बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘दलित विधेयकमा अडिग’

‘दलित विधेयकमा अडिग’


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०७८, बुधबार

प्रदेशमा दलित विधेयक ल्याउनुपर्छ भन्नेमा म अडिग छु । मुख्यमन्त्री तथा मन्त्री ज्यूहरुसँग त्यो कुरा उठाएको छु । आउने प्रदेशसभाको अधिवेशनमा दलित विधेयक पास गराउनेमा मेरो भूमिका रहन्छ । हामीसँग भएको बजेटमा दलितहरुले कसरी आयआर्जन गर्न सक्छन् र कसरी व्यवसाय गर्न सक्छन् भन्नेमा बढी प्राथमिकता दिनेपर्छ भन्ने सोचमा छु ।

अघिल्लो पटक मन्त्री बन्ने पक्कापक्कीसहित दौरासुरुवाल लगाएर पोखरा आउँदै गर्दा प्रदेश सांसद डोबाटे विश्वकर्माले दोबाटोमै आफ्नो नाम काटिएको जानकारी पाए । निष्ठाको राजनीति गरेका डोबाटेको नाम काट्दै पोखराका व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका विन्दुकुमार थापालाई मन्त्री बनाइयो । थापा मन्त्री बनेसँगै प्रदेश सरकारको चौतर्फी विरोध भयो ।
फलस्वरुप एक महिनाअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रिमण्डल विस्तार गर्दै डोबाटेलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरे । प्रदेश मन्त्रिण्डलको १२ औं मन्त्री बनेका डोबाटे एक महिना बितिसक्दा पनि जिम्मेवारी पाएका छैनन्, फुर्सदमै छन् ।
प्रदेशका एकमात्र बिना विभागीयमन्त्री विश्वकर्मासँग वर्तमान राजनीतिक परिवेश र आगामी योजनाबारे ढोरपाटनकर्मी विजय नेपालीले गरेको कुराकानीको सम्पादित अंश :

प्रतिपक्षबाटै एकैचोटि सत्तामा पुग्दा कस्तो अनुभव गरिरहनु भएको छ ?

सोचेका थिएनौं । यो राष्ट्रिय राजनीतिको परिघटनाले ल्याएको अवस्था हो । यसले राजनीतिमा ठूलो सम्भावनाहरु भइराख्छन भन्ने देखाएको भन्ने लाग्छ ।
०७४ सालको निर्वाचनमा जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिकामा रहन भन्दै मतदान दिए । त्यसपछि हामीले जनताले दिएको अभिमतको सम्मान ग¥र्यौं र सहज रुपमा लिँदै अघि बढ्यौं । सरकारले निश्चय नै हामी प्रतिपक्षमा बस्नेलाई हेर्ने दृष्टिकोणमा फरक थियो नै ! हामी सरकारमा छौं जे गरेपनि हुन्छ भन्ने लागेको रहेछ । दुई तिहाइ बहुमत भएको बेलामा प्रतिपक्षी भनेको केही होइन भन्ने मानसिकता थियो, त्यसलाई सहजै लिएका थियौं ।

मन्त्री बनेको एक महिनासम्म जिम्मेवारी पाउनु भएको छैन त ?

हो त्यो पाइएन । अब मुख्यमन्त्री ज्यूले भन्नुहुन्छ कुन दिने कहिले दिने भनेर मलाई थाहा हुने कुरा भएन ।

कुन मन्त्रालय दिए हुन्थ्यो भन्ने छ ?

यही नै भन्ने छैन, त्यस्तो केही छैन । अब मुख्यमन्त्रीले मलाई कुन जिम्मेवारी दिनुहुन्छ भन्नेमा नै भर पर्छ । जुन उपयुक्त हुन्छ त्यही दिनुहुन्छ भन्ने आशा गरेको छु ।

निष्ठाको राजनीति गर्नेलाई हटाएर धनाढ्यलाई मन्त्री दियो भनेर निकै आलोचना पनि भयो । यसलाई कसरी हेर्नु भएको छ ?

सांसद् भएपछि मन्त्री हुन पाए भन्ने कुरा स्वभाविक हो । जुनबेला सरकार बन्यो त्यसपछि हाम्रो पार्टीको छलफल पनि भयो । त्यसमध्ये मन्त्री बन्नेमा मेरो पनि नाम लिस्टमा थियो तर, विविध कारणले त्यतिबेला पुग्न सकिएन त्यही कारण हुन सकिएन, त्यही हो ।

विविध कारण भन्नाले ?

त्यो कारण मलाई थाहा छैन, के थियो भन्ने । पार्टीभित्रको आन्तरिक कुरा हुन् । धेरै कुरा खोलिनँ, कहाँ के कारण के थियो भन्नेतर्फ म गइनँ । पर्न (मन्त्रिमण्डलमा) पथ्र्यो तर, नपरे पनि मैले त्यसलाई सहज तरिकाले नै लिएँ ।

त्यसपछि आएका समाचारका कारण नै मन्त्री बन्नुभयो भन्ने कुरा सत्य हो ?

त्यसमा केचाहिँ आग्रह गर्न चाहान्छु भने जबसम्म म मन्त्री बन्नुपर्ने र अवसर पाउनुपर्ने हो त्यो बेला छुट्न गएकै हो । जुन कुरालाई सारा मिडिया, शुभचिन्तक र नागरिकले काम गरेकै आधारमा पाउनुपर्ने थियो तर, पाएन भन्ने मूल्यांकन गरेकै आधारमा यसले पाउनुपर्छ भन्ने कुरा सारा देशभरि आवाज उठ्न थाल्यो । त्यसका लागि पनि म धन्यवाद दिन चाहान्छु । कलम चलेकै कारण पाएको हुँ । यो मान्छेलाई अन्याय भयो भन्ने आवाज उठ्यो जसको कारण मैले न्याय पाएको ठानेको छु ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा आउनेबित्तिकै मन्त्री बन्नुभयो । आशिष लागेको हो ?

होइन यसको स्पष्ट कुरा छ । जुनबेला राष्ट्रिय राजनीतिबाट परिवर्तनको सुरुआत भएको थियो, त्यहीबेलामा प्रदेशमा पनि सरकार फेरिने देखिएको थियो ।
त्यतिबेला नै पार्टी सभापति देउवाजीले ‘डोबाटेलाई मन्त्री बनाउन पर्छ’ भन्ने मनाशाय व्यक्त गर्नु भएको थियो । त्यो बेला हुन सकिएन । पछिल्लो समयमा पनि उहाँले यहाँको मुख्यमन्त्री ज्यूसँग सल्लाह गर्ने कुरा, पार्टी सभापतिसँग सल्लाह गर्ने कुरा चलिरह्यो । उहाँले छलफलमा हामीले कतै समावेशीता गरेनौं कि भन्ने पनि व्यक्त गर्नु भयो । त्यसमा सिंगो पार्टीदेखि जिल्लावासीसम्मका सबै साथीहरुको भावनालाई उहाँले ग्रहण गर्नुभयो ।
त्यतिबेला न्याय दिन सकेनौं कि भन्ने उहाँलाई अनुभूति भयो र गठबन्धनको सरकारसँग छलफल गर्दापनि त्यही आधारमा अघि बढेको हो । र, प्रधानमन्त्रीज्यू यहाँ आएको बेलामा हार्मी पार्टीको कार्यकर्ता पनि हौं, सांसद् पनि हौँ । २४ गते साक्षरता दिवस पनि थियो त्यो दिनमा चाहि गेस्ट हाउसमा हुनुहुन्थ्यो । हामीले भेट्नु कर्तव्य पनि हो । मसहित ३ जना गएर भेट्यौं, जय नेपाल भन्यौँ ‘के छ ?’ भन्नुभयो ठिक छ भने अनि निस्किएँ त्यही हो ।

तपाईं मन्त्री भएको कुरालाई कांग्रेसको आसन्न अधिवेसनसँग पनि त जोडिएको छ भनिन्छ नि ?

त्यो पनि एउटा पाटो होला ! मैले त्यसरी हेरको छैन । म पार्टीमा लामो समयदेखि लागेको मान्छे । चार दशकभन्दा लामो राजनीति गरिसकें । हाम्रो संविधानले गरेको व्यवस्था अनुसार कतै कार्यान्वयन भएन कि भन्ने लाग्यो । त्यही अनुभूतिको आधारमा संविधानको मर्म र भावना, मेरो पनि आफ्नो लगनशिलताको आधारमा भएको भन्ने मलाई लाग्छ ।

शेरबहादुर देउवाको जिल्लामा रामचन्द्र पौडेल पक्षले खेलेको खेलका कारण तनहुँमा तपाईंलाई मन्त्री बनाएर प्रमले नयाँ खेल खेलेको भन्ने सुनिन्छ सत्य हो ?

होइन, यस्तो खाले कुरा मलाई निराधार जस्तो लाग्छ । पार्टीको एउटा सभापति जो प्रधानमन्त्री हुनुहुन्छ उहाँले म एउटा कार्यकर्तालाई प्रदेशको जिम्मेवारी बनाउने कुरामा खेल खेल्नुपर्ने जस्तो कुनैपनि कुरा छैन । आखिरमा पार्टीको कार्यकर्ता हामीलाई नेताले सहयोग गर्ने हो र हामीले पनि सहयोग गर्ने हो । हामी सम्मान गर्छौ त्यसैले यो खेल खेलेको भन्ने लाग्दैन ।

दलित आन्दोलन र कांग्रेसबीचको सम्बन्ध कस्तो छ ?

दलित आन्दोलन र कांग्रेसबीच नङ र मासुको सम्बन्ध हो भन्ने मैले अनुभूति गरेको छु ।

मन्त्री बनिरहँदा प्रदेशमा दलितका लागि के कस्ता योजना ल्याउँदै हुनुहुन्छ ?

गण्डकी प्रदेशमा आजमात्रै मैले बैठकमा पनि कुरा राखेको छु । दुई चरणका कुरा छन् । प्रदेशमा पहिला कुरा त दलित विधेयक ल्याउनुपर्छ भन्नेमा म अडिग भएको छु । मैले मुख्यमन्त्री तथा मन्त्री ज्यूहरुसँग त्यो कुरा उठाएको छु ।
आउने प्रदेशसभाको अधिवेशनमा दलित विधेयक पास गराउनेमा मेरो भूमिका रहन्छ भन्ने हो । अर्को कुरा हामीसँग भएको बजेटमा दलितहरुले कसरी आयआर्जन गर्न सक्छन् र कसरी व्यवसाय गर्न सक्छन् त्यतातिर बढी प्राथमिकता दिनेपर्छ भन्ने सोचमा छु ।

दलित विधेयक किन आवश्यक ?

दलित विधेयक आउन आवश्यकता विविध कुराहरु छन् । विधेयक अर्थात कुनैपनि ऐन कानून तथा नियमहरु चाहिँदो रहेछ । संविधान भएपनि हाम्रो ऐनहरु बनेका छन् । गण्डकी प्रदेशमा हाम्रा ४६ वटा विधेयकहरु पास भए । हरेक कुरा ऐन, कानुन, विधेयक नभई कुनैपनि प्रक्रिया अघि बढ्न सक्दैनन् । त्यसकारणले हामीले गण्डकी प्रदेशमा पनि दलितसम्बन्धी विधेयक ल्याउन लागेका हौं ।

अहिले बिना विभागको मन्त्री हुनुहुन्छ, मन्त्रालय सम्हाल्दा बजेट नहुने होला त्यतिबेला समस्या आउँदैन् ?

जहाँ समस्या त्यहाँ उपाय भनिन्छ । समस्याहरु आउँछ त्यसको उपाय आउँछ । मन्त्रालयको जिम्मा पाएपछि बजेटले रोकिन्छ जस्तो मलाई लाग्दैन । पहिला मन्त्रालय स्थापना भइसकेपछि बजेट व्यवस्थापन पनि होला ।

आगामी योजनाहरु के के छन् छ ?

आगामी योजनाहरुमा मेरो व्यक्तिगत योजना केहि पनि छैनन् । मुख्यकुरा गण्डकी प्रदेश सरकारको योजना के हो भन्ने कुरा नै हो । प्रदेश सरकारको योजना भनेको अहिलेचाहिँ विकास निमार्णका कामभनेको त हुनेनै भयो । पहिलो काम भनेको चाहिँ प्रदेशबासीलाई कोरोना विरुद्धको खोप सहज रुवमा प्रदान गर्नुनै हो ।
अर्को कुरा कोभिडबाट मृत्यु भएका परिवारलाई ५० हजार रुपैँया दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । तेस्रो कुरा भनेको कोभिडबाट अभिभावकको मृत्यु भएको परिवारको बालबालिकालाई मासिक ५ हजार रुपैँयाका दरले दिने, महिला दिदीबहिनीका लागि पाठेघर तथा स्तन क्यान्सरका विरामीका लागि निशुल्क शल्यक्रिया प्रदेश सरकारले गरिदिने गरी विधेयक आउँदै छ ।
चौथो कुरा भनेको सडक बालबालिकालाई सडकमा हुन नदिने कार्यक्रम अघि बढेको छ । प्रदेश सरकारको गौरवको आयोजनालाई कसरी अघि बढाउने भन्ने योजनानै हुन् ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->