलो र देउसी खेललाई सानो भैलो र सोरठीसहितको भैलोलाई ठूलो भैलो भन्ने चलन पनि हुन्छ । सानो वा ठूलो दुबै भैलोको उद्देश्य सिधा माग्ने, आशिष् दिने र मनोरञ्जन गर्ने गराउने नै हो । संक्षेपमा भन्दा भैलो वा देउसी एक प्रकारका आशिष् हुन् भने सोरठी आख्यानमूलक गीतिनाटक हो । व्यावहारिक रुपमा भैलो, देउसी र सोरठी उस्तै देखिए पनि सैद्धान्तिक रुपमा यी फरकफरक विधा हुन् । भैलोमा टोली नेताले ‘पान दिन तिहार, पान सरकारको, धर्मराज, दिदीको हातको, टीका लाउन… भन्दै पूरै कथा भट्याउँदै जान्छ भने समूहले ‘भैलो’ भन्दै गाउँछन् ।
भैलो खेल्ने परम्पराको विषयमा प्राचीन कालमा देवता र दानवबीच लडाइ हुँदा दैत्यराज बलीले देवतालाई हराई राज्य गर्न थाले । पराजित देवताका चेलीहरूले बली राजासँग आज्ञा मागी देवताहरू भएको ठाउँमा गएर भैलो जगाइ उनीहरूलाई आशीर्वाद दिएछन् र आशिष् पाएका देवताले पुनः आप्mनो गुमेको राज्य प्राप्त गर्न सफल भएका थिए रे भन्ने किंवदन्ती पाइन्छ । अर्को समशेर थापा (२०१८) र बालकृष्ण पोखरेल (पाँच सय वर्ष, २०२०) को भनाइलाई उद्धृत गर्दै धर्मराज थापा र हंसपुरे सुवेदी (२०४१ ः १६८) ले कर्णराजका छोरा बलीराज थापा जुम्लाका प्रथम खस राजा भएको र उनैको समयदेखि ‘जगात’ (चन्दा, कर, दस्तुर) उठाउने क्रममा भैलो खेल्ने चलन चलाइएको हो भनेका छन् । बलीराज जोजहाँका भए पनि अद्यापि भैलो खेल्दा ‘भैलेनी आए आगन, बढारी कुँडारी मागन, हे औंसी बार गाईतिहार भैलो, हामी त्यसै आएनौं बलीराजाले पठाएर ..’ भन्दै भट्याउने चलन छ ।
देउसीका बारेमा पनि तिहारको समयमा ‘देव आशिष्,’ ‘देव श्री,’ ‘देऊ सेल रे’ आदि भन्दाभन्दै देउसी शब्दको व्युत्पत्ति भएको हो भन्ने भनाइ पनि पाइन्छ (कृष्णपं्रसाद पराजुली, २०४९) । देउसी गाउने परम्परा पनि देवासुर संग्राममा दिदीले भाइलाई धर्मराजको कब्जाबाट छुटाएको प्रसंगस“ग जोडिएको छ (सुवी शाह, २०२८) । भैलो र देउसीमा खासै भिन्नता त पाइदैन । कतै पुरुषले खेल्ने ‘भैलो’ र महिलाले खेल्ने ‘देउसी’, कतै पुरुषले खेल्ने ‘देउसी’ र महिलाले खेल्ने ‘भैलो’ भन्ने गरेको पनि पाइन्छ । कतै लक्ष्मी पूजादेखि भाइ टीकाका दिनसम्म ‘भैलो’ र त्यसपछि ठूली एकादशीसम्म ‘देउसी रे’ भन्दै भट्याउने गरेको पनि सुन्न पाइन्छ ।
सोरठीका विषयमा अनेक तर्कहरु पाइन्छन् । कतै सोह« प्रकारले नाचिने र गाइने गीतलाई सोरठी भनिएको छ (आर.डी. र एल.एल., २०२३) भने कतै ‘सोह्रवटी’ रानीको अपभ्रंशबाट सोरठी भएको हो भनिएको छ । सोरठीसँग अनेकौं किंवदन्तीहरु जोडिएका भए पनि तिहारको लक्ष्मी पूजादेखि ठूली एकादशीसम्म विभिन्न पौराणिक, ऐतिहासिक र स्थानिक आख्यानहरूमा आधारित विविध लय, ताल र श्रृङ्गारमा मारूनीसहित गुरूबाको निर्देशनमा नाचगान गरिने लोकलय नै सोरठी हो । सोरठी गाउने चलन कुन समयदेखि, कुन क्षेत्रमा, कुन जातिले, कुन प्रयोजनार्थ, कुन अवसरमा गाउँदै आए भन्ने सम्बन्धमा भने अनेकौं मतहरु पाइन्छन् । सोरठी नेपालमा मात्र नभइ भारतका विभिन्न ठाउँहरूमा समेत प्रचलनमा रहेको छ भन्ने सुन्न पाइन्छ ।
सोरठीलाई कतै राजा जयसिंहकी राजपुत्री सोरठीको जीवन चरित्रसँग साइनो जोडिएको छ भने कतै राजा इन्द्रका सोरठी र हेमैती नाम गरेका दुई अप्सराका नामबाट चिनाइएको छ । कतै गुजरातका राजा खेखड मल विरक्तिएर जोगी बनी वनवास लाग्दा उनका सोह«वटी रानीहरूले विलाप गरी रोएको गीतलाई सोरठी भनिएको हुन सक्ने अनुमान गरिएको छ । कतै उत्तरी पहाडका राजा जयदेव (आठौं शताब्दीतिरका) लाई जयसिंह भनिएको र उनैको जीवनीमा आधारित कथालाई सोरठी भनिएको हुन सक्ने तर्क प्रस्तुत गरिएको छ (भैरव थापा, २०३०) । एउटै विषयमा यी प्रभेदहरु देखिनुको कारण पनि सोरठीलाई आआप्mनै धर्म, संस्कार र संस्कृतिसँग साइनो जोड्ने प्रयास हुन सक्छ ।
वर्तमान सन्दर्भमा सोरठीको साइनो भैलो र देउसीसँग जोडिएको छ । नेपालमा केही जनजातिहरुले सोरठीलाई आप्mनो संस्कार (जन्म, छेवर, मृत्यु) सँग जोडेर गाउने गरको पनि पाइन्छ । भैलो र देउसीलाई बली राजाको कथासँग जोडेजस्तै सोरठीलाई राजा जयसिंह र रानी हेमैतीको कथासँग सन्दर्भ जोडेको पाइन्छ । परम्परागत रूपमा सोरठी गाउन गुरूङ, मगर, माझी, बोटे र केही दलित समुदायका मानिसहरूको विशेष संलग्नता रहन्थ्यो भन्ने भनाइहरु पाइए पनि वर्तमान सन्दर्भमा यो परम्परा हराउँदै गएको र नयाँ पुस्तामा सोरठीप्रति उदासीनता बढेको देखिन्छ ।
सोरठीमा कथानक, पात्र, संवाद, परिवेश, भाषाशैली, लय, स्थायी, अन्तरा वा थेगो र उद्देश्य तत्वको संयोजन रहेको हुन्छ । सोरठीमा पनि गुरुबाले भैलोमा जस्तै ‘सिमेभुमे, घरका कुल्यान, मारूनीको, पुर्सुङ्गेको, मादलेको, स्वर मिलाइ देऊ, ताल मिलाइ देऊ’ भन्दै भट्याउँछ भने गर्राभाइ ‘भैली राम’ भन्दै गाउने र नाच्ने गर्दछन् । अन्त्यमा ‘हो…पन्च …भाइले दिएको आसिकैले, तारा मन्दल भरियोस् ! मट्टीसम्म आनाज, ढुङ्गैसरी द्रव्य, बान्नो चिन्ने तामा कसम, सुनैको लिस्नो होइजावस, लक्ष्मीसँधै बास गरुन्, पातीजैसो ग“जाए, का“सजैसो फुलनसम्म, बा“सजैसो नुगुनसम्म बाँचे राजै’ भन्दै आशिष् दिएर विदा हुन्छन् ।
सोरठीको मुख्य पात्र गुरूबा हुन् । गुरुबालाई गुरुमा, सोरठी निर्देशक, सोरठी गुरू वा सोरठी नायकका रुपमा चिनिन्छ । गुरूबा आफै गुरू मादलेका रूपमा सेतो साफा (फेटा) गुँथेर सरस्वती (साँखी) जगाउने, गीत भट्याउने, मादल छड्काउने (ताल मिलाउने), गीतको सुर र ताल मिलाउने, सोरठीको राग अलाप्ने, आशिष् दिने, सोरठी सेलाउने (विसर्जन गर्ने) आदि भूमिका निर्वाह गर्दछन् । सोरठीमा गुरू मादले र अन्य सहायक मादले वा नर्तक मादले गरी धेरै प्रकारका पात्रहरु हुन्छन् । मादलेको काम भनेकै मारूनीलाई मादलको तालमा नचाउनु हो । मारूनीहरू मादलको ताल र मादलेको चालमा नृत्य गरिरहेका हुन्छन् । मादलको ताल र सोरठी भाकालाई आप्mनो सुरमा लैजाने काम गुरू मादलेको हुन्छ ।
सोरठीको अर्को मुख्य पात्र मारूनी हो । सोरठीमा कतै एक, कतै दुई र कतै दुईभन्दा बढी पुरूष पात्र महिलाको परम्परित वेशभूषा र गरगहनामा सिंगारिएका हुन्छन् । तिनैलाई मारूनी भनिन्छ । मारूनीको काम मादलको तालमा मादले र पुर्सुङ्गेको अघि र पछि नाच्नु हो । सारठीलाई कतै मारुनी नाच भनेको पनि पाइन्छ । सोरठीमा संगीत अनुसारको नृत्य र गीतको ताल मिलाउनु पर्ने हुन्छ । सोरठी भनेकै संगीतको तालमा मादले, मारूनी र पुर्सुङ्गेको सामुहिक नृत्य र गायन हो । पुर्सुङ्गेले पनि परम्परित पुरूष वेशभूषामा मारूनीलाई नचाउने र दर्शकहरूलाई हँसाउने काम गरिरहेको हुन्छ । दर्शकलाई हँसाउन र सामाजिक विकृतिप्रति व्यङ्ग्य गर्न सोरठी समूहमा एउटा ढँटुवारे पात्र जोकर वा विदूषकका रूपमा आएको हुन्छ । यसले पनि सोरठीको आकर्षण बढाएको हुन्छ ।
यसरी सोरठीमा सहभागी सबै पात्रले आआप्mनो भूमिका निर्वाह गरिरहेका हुन्छन् । यिनीहरूको चारित्रिक विशेषता भनेकै सामुहिक रुपमा नाच्नु, गाउनु, बजाउनु र अभिनय गर्नु हो । सोरठीमा दर्शकलाई नचाउन बीचबीचमा ख्याली, टुक्का वा टप्पाको समेत समायोजन गरिएको हुन्छ । समग्रमा स्थानीय सन्दर्भ, मौलिक र मौखिक परम्परा, संवादात्मक प्रस्तुति, सरल र सहज अभिव्यक्ति, अनुप्रास र थेकोको पुनरावृत्ति, विविध सुर, ताल र लयको संयोजन, नृत्य, वाद्य र आख्यको तालमेल, मारूनीको अनिवार्यता, कथ्य भाषाको प्रयोग, पौराणिक, ऐतिहासिक र सामाजिक विषयवस्तु आदि सोरठीका मुख्य विशेषता हुन् । पर्व विशेषमा गाइनु, विविध रसभावको संयोजन हुनु, गुरू परम्परामा आधारित हुनु, विधिपूर्वक थालनी र समापन गरिनु, परम्परागत वेशभूषामा सजिनु, स्थानीय प्रकृतिको चित्रण गर्नु, तिहारको सन्दर्भ जोडिनु सोरठीका मौलिक विशेषता हुन् ।
निष्कर्षमा हरेक समुदायमा चाडपर्वको आप्mनै महत्व रहेको हुन्छ । नेपाली समुदायमा तिहार पर्वको बहुआयामिक महत्व रहेको छ । तिहारसँग सन्दर्भ जोडिएका भैलो, देउसी र सोरठीको पनि आप्mनै महत्व रहेको छ । धार्मिक, सांस्कृतिक, सामाजिक, भाषिक, आर्थिक र साहित्यिक महत्व बोकेका यी लोकनिधिहरु क्रमागत रुपमा लोपोन्मुख अवस्थामा छन् । यिनको संरक्षण, हस्तान्तरण, पुस्तान्तरण र संवद्र्धनका लागि निष्ठा, त्याग, अधिष्ठान, अनुष्ठान र अधिष्ठाताको आवश्यकता पर्दछ । आज बसाइ सराइ, तीव्र सहरीकरण, वैदेशिक रोजगार, पश्चिमी शिक्षा, व्यक्तिवादी चिन्तन र आर्थिक प्रलोभनले गर्दा यी लोकसम्पदाहरु क्षयीकरणको अवस्थामा छन् ।
आधुनिक व्यक्तिवादी अर्थराजनीतिमा सामाजिक पर्वहरु, लोकसाहित्य र सामाजिक कार्यहरु ओझेलमा पर्नु स्वभाविकै हो । लोकसमुदायले हजाराँैं वर्ष लगाएर मौखिक परम्परामा संरक्षण, संवद्र्धन, स्थानान्तरण र हस्तान्तरण गर्दै आएका यी पुस्त्यौली सम्पदा (लोकनृत्य, लोकगीत र लोकगाथा) हरु बजारमा क्रयविक्रय र क्रेताविक्रेताका विज्ञापित वस्तु बनाइनु सामाजिक र सामुहिक कार्य होइनन् । लोकसम्पदाले निरन्तरता, स्वायत्तता, स्वामिस्व र निजस्व पाउन डेल हाइम्स (सन् १९७४) ले भनेझै बोलाइको आत्मकथा वा कथनको जातित्व (इथ्नोग्राफी अफ स्पिकिङ) ले निरन्तरता पाउनुपर्छ । कथनको जातित्वमा परिवेश, सहभागीहरु, उद्देश्य, कार्यको क्रम (सिक्वेन्स), सुर, वाद्यवादन, प्रतिमान (नर्मस) र विधागत शैली वा आचरणको संयोजन हुनैपर्छ । आज विद्युतीय साधन र सञ्जालमा घन्किने भैलो, देउसी र सोरठीमा समुदायको संलग्नता, आत्मकथा र मौलिकता छ त ? यदि छैन भने लोकसमाज आप्mनो लोकसम्पत्तिको सुरक्षण, संरक्षण, संवद्र्धन र आस्वादनमा आफैँ जुट्नु पर्दछ । लोकसाहित्यको संरक्षण र संवद्र्धनमा जुटेका कलाकारलाई साधुवाद भन्नैपर्छ ।
– त्रिभुवन विश्वविद्यालय ।





