नवलपुर/ गण्डकी प्रदेश सरकारले टेवुल गरेको सञ्चार विधेयक पत्रकारका हकहितविपरीत हुँदै नहुने विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले बताएका छन् । आज बिहीबार कावासोतीमा आयोजित दाउन्ने साप्ताहिक पत्रिकाको १२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा प्रदेश सांसदसमेत रहेका लामिछानेले यस्तो बताएका हुन् ।
सभापति लामिछानेले संसद तथा गण्डकी सरकार हुँदै अहिले उक्त विधेयक विधायन समितिमा आइपुगेको बताए । उनले आफू पनि राजनीतिमा प्रवेश गर्नुअघि पत्रकारिता गर्दा भोगेका अनुभव स्मरण गर्दै पत्रकारिता क्षेत्रमा रहेका चुनौती र समस्याका विषयमा जानकार रहेकाले पत्रकार र पत्रकारिता क्षेत्रमा सरकारले जारी गर्ने विधेयक बाधक हुने गरी आउँदै नआउनेमा ढुक्क हुन आग्रह गरेका छन् ।
‘विधेयक फिर्ता हुन सक्दैन । मैले राजनीतिमा लाग्नुअघिपत्रकारिता गरेकाले यसभित्रका समस्या अनुभव गरेका छु । संयोगले अहिले म विधायन समितिको सभापति छु,’ उनले भने, ‘के के बुँदामा संसोधन गर्न सकिन्छ पत्रकार तथा विज्ञहरुबीचको छलफलबाट टुंगो लगाउँला । विधेयक तपाईंहरुको हितविपरीत आउँदैन ।’
कार्यक्रममा गण्डकी प्रदेश पत्रकार महासंघका अध्यक्ष नारायण शर्माले सुशासनका लागि पत्रकार र नेता सुध्रिन जरुरी भएको बताए । उनले भने, ‘पत्रकारले आफ्नो क्षमता वृद्धि गरेर र नेताले आफ्ना धारणा मात्र ठीक अरुका विचार बेठीक भन्ने अहमता हटाएर आफूलाई सुधार्नुपर्नेछ ।’
कार्यक्रममा वक्ताहरुले ‘फेक’ समाचारको श्रृंखलामा वृद्धि हुँदा मूलधार पत्रकारितामाथि असर परेको धारणा राखेका थिए । दाउन्ने साप्ताहिकका प्रकाशक रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व कर्मचारीद्वय ज्ञानुमाया पंगेनी र सीता सापकोटालाई सम्मान गरिएको थियो ।





