तनहुँ/ तनहुँको भानु–७, बसन्ततपुरको डाँडाथुम्का भन्ने टाकुरोमा एउटा मन्दिर छ ।मन्दिर खासै कलात्मक छैन । त्यसो त, थुम्कोको थानीमाई मन्दिरलाई नयाँ रुप दिएको धेरै भएको पनि छैन । २०७२ सालको भुइँचालोले भत्काएको मन्दिरलाई स्थानीय सरकार र अन्य व्यक्तिको सहयोगमा पुनःनिर्माण गरिएको हो । मन्दिरको स्वरुप फेरिएर हैन,आस्थाले तानिएर भक्तहरु थानीमाइ पुग्छन् ।
मन्दिरको इतिहास ४ सय वर्ष पुरानो छ । किंवदन्ती अनुसार साँझपख भोटबाट जिम्बु बेच्दै आएका आमाछोरी डाँडाथुम्का पुगे । स्थानीयसँग बास माग्दा उनीहरुलाई बास दिइएन । बाध्य भएर आमाछोरी कटुसको बोटमुनि बास बसे । रातमा आएको असिनापानीले उनीहरु दुबैको ज्यान लियो । त्यसपछि गाउँमा अनिष्ट हुन थाल्यो । एकरात स्थानीय जमलसिंह पाटामगरले सपना देखे । सपनामा उनै आमा भोटिनी थानीमाई बनेर आएकी थिइन् । थानीमाईले आफूलाई पूजाआजा गरेर खुसी बनाए अनिष्ट नगर्ने बताइन् । भने अनुसार नै गरियो । आमाछोरीको मूर्ति राखियो । हरेक वर्ष गाउँलेले पूजा चलाए । मन्दिरमा अहिले पनि आमा र छोरीको मूर्ति छ त्यसपछि अनिष्ट हुन छाड्यो । स्थानीय मगरहरु मन्दिरको पूजारी बने भने अन्य जातजातिहरुले पनि उनीहरुलाई पच्छ्याए । थानीमाईमा अहिले सरजीत पाटा मगरसहित कृष्णबहादुर आले र वीरबहादुर रानामगर पुजारी छन् । कालान्तरमा दुःख–कष्ट पर्दा थानीमाईलाई नै भाक्न थालियो । थानीमाईले आममान्छेको मनोकांक्षा पूरा गर्दै गइन् र वरपरका सबै जातजातिको आस्थाको केन्द्र बनिन् । भक्तहरु पहिला भाकल गर्छन् र बाजागाजासहितको डोली र सोली बोकेर मन्दिर पुग्छ्न् ।साउनबाहेक सबै महिनाको सोमबार र मंगलवार थानीमाइ पुजिन्छ ।औंशी र एकादशीमा पनि पूजा हुँदैन । डोली भने कात्तिक र माघ महिनामा बढी आउने मन्दिर व्यवस्थापन समितिका सचिव हर्क थापाले बताए । उनका अनुसार लमजुङ,तनहुँ,गोरखाबाट आउने भक्तजनको संख्या ठूलो भएपनि अन्य जिल्लाबाट समेत डोली आउने गर्छ ।
सचिव थापाका अनुसार रातो कपडाले छोपेर ल्याइने डोलीमा तोरण राखिएको हुन्छ भने सोलीमा पूजाका सामग्री र नैवेद्य । सालका सिमलदार र लिंगो अनि डोलीसहित मन्दिर आउनेहरुले नाचगानसहित मन्दिरको ३ पटक परिक्रमा गर्छन् । डोलीमा रहेको तोरण मन्दिर परिसरमा रहेको देवलमा तीनसरो घुमाएर टाँग्छन् । पूजाआजापछि डोली खाली लगिन्न । डोलीमा बालिकालाई राखेर फर्काउने चलन रहेको छ । सचिव थापाका अनुसार यो मन्दिरमा बली चढाइन्न । काटमार नहुने र बत्ती पनि बाहिरै बालिने परम्परा रहेको उनले सुनाए ।
थानीको ढोका सबैलाई खुला
सबै जातका व्यक्तिलाई निर्वाध मन्दिर प्रवेश र पूजाको अवसर पनि थानीमाईको विशेषता हो । सचिव थापाका अनुसार मन्दिरमा दलितहरुले पनि डोली र सोलीसहित पूजा गर्न पाउँछन् । धेरैजसो मन्दिरमा दलितलाई प्रवेशबाट वञ्चित भएकै बेलामा पनि थानीमाईमा भेदभाव नगरिएको उनले सुनाए ।
बाजासँगै नाचगान, अद्भूत दृष्य

भानु–७, बसन्तपुरका वडाध्यक्ष रामकृष्ण देवकोटाका अनुसार थानीमाईको अर्को विशेषता भनेको यहाँ डोलीसँगै आउने बाजा र नाचगान नै हो । अघिअघि पञ्चेबाजा र त्यसको तालमा नाच्दै–झुम्दै गरेको दृष्य सायदै अर्को कुनै मन्दिरमा देखिने उनले अनुमान लगाए । ‘मंगलबारको दिन यहाँ आउने डोली र डोलीको पछिपछि बज्ने बाजा अनि नाचगानले डाँडो नै उल्लासमय बन्छ’,उनले भने,‘आस्थासँगैको यो रमाइलो अन्यत्र हुँदैन ।’
कात्तिक २३ गते मंगलबार थानीमाईमा पञ्चेबाजा बजाउँदै आइपुगेकी गोरखाकी पार्वती बस्नेतले पञ्चेबाजासहित डोली ल्याउने थानीमाईको परम्पराजस्तै भएको बताइन् । २०७५ सालदेखि पञ्चेबाजा बजाउन थालेको बताउने उनले भनिन्,‘थानीमाईमा म आफै नरसिंङ बजाएर थुप्रै पटक आएको छु । अरु बजाउनेहरुसँगै नरसिंङ फुकेको छु ।’
वडाध्यक्ष देवकोटाका अनुसार मन्दिरको अर्को विशेषता भनेको बिहानै देखिने हिमाली दृष्य र टारहरुमा तालजस्तै गरी बस्ने कुहिरो पनि हो । डाँडामा रहेको मन्दिरबाट अन्नपूर्ण र लमजुङ हिमश्रृंखला मज्जाले देखिन्छ भने वरपरका टारहरुमा तालजस्तै हुस्सु लागेको हुन्छ ।

पहिला–पहिला हिँडेरै भक्तजनहरु थानीमाई पुग्थे । घरबाटै ल्याइएको खाजा (सेलरोटी, च्यूरा, तरकारी) सहितको प्रसाद बाटोमा खाएर घर फर्कन्थे । अहिले भने मोटरमै थानीमाई पुग्न सकिन्छ । डुम्रे–बेसिसहर सडक खण्डको बाइजजाँघरबाट ८ किलोमिटरको कच्ची बाटो यात्रापछि थानीमाई पुगिन्छ । डुम्रे–भन्सार–चुँदी–टुहुरेपसल तथा चन्द्रावतीबाट पनि थानीमाई पुगिन्छ । तर, सबै बाटाहरु कच्ची हुन् । मन्दिरमा वार्षिक ६० हजारको हाराहारीमा भक्तजन पुग्छन् । सचिव थापाका अनुसार मन्दिरमा आउने एउटा डोलीको ५ सय रुपैयाँ शुल्क लिइन्छ । गएको कात्तिक २३ गते मंगलबार त्यहाँ ९२ वटा समूहले डोली चढाए । उनका अनुसार सोमबार हरिबोधिनी एकादशीको अवसरमा गाउँमै पनि सत्यनारायणको पूजा आयोजना गरिएको छ । सत्यनारायणको पूजापछि मन्दिरमा डोली लिएर आउनेको संख्या ठूलो हुने उनले अनुमान लगाए ।





