बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

केन्द्रीय समितिमा रहेका स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान हटाउनुपर्छ

केन्द्रीय समितिमा रहेका स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान हटाउनुपर्छ


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०७८, बुधबार

यतिबेला कांग्रेस प्रदेश अधिवेशनको चटारोमा छ । प्रदेश सकिएलगत्तै केन्द्रीय महाधिवेशनको समय सुरु हुँदैछ । कांग्रेस महाधिवेशनका बारेमा विद्यार्थी राजनीति गर्दै नेविसंघका २ पटकसम्म सह–महामन्त्री भइसकेका र हाल बागलुङ क्षेत्र २ बाट महाधिवेशन प्रतिनिधिमा अत्याधिक मत ल्याई विजयी भएका निसिखोला ४ का टेकराज पौडेलसँग गरिएको कुराकानी ।

 

नेपाली कांग्रेसको १४ औ महाधिवेशनअन्तर्गत वडा,क्षेत्र, जिल्ला अधिवेशन सकियो अब चाहि प्रदेश अधिवेशनको तयारी हुँदैछ । अधिवेशनलाई कसरी हेर्नुभएको छ ?

हाम्रो १४ औँ महाधिवेशनअन्तर्गत विभिन्न तहको निर्वाचन सकिसकेका छौँ । अब हामी प्रदेश र केन्द्रको महाधिवेशन तयारीमा जुटिरहेका छौँ । सँगसँगै त्यसको नेतृत्वमा पुग्न साठिथहरुसंग छलफल गर्ने विचार विमर्श पनि गरिरहेका छौँ । जिल्लासम्म आइपुग्दा देशभरी नै उत्साहपूर्वक कांग्रेसको अधिवेशन सकिएका छन् । कतिपय जिल्लामा भइराखेका छन् । हाम्रो प्रदेशको अधिकांश जिल्ला अधिवेशन सम्पन्न भएको छ । साथिहरुले आफ्नो नेतृत्व चुनिसक्नुभएको छ ।

बागलुङ क्षेत्र २ बाट महाधिवेशन प्रतिनिधिमा अत्याधिक मत ल्याएर विजयी हुनुभयो । तपाईँको आकांक्षा के छ ?

म गएको १३ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यको उम्मेदवार थिए । साथिहरुको सहयोग मिलेपनि केही मतले हार्न पुगियो । र अहिलेपनि के लाग्छ भने, मलाई यसपटक केन्द्रीय सदस्यमा साथिहरुले जिताउने छन् । मलाई विश्वास छ । तथापी हामी अहिले प्रदेश महाधिवेशनमा छौँं । पहिले मैले प्रदेशको सभापति हुने मनस्थिति पनि बनाएको थिए तर यहाँ कतिपय मभन्दा अघिका नेताहरुको प्रदेश सभापतिमा लड्ने इच्छा देखाउनु भएकाले मैले पुनः केन्द्रीय सदस्यमा नै उम्मेदवारी दिने र निर्वाचित भएर केन्द्रीय सदस्यमा जाने चाहाना मेरो छ । र यसैमार्फत् मेरा सम्पूर्ण देशभरका साथिहरुलाई आह्वान गर्न चाहान्छु । म लामो समय नेविसंघको राजनीति गरे । त्यसपछि तरुणदलमा पनि काम गरेँ, पार्टीमा पनि काम गरे । नेविसंघको म दुई पटकसम्म सह महामन्त्री भए, केन्द्रिय सदस्य भए । त्यसपछि नेवि संघबाट विदा भएर तरुणदलको केन्द्रीय समितिमा काम गरे । सोही अनुसार मैले अहिले विस्वासको आधारमा मत प्राप्त गरेर केन्द्रीय समितिमा पुग्छु भन्ने मलाई विश्वास छ ।

अघिल्लो महाधिवेशनमा सदस्य पदमै हार्नुभयो अहिले जित्ने आधारहरु के–के हुन् ?

केन्द्रीय सदस्य जित्ने आधार त देशभर हाम्रा चिनेजानेका सँगै काम गरेका साथीहरु निर्वाचित भएर आउनुभएको छ । साथीहरुले नै तपाईँ अब केन्द्रीय समितिमा आउनुपर्छ भनिरहनुभएको छ । विगत नेविसंघ देखि कामगर्दै आएका नेताहरु धेरै छन् र उर्जाशील युवाहरु नेतृत्वमा आइराख्नुभएको छ । उहाँहरुको समन्वय र सहकार्य नै मेरो आधार हो । र, कांग्रेसलाई बलियो बनाउन आएका युवाहरुको सोच एकै छ त्यसैले हामी युवाहरुले नै अब कांग्रेस हाँक्ने हो । हाम्रो विचार नयाँ छ र आम निर्वाचनमा कांग्रेसलाई देशभर विजयी बनाउने सोच छ त्यहि आधारमा ने केन्द्रिय समितिमा पुग्छु भन्ने लाग्छ ।

तयारी कस्तो चलिरहेको छ ?

अहिले वडादेखि जिल्लासम्मको निर्वाचनको क्रममै थियौँ । अधिवेशन सम्पन्न हुदाँहुदैँ पनि विभिन्न जिल्लामा साथिहरुसँग अग्रजहरुसंग, नेतासँग मेरो नियमित सम्पर्क भइरहेको छ । सबैतिरबाट सहयोग गर्ने विस्वास दिइराख्नुभएको छ । सबैतिर जान नपाउने भएकाले फोनमार्फत् सम्पर्क गर्ने काम भइरहेको छ । सम्भव भएका जिल्लामा पुग्ने कोशिस पनि जारी नै छ ।

तपाईँहरुको पार्टीमा धेरै गुट उपगुटहरु छन् । गुटको अन्त्य कसरी हुन्छ र युवाको भूमिका कस्तो रहन्छ ?

व्यक्तिगत फाइदाका लागि धेरे गुटबन्दी गर्ने र भागबन्डा खोज्ने जुन प्रवृत्ति चलिआएको छ यो चाहि अन्त्य हुनुपर्छ । समूह भन्नेचाहिँ हुन्छ । पार्टीमा विचार मिल्नेहरुको समूह बन्छन् । गुट उपगुट बनाएर बार्गेनिङ गर्ने जुन चलन छ । यो एकदम गलत भइरहेको छ । यसलाई अहिलेको महाधिवेशनले तोड्नुपर्दछ । विशेष गरी यो हुनुमा हाम्रो विधानमा पनि खराबी छ । अहिलेको विधानकै कारणपनि धेरै मान्छेहरु प्रवेश पाउने र यो पार्टीमा धेरै गुट–उपगुट हुने खाल्डो स्थिति निमार्ण भएको छ । यसलाईपनि परिमार्जन गर्नुपर्छ । यो मुद्दापनि मैले भोलिका दिनमा केन्द्रमा उठाउने नै छु । विधानलाई अझ व्यवस्थित बनाउनै पर्छ । केन्द्रीय समितिमा रहेका स्वतः महाधिवेशन प्रतिनिधि हुने जुन प्रावधान छ, त्यो हटाउनुपर्दछ । क्रियाशिल र प्रतिनिधि छनोटमा पनि धेरे ठूलो वेफाइदा भइरहेको छ । यो पार्टी हितमा देखिएको छैन् । यसले गर्दा पार्टी धेरै खर्चिलो र भड्किलो देखिएको छ । कांग्रेसलाई बलियो, सशक्त, एकताबद्ध बनाउन र कांग्रेसलाई जनताको पार्टी बनाउन सकेमात्रै गुटउपगुट हट्छ ।

अधिवेशनमा अलोकतान्त्रिक गतिविधि अराजकता देखिएका छन् । कहीँ गोली चल्यो,कहीँ कुटाकुट भयो । परिवर्तन सम्भव छ त ?

हामीले क्रियाशील बनाउने र प्रतिनिधि चयन गर्ने कुरामा चुक्दा नै यस्तो अवस्था आएको हो । सदस्यता प्रदान जुन रुपमा खुल्ला गरिएका छन् यसले गर्दा जुनसुकै किसिमका मान्छेहरुपनि आउन सक्ने अवस्था भएको छ । खासगरी पार्टीको मुलमन्त्र, सिदान्त, पद्धति थाहा नभएका व्यक्तिहरु पार्टीमा प्रवेश गरेर पार्टीको बदनाम हुने काम गरे । उनीहरुलाई जबरजस्ती पार्टीको पद समात्नुपर्छ र पद लिएपछि सबै कुरा भइहाल्छ भन्ने मानसिकताले यस्तो भएको हो । यसको अन्त्यका लागि नै हामीले यो निर्वाचनमा स्वविवेक प्रयोग गरेर नेतृत्व छान्नुपर्छ । हामीलाई अहिले अवसर छ । हामीले अब नयाँ बन्ने नेतृत्वबाट सबै कार्यकर्तालाई प्रशिक्षित बनाउँदै तर्कपूर्ण तरिकाले अघिबढाउने योजना बनाए पार्टीमा शान्ति आउँछ, पार्टी बलियो बन्छ । विगतदेखिका कमी–कमजोरीहरुको सुधार हुनुपर्दछ र पार्टीमा हुने गुन्डागर्दी, आन्तरिक लडाइँ समाप्त पार्नका लागि विधानमा समेत संशोधन गर्नुपर्नेछ । नसुधारेमा गैरराजनीतिक व्यक्ति हावि हुन्छन् ।

तपाईँकै जिल्लामा गुटउपगुटका छ !

जिल्ला अधिवेशनसम्म आफ्नो नेतृत्वमा पुग्नका लागि चाहे वडा होस् या जिल्लामा होस् । सबैले आकांक्षा राख्नुभयो । पदप्राप्तिका लागि कोही साथी यता लाग्नुभयो, कोही साथी उता लाग्नुभयो (देउवा पक्ष र पौडेल पक्ष) त्यो आन्तरिक अभ्यास थियो । तर, अब माथि आइसकेपछि हामी एकै ठाउँमा आउँछौँ । यसलाई भूगोलले पनि प्रभाव पार्छ । हामी यस क्षेत्रबाट उठ्ने भएकाले पनि साथीहरुको भावना हामीमै हुन्छ । नयाँ नेतृत्व चयनमा हामी साथीहरु एकै ठाउँमा हुनेछौँ । सोही अनुसार हामी लागिरहेका छौँ ।

अन्त्यमा तपाईँ मतदातालाई के भन्न चाहनुहुन्छ ?

म तपाईँकै मिडियामार्फत् देशभरका साथिहरुलाई भन्न चाहान्छु । म केन्द्रिय सदस्यमा उम्मेदवारी दिदैँछु । साथिहरुले मलाई मतदान गर्नुहुनेछ । त्यो मतको कदर गरेर पार्टी बलियो बनाउन लाग्ने छु । जय नेपाल ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->