पोखरा/कास्की कांग्रेस क्षेत्र नम्बर १ बाट खुला (पुरुष) तर्फ २६ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि उम्मेदवार थिए । क्षेत्र नम्बर २ मा खुल्लातर्फ २६ जना र क्षेत्र नम्बर ३ मा २५ जना मैदानमा ओर्लेका थिए । तीनवटा क्षेत्रका क्रमशः ८ सय ३३ ७ सय ९९ र ७ सय ३६ मतदाताहरुले उनीहरुलाई मत दिँदै थिए । तीमध्ये मतदाताले १० जना रोज्न पाउँथे । बढी रोजे मत बदर हुन्थ्यो भने घटी हुँदाको अवस्थामा सदर । सबै क्षेत्रमा खुला महिला, खस–आर्य पुरुष र महिला,आदिवासी जनजाति मलिला तथा पुरुष,दलित महिला तथा पुरुष सबैमा आवश्यकताभन्दा बढी उम्मेदवारी परेको थियो । चुनावबाट श्रेष्ठता हाँसिल गर्न खोज्नु अनौठो भएन ।
चुनावमा २ प्यानल बनाएर उत्रिएकाहरुले प्यानलसहितको ‘चिट’ बाँडेका थिए । प्यानलमा पर्नेहरु आफूलाई मत आउनेमा ढुक्क थिए भने कुनैपनि प्यानलमा नपरेका र योगदान एवं लोकप्रियताको आधारमा जित्नेमा ढुक्क रहेकाहरु पनि प्रतिष्पर्धाबाट चुनिनेमा आशावादी थिए । तर, प्रतिष्पर्धामा उत्रेकाहरु त्यतिबेला आश्चर्यमा परे,जतिबेला मतगणना सुरु भयो ! मतपत्र यस्तो भेटियो कि, कतिमा एक जनालाई मात्र मत जाहेर गरिएको थियो भने कतिपयमा ४–५ जनालाई मात्रै मत दिएर खाली राखिएको थियो । कुनै उम्मेदवारको पक्षमा त ७० भन्दा बढी ‘एकछापे’ मत खसेको थियो । नियोजित ढंगले खसाइएको ‘एकछापे’मतपत्र झण्डै किनेको र घरमै छाप लगाएर मतदान बाकसमा खसालिएको जस्तो देखिन्थ्यो । जसका कारण, पार्टीमा अविछिन्न क्रियाशील तथा योगदान दिएकाहरु प्रतिष्पर्धाबाट बाहिरिए भने तिकड्मबाजी गर्नेहरु महाधिवेशन प्रतिनिधि बन्ने अवस्था आयो ।
महाधिवेशन प्रतिनिधिमा विजयी तथा गण्डकी प्रदेशको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका देवराज चालिसेले यो प्रवृत्तिलाई ‘गैराजनीतिक आत्मकेन्द्रीत’ राजनीतिको संज्ञा दिए ।
‘यो प्रवृत्तिले सिद्धान्तको विचलन हुन्छ, पार्टीप्रति निष्ठा कम र व्यक्ति स्वार्थ हावी हुन्छ’,उनले भने,‘यो कसैले हार्ने जित्नेभन्दा पनि अवसरको समानताबाट व्यक्तिलाई वञ्चित गरिनु हो ।’
मतगणनामा बसेका एक प्रतिनिधिका अनुसार गण्डकीका मन्त्री विन्दुकुमार थापा र कुमार खड्कालाई सबैभन्दा बढी एकछापे मत खस्यो ।त्यसैगरी,खस आर्य (महिला) तर्फकी खुलातर्फकी उम्मेदवार मिलन थापा र लक्ष्मी पाण्डेलाई पनि उस्तैगरी एकछापे मत खसेको थियो । कांग्रेसको राजनीतिमा लामो समयदेखि क्रियाशील तथा हरेक आन्दोलनको मोर्चामा खटिने उमा ठकुरी झिनो मतले पराजित हुनुको कारण नै त्यही भएको उनले बताए ।उमा स्वयंले पनि व्यक्ति केन्द्रीत र गुट हावी हुँदा आफू पराजित भएको बताइन् । सामान्य परिवारबाट कांग्रेस राजनीतिमा सक्रिय उनले पार्टीभित्र मौलाएको पैसा र शक्तिको खेलले कांग्रेसलाई हित नगर्ने जिकिर पनि गरिन् । कास्की क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा पराजित नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले पनि एकछापे मत हाल्ने प्रवृत्तिले योग्य र इमान्दार नेताहरुमाथि अन्याय भएको जनाए ।कास्की क्षेत्र नंबर २ मा खस–आर्य समूहबाट खुला महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका र विजयी मदन बस्नेतले कुनै एक उम्मेदवारको पक्षमा एकछापे मत खस्नु दुर्भाग्यपूर्ण भएको बताए । ‘यसले गर्दा पार्टीको लागि आन्दोलन र हरेक मोर्चामा खटिने क्रियाशिल कार्यकर्ता नेतृत्वमा आउन नसक्ने अवस्था आएको स्वीकारे । ‘किनेर ल्याएजस्तै एकछापे मत खस्नु भनेको प्रतिष्पर्धाबाट भाग्नुजस्तै हो’,उनले भने,‘यसमा सुधार हुनुपर्छ ।’ देशैभर यही प्रवृत्ति हावी हुँदा धेरै क्रियाशिल र योग्य नेता पाखा लागेको पनि उनले सुनाए ।
कास्कीको राजनीतिमा क्षेत्री–काजी हावी !
कास्कीको राजनीतिमा पछिल्लो समय क्षेत्री–काजीहरु हावी हुन थालेको टिप्पणी हुन थालेको छ । २०६८ सालको जनगणना अनुसार कास्कीको जनसंख्या ४ लाख ९२ हजार ५८ रहेको छ भने गुरुङको १६.६, ब्राह्मणको २७.८ र क्षेत्रीको जनसंख्या १४.६ प्रतिशत रहेको छ । संविधान सभाको निर्वाचनको क्रममा गण्डकीलाई तमुवान बनाउने मागसहित आन्दोलन चर्कियो । तमुवानको नारालाई यो क्षेत्रका ब्राह्मण–क्षेत्रीले खासै रुचाएनन् । आफूहरु पनि आदिवासी नै भएको जिकिर गरे/गरिरहेका छन् । क्षेत्रीहरुले आन्दोलन नै छेडे । २०६६ सालमा महायज्ञ लगाए र भवन निर्माणको लागि पैसा जुटाए । पोखराको रामघाटनेर भवन किनियो । आन्दोलनका अगुवाहरुले सडकमा निस्केको शक्तिमा राजनीतिक भविष्य देखे । २०६९ सालको जेठमा हालका गण्डकीका मन्त्री कुमार खड्काको नेतृत्वमा अखण्ड नेपाल पार्टी स्थापना गरे ।२०७० सालको संविधानसभा निर्वाचनमा अखण्ड नेपाल पार्टीले सहभागिता जनायो । समानुपातिकतर्फ ३६ हजार ८ सय २३ र प्रत्यक्षतर्फ १२ हजार ५ सय ९० मत प्राप्त ग¥यो ।
पार्टीका अध्यक्ष कुमार खड्का समानुपातिक मतको आधारमा संविधानसभा सदस्य र मन्त्री नै भए । उनको सहभागितामा निर्मित संविधानले क्षेत्रीहरुको एजेण्डा पूरा गरेन । एजेण्डा बोकेर को सति हुने ? २०७४ असोजमा कुमार खड्काले अखण्ड नेपाल पार्टीलाई नेपाली कांग्रेसमा विलय भएको घोषणा गरे । उनी प्रदेश सभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सांसद भएर गण्डकी प्रदेश सभा छिरे । अहिले उनी मन्त्री छन् । अखण्ड लथालिङ्ग भएपनि क्षेत्रीहरुले त्यो बेलादेखि क्षेत्रीहरुमा देखिएको जातीय एकता कायमै छ । उनीहरु चुनावको बेला आफ्नो शक्ति देखाउने गर्छन् । यहाँका ठूला पार्टी कांग्रेस र एमालेमा क्षेत्रीहरुको राम्रै उपस्थिति र पकड छ । चुनावको बेला क्षेत्रीहरु एक हुन्छन् भन्ने सन्देश प्रवाह भएको छ । कांग्रेसको महाधिवेशन प्रतिनिधि छान्दा पनि त्यस्तै देखिएको आरोप भित्रभित्रै लगाउन थालिएको छ । त्यसो त, गुरुङहरुको हकमा पनि यही आरोप बेलाबेला लगाइन्छ । तर, खस–आर्य कोटाबाट महाधिवेशन प्रतिनिधि बनेका मदन बस्नेतले त्यो कुरा स्वीकारेनन् । उनले भने,‘म पनि क्षेत्री हुँ,विधानले व्यवस्था गरेको कोटाबाट उम्मेदवारी दिएको हुँ तर क्षेत्री–काजीहरुको मात्रै बैठक बसेको जानकारी छैन ।’
सच्याउनुपर्ने माग
कांग्रेस नेता देवराज चालिसेले पार्टीभित्र हुने अस्वस्थ प्रतिष्पर्धाको अन्त्य गर्न र योग्य व्यक्तिलाई रोक्ने बाटो बन्द गराउन आवश्यक सदस्य संख्या सबैलाई मतदानको व्यवस्था गर्नुपर्ने बताए । पोखरा उद्योग वाणिज्य संघको चुनावी प्रक्रियाको उदाहरण दिँदै उनले भने,‘त्यहाँ आवश्यक १४ जना सदस्यलाई अनिवार्य मत दिनुपर्ने व्यवस्था गरिएको छ, कांग्रेस निर्वाचनमा पनि त्यस्तै हुनुपर्छ ।’ उनले १० जनालाई मत दिनुपर्ने व्यवस्थालाई १० जना छान्ने अधिकार दिइएको रुपमा अथ्र्याए । व्यक्तिसँग कसैलाई मत दिन्न अधिकार भएको तर त्यसको लागि ‘नो भोट’को व्यवस्था गरिए राम्रो हुने बताउँदै उनले अगाडि भने,‘कि नो भोट हुनुप¥यो तर प्रतिक्रियाविहीन हुनु पाइँदैन, भोटिङ सिस्टममा परिवर्तन गनुपर्छ, यो व्यक्तिको जितहारसँग जोडिएको विषय हैन ।’
पोखरा उद्योग वाणिज्य संघमा पनि उम्मेदवारहरुले आफूबाहेक अरुलाई मत नहाल्ने प्रवृत्ति बढेपछि निर्वाचन नियमावली नै संशोधन गरेर आवश्यक संख्यामा अनिवार्य मत दिनुपर्ने व्यवस्था गरेको थियो । व्यवसायीको चुनावमा तोकिएकोभन्दा कम वा बढी व्यक्तिलाई मतदान गरिए सोझै मत बदर हुन्छ । कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधि बन्नबाट थोरै मतले वञ्चित दामोदर अधिकारीले पनि अनिवार्य मतदानको व्यवस्था नगरिए योग्य व्यक्ति पाखा लाल्ने र मत किन्ने अवस्था आउने बताए । अधिवक्तासमेत रहेका उनले भोलि हुने जिल्ला अधिवेशनको क्रममा सदस्य छनौटमा पनि त्यही अवस्था आउने उनले अनुमान लगाए ।





