मेरो पहिलो टाढाको यात्रा थियो, राइड टु सिक्लेस । तेस्रो सेमेस्टरको ह्याङओवर जो हटाउनु थियो । कसम, साइकलमा सिक्लेस अझै पुग्ने रहर म¥या छैन । बिस्तारै घलेगाउँ, बन्दीपुर, सिरुबारी, बारपाक, लारपाक साइकलमै पुगें । जति घुम्दै गएँ, त्यति नै घुम्ने तलतलमा फस्दै गएँ ।
भनिन्छ, जो घुम्दैन ऊ किताबरुपी जीवनको उही अध्याय वा पानामा मात्र सीमित रहन्छ । घुम्नु बरालिनु हैन, बेकाममा समय र पैसाको बर्बादी गर्नु पनि हैन । घुम्नु सिक्नु हो, बुझ्नु र जीवन जिउने कला सिक्नु हो । कति त जीवनको अर्थ यसैमा खोज्छन् ।
जति मैले कक्षाकोठाको त्यो बन्द कोठामा सिकें, त्यसको हजारौं गुणा खुल्ला आकाशमा प्रकृतिमाझ बुझें । यति भनिरहँदा यो पनि स्मरण होस् कि बन्द कोठाको ज्ञानबिना त्यो खुल्ला आकाशको ज्ञान निरर्थक रहन्छ । अझ भनौं अर्थहीन । त्यसैले त भनिन्छ, सिकाइको परिधि बन्द कोठाभित्र मात्र सीमित नराखौं । निस्फिक्री खुला पँखेटा फिजाएर आकाशमा उडान भर्न पाऊन्,हरेकले ।
म परेँ घुम्नमा सौखिन मान्छे । फुर्सद हुँदा त सबै घुम्छन् । व्यस्तताका बावजुद फुर्सद मिलाएर घुम्दाको घुमाइ पो खास । यस घुमाइले विशेष अर्थ राख्छ । त्यसैले त म हरसमय घुमिहिँड्छु । पैसा, समय, यात्राका लागि सहयात्री मेरा लागि बाधक बनेनन् । भनिन्छ नि जहाँ इच्छा, त्यहाँ उपाय ।
अनि म घुम्न थालें…
वन क्याम्पस पोखरामा जोडिएको केही महिनामात्र बितेको थियो । वास्तवमै ७२ सालको भूकम्पले सबैको जीवनमा उथलपुथल मच्चाइदियो । वैशाख १२ को त्यो कालो दिन फेरि सम्झँदा मन कुडिन्छ । त्यही साँझ वन क्याम्पसका साथीहरुले फेसबुकमा गु्रप च्याट बनाए । सुखमा सबैले साथ दिन्छन्, दुःखमा साथ दिए पो साथ ! अनि छलफल भो गोरखामा भूकम्प पीडितहरुका लागि राहत वितरण र उद्धारका लागि गोरखा जाने योजना । त्यो पनि भोलिपल्टै ।
भोलिपल्ट । अर्थात १३ वैशाख । पराकम्पनहरु रोकिएका थिएनन् । आम जनमानसमा त्रास घटेकै थिएन । मैले फ्याट्टै निर्णय लिएँ स्वयंसँग, गोरखा यात्राको । क्याम्पसका ५ जान साथीहरु अमरसिंह चोकमा जम्मा भयौं । छिनमै हामी
जसरी अरुहरु पनि आइपुगे । पृथ्वीनारायण क्याम्पसका अन्य दाइ–दिदीहरु, कोही डाक्टरहरु त कोही नर्सहरुसमेत । अनि बन्यो ३० जनाको हाम्रो टोली ।
गोरखाको कुन कुन ठाउँहरु पुग्ने, के के गर्ने खेस्रा योजना तयार भयो । अनि एकैछिनमा ब्यानर तयार भयो । अमरसिंह चोक छेउछाउ एक दुई घण्टा सहयोग उठायौं । सक्नेले आ–आफ्नो तर्फबाट सहयोग गरे । कसैले औषधि, कसैले चाउचाउ बिस्कुट त कसैले लत्ताकपडा । उठेको पैसाले चामल, दाललगायत विभिन्न खाद्यान्न बोकेको हाम्रो बस हान्नियो गोरखातिर । अनि हामी राहत बोकेर गोरखा पुग्ने पहिलो टोली बन्यौँ ।
राहत वितरण कार्य पारदर्शी होस् भनेर जिल्ला कार्यालय गोरखामा दर्ता गरेर मात्र हाम्रो टोली बारपाकतिर लम्कियो । ठाउँठाउँमा बाटाहरु अवरुद्ध थिए । सडक छेउछाउ हात फिजाएर राहतको आश गरेर बस्नेहरु देख्दा मन अमिलो लाग्थ्यो । तर, हामी उनीहरुलाई सहयोग गर्न सकेनौं किनकि अति भूकम्प प्रभावित गाउँहरुमा पुग्ने हाम्रो योजना थियो । त्यस रात प्रहरी कार्यालयको खुल्ला चौरमा रात काट्यौं ।
दोस्रो दिन केही घण्टाको यात्रामा बालुवा भन्ने ठाउँ पुग्यौं। बारपार्क जाने बाटो भने अवरुद्ध थियो । त्यसैले हाम्रो योजना बन्यो सिम्जुङ गाउँ उक्लने । चार–पाँच घण्टाको हिडाइँमा बल्ल सिम्जुङ पुगियो । त्यहाँको अवस्था यति नाजुक थियो कि आँखा रसाएका थिए । कति बालबच्चा, त कति सुत्केरी महिलाहरु भूकम्पमा घाइते भएका थिए । टोली निरन्तर उपचारमा खटिरह्यो । लगेका लत्ता कपडा, खाद्यान्न सबैलाई बाड्यौं । गाउँ डुल्न जाँदा त्यहाँको अवस्थाले मन नराम्ररी रुवाएको थियो ।
हाम्रो सहयोग त हात्तीको मुखमा जिराजस्तै भयो । हामी चार दिनको बसाइँपछि फेरि पोखरा फर्कियौं । विभिन्न कार्यक्रमहरु आयोजना गरेर, आर्थिक संकलन गरेर फेरि विभिन्न भूकम्पग्रस्त ठाउँहरु पुग्यौं । गोरखा मात्र हैन, धादिङ र नुवाकोटसम्म हामी पुग्यौं । यसरी करिब १ महिनाको समयले मलाई समाजसेवामा मात्र हैन, घुम्न र बुझ्नसमेत प्रेरणा दियो । अनि मुना पलायो–नेपाल घुम्ने हुटहुटी ।
साइकल रहर :
भूकम्प गएको करिब ६ महिनापछि न हो भारतले नेपालमा आर्थिक नाकाबन्दी लगाएको । देशका हरेक क्षेत्रमा हाहाकारी मच्चिएको थियो । इन्धन अभावले देशैभर फाट्टफुट्ट मात्रामा गाडीहरु गुड्थे । म पढ्ने वन क्याम्पस, बस्ने चाहिँ लामाचौर । त्यसताका तीनवटा बस फेरेर मात्र पुगिन्थ्यो क्याम्पस । नाकाबन्दीको समयमा त क्याम्पस पुग्नै तीन घण्टा लगाउँथ्यो बसले । कहिलेकाहीँ त तीन चार पिरियडहरु सकिसकेका हुन्थे । त्यसैले मैले निर्णय गरें, साइकलमै क्याम्पस ओहोरदोहोर गर्ने ।
सामान्य साइकल लिएँ– सेकेन्ड ह्यान्डको । दाम थियो दस हजार । केही सहज भयो साइकल किनेपछि । बिस्तारै विभिन्न साइकले दाइहरुसँग चिनजान हुन थाल्यो । विश्व साइकलयात्री पुष्कर शाह, अग्रज दाई तीर्थराज अवस्थी मेरा प्रेरणाका स्रोत थिए । साइकलमा नेपाल र विश्व घुमेका किस्साहरु सुन्दा त साइकल लिएर कुदिहालौं लाग्यो । अनि ६० हजारको ऋण खोजेर नयाँ साइकल किनँे । त्यस रात नयाँ साइकलमा अबेर रातिसम्म साथीहरुसँग वन क्याम्पसको कम्पाउन्ड फन्को मारेको सम्झना ताजा भएर आउँछ ।
पहिला नजिकका गाउँठाउँहरु घुम्न थालँे । कास्कीका डाँडाकाडा गाउँठाउँ साइकलमै कुदें । बिस्तारै घुमघामको परिधिलाई बढाउँदै गए । पहिलो टाढाको यात्रा थियो, राइड टु सिक्लेस । तेस्रो सेमेष्टरको ह्याङओवर जो हटाउनु थियो । कसम्, साइकलमा सिक्लेस अझै पुग्ने रहर म¥या छैन । बिस्तारै घलेगाउँ, बन्दीपुर, सिरुबारी, बारपाक, लारपाक साइकलमै पुगें । जति घुम्दै गएँ, त्यति नै घुम्ने तलतलमा फस्दै गएँ ।
नयाँ ठाउँ अनि त्यहाँ भेटिएका मानिसहरु, उनीहरुको रहनसहन, जीवनशैली र कथाले मलाई यसरी तान्दै गयो कि म फुर्सद र समय मिल्यो कि साइकल लिएर कुदिहाल्थेँ । ‘घुमेर मात्र हुँदैन है दिवश तिम्ले, त्यहाँ भेटिएका सुख–दुःखका कथाहरुलाई शब्दमा उत्तानुपर्छ तिम्ले,’ साइकलसिटी पोखराका पूर्वअध्यक्ष प्रकाश ब्रजाचार्य सरले मलाई भन्नुहुन्थ्यो । अनि सुरु भयो,मेरो लेखन यात्रा ।
जहाँ जहाँ पुगें, त्यहाँको भिन्न स्वादहरु खोज्न थालेँ । अनि अक्षरमार्फत त्यसलाई शब्दमा उतारे । अनि तयार हुन्थ्यो आलेख । विभिन्न राष्ट्रिय पत्रिकाहरु र अनलाइनमा लेख्दै गए । सिक्दै गएँ । अझै सिकाइको क्रम रोकिएको छैन ।
साइकलमा ४२ दिन :
साल २०७५ । दसैं आउन मात्र केही दिन बाँकी थियो । साथीहरु पोकापुन्तुरो कसेर घर फर्कने सुरसारमा थिए । मलाई भने नेपाल घुम्ने हुटहुटी पलायो । साइकलमा नेपालका २९ जिल्ला घुम्ने योजना । त्यो पनि एक्लै, त्यो पनि साइकलमा । फगत यो घुमघाम मात्र नहोस् भनेर विभिन्न अभियानहरु सँगै जोडेको थिएँ। आर्थिक सहयोगको जोहो आफैले गरेको थिएँ । घरबाट एक सुको मागिन् ।
जहाँजहाँ पुग्थँे, त्यहाँ रेडियो, पत्रपत्रिका एवं आम जनसमुदायमाझ यात्रामा सन्देशहरु सुनाउँथे । धेरैले हौस्याउँथे । साहस र आँटको प्रशंसा गर्थे । उदयपुरबाट सुरु भएको मेरो यात्रा प्रदेश १ का १३ जिल्लाहरु घुुमेर तराइका सबै जिल्लाहरु घुमेर ४२ औं दिनमा महेन्द्रनगरमा गएर टुंगिएको थियो ।
यस यात्राले मेरो सोच्ने, बुझ्ने र नेपाल हेर्ने दृष्टिकोण नै बदलिदिएको थियो । एकल यात्राले त वास्तवमा म को हुँ भन्ने सिकायो । अझै पनि घुम्ने धीत मरेको छैन । पहिला देश अनि मात्र विदेश, यही मूलमन्त्र जपेर सारा नेपाल घुम्ने सपना कुनै दिन पक्कै साकार होला कि !





