आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

टेनिस पर्यटनसँग जोडिएको छ: सचिव श्रेष्ठ

टेनिस पर्यटनसँग जोडिएको छ: सचिव श्रेष्ठ


  • अन्तरवार्ता
  • मंसिर २३ २०७८, बिहिबार

पोखरामा अहिले आइटिएफ जे ५ वल्र्ड टेनिस टुर सर्किट २ चलिरहेको छ । प्रतियोगितामा विभिन्न मुलुका यु–१८ का खेलाडीहरुको सहभागिता रहेको छ । कास्की जिल्ला टेनिस संघमा नयाँ कार्यसमिति आएको करिब ५ महिना भयो । अहिले टेनिस खेलमा प्रदेश खेलकुद मन्त्रलायले समेत चासो दिइरहेको छ । टेनिस खेलमा नयाँ कार्यसमितिको योजना, टेनिस र पर्यटन सम्भावना, समस्या, चुनौती, समाधानलगायत विषयमा कास्की जिल्ला टेनिस संघका सचिव नविन श्रेष्ठसँग ढोरपाटनले गरेको कुराकानी ।

पोखरामा अहिले वल्र्ड टेनिस टुर सर्किट २ चलिरहेको छ । यसको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

प्रतियोगिताको हिसाबले हेर्दा आइटिएफ (इन्टरनेशनल टेनिस फेडेरेसन) बाटै टुर्नामेन्ट ह्वाइट बाई सेफली भनेर उतैबाट हुन्छ । टुर्नामेन्ट कसरी गर्ने, टाइसिट कसरी मिलाउने सबै उतैबाट हुन्छ । सेटलमेण्ट आइटिएफबाट हुन्छ । अन्य कुराको व्यवस्थापन टुर्नामेन्ट डाइरेक्टरबाट भएको छ । त्यो बाहेकका सबै व्यवस्थापन हामीले नै गरिरहेका छौँ । खेलाडीहरुलाई कोर्टसम्म ल्याउनेलगायत काममा नै हामीले सहायता गर्ने हो । सबै व्यवस्थापन राम्रो भइराखेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता भन्नाले एक वा दुई राष्ट्र सम्मिलित प्रतियोगितालाई नै भनिदैँ आएका छौँ । अर्थात सार्क राष्ट्र मात्रै सहभागि रहेको पाउँछौँ तर, टेनिसमा विकसित मुलकको पनि सहभागिता त ?

मुख्य विषय नै यही हो । कोरोना संक्रमणको समयमा पनि हामी संग नेपालसहित ११ देशका खेलाडीहरु सहभागी रहेका छन् । त्यसमाथि विकसित देशबाट धेरै नै सहभागी छन् । फुटबल भलिबलको कुरा गर्ने हो भनेदेखि धेरै भनेको एक हप्ता चल्छ होला । राष्ट्रिय प्रतियोगिता नै सकिन्छ । त्यहाँ खेलाडी र प्रशिक्षकको मात्र सहभागिता रहन्छ । तर, हाम्रो खेलमा खेलाडीसहित, प्रशिक्षक र उनका परिवारको सहभागिता रहन्छ । अन्य खेलमा परिवार सहभागिता हुँदैन । सरसर्ती हेर्दा टेनिसमा एकजना खेलाडीले २ जना प्रतिनिधि ल्याएकै हुन्छ ।
दुई हप्ता खेल हुँदा कति खेलाडी एक हप्ताअघि नै आएको रेकर्डपनि छ । कति खेल हुनु २ दिनअघि पनि आएका छन् । त्यसले गर्दा कम्तिमा पनि २ हप्ता त रहने नै भयो । त्यो हिसाबमा र अन्तर्राष्ट्रिय रुपमा हेर्दा यसको जुन एक्सपोजर छ यही वेस लेभलबाट नै प्रोफेसनल टेनिस खेल्न जाने हो । यो नै मुख्य ढोका हो । यो पार गर्नै पर्ने हुन्छ । त्यसैका लागि उनीहरु मरिहत्ते गर्छन् । यही नै फरक हो जस्तो मलाई लाग्छ ।

अहिले यु–१८ सर्किट २ मा कुन देशबाट कति खेलाडीको सहभागिता रहेको छ त ?

मैले अघि नि भनिसकेँ, नेपालबाहेकका १० राष्ट्रको सहभागिता छ । कोरोनाको कारण स्वास्थ्यको हिसाबले जम्मा ८९ खेलाडीको सहभागिता रहेको छ । १८० भन्दा बढि खेलाडीले त कोरोनाकै कारण अन्तिम समयमा नाम फिर्ता नै लिए । बेल्जियमबाट २, ब्राजिलबाट २, डेनमार्कबाट १ हङ्गेरीबाट १, स्विडेनका १, भारतका ४१, इजरायलका २, पोल्याण्डका १, रसियाका २, अमेरिकाका ६ र नेपालका २९ महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ ।

विश्व सहभागिता रहेको टेनिस खेल पछि पर्नुका कारण ?

यो खेल यस्तो छ । हाम्रो देशमा टेनिसको विकास हुँदैछ । टेनिसमात्रै होइन् नेपालमा अन्य खेलपनि उस्तै रहेको छ । राज्यको उचित लगानी खेलकुदमा छैन् । लोकप्रिय खेलपनि त पछि परेकै छन् । संसारमा यो खेल (टेनिस) पनि लोकप्रिय छ । दर्शकहरु टिकट काटेर हेर्न जान्छन् । हाम्रोमा त्यो कल्चरको विकास भइनसकेको अवस्था हो । यो खेल पछि पर्नाको कारण यसलाई चाहिने क्षेत्र, कोर्टको कुरा हुन्छ । अनि तालिमको कुरा हुन्छ । यो खेल तालिम बिना खेल्न नै सकिँदैन । टेनिसका लागि प्रोपर कोर्ट, प्रोपर कोच नभएसम्म हुँदैन । त्यो पनि एउटा मेजर समस्या हो । स्कील भएन भने बल भनेको ठाउँमा जाँदैन । त्यसैले पनि पछि परेकोजस्तो लाग्छ ।

पोखरामा टेनिस पुर्वाधार कस्तो छ ?

पूर्वाधारकै कुरा गर्दा हामीसँग अहिले ६ क्ले कोर्ट र १ हार्ड कोर्ट छ । यो अवस्थामा अहिले हामीले ३२ को मेन ड्र खेलाउने अवस्था छ । ३२ को खेलाडी हामीसँग ८९ खेलाडी सहभागि छन् । यदि हामीसँग कम्तिमा १० वटा कोर्ट हुने भएको भए । सोच्नुस त, कति खेलाडी आउँथे ? अहिले कोरोनाकै बेलामा त त्यति खेलाडी आएका छन् । त्यो नभएको भए अझ धेरै खेलाडी आउँथे । हामीसँग अब ४ वटा कोर्ट भए हाम्रो स्तर नै फेरिन्छ । कोर्ट भएमा हामीले वर्षमा ५ वटा ठुला प्रतियोगिता समेत गर्न सक्छौँ । त्यो हाम्रा लागि ठूला कुरा भएनन् । पोखरामा त्यो बाहेक निजी कोर्टहरु पनि रहेका छन् । त्यतिमात्र होइन पोखराका विद्यालयहरुमा पनि टेनिस कोर्ट छन् । त्यसको पुनः निमार्ण गर्नपर्ने देखिएको छ ।

टेनिस खेल महँगो खेल भनिन्छ गण्डकी प्रदेशलाई खेल पर्यटनको राजधानी बनाउनुपर्छ भनिरहेका छौँ । टेनिसले खेल पर्यटनको राजधानी बनाउन कसरी सहयोग गर्न सक्छ ?

हो टेनिस एक खेलमात्र नभई यो पर्यटक तान्ने साधन पनि हो । यो खेल व्यक्तिगत प्रतिस्पर्धाको हुने भएकाले नै यहाँ हरेक खेलाडीले एक प्रशिक्षक र एक जना अभिभावक ल्याएकै हुन्छ । यसरी हेर्दा एक खेलाडीले कम्तिमा पनि २ जनालाई साथमा लिएर आउने गर्दछन् । हिसाब नै गरौन ८९ खेलाडी नै सहभागी हुँदा त्यसमा हरेकले २ जना लिएर आउँदा पनि त आखिर पाहुना आए नि । उनीहरु १ दिनका लागि मात्रै त आउने होइन एक–दुई हप्ताकै लागि आउँछन् । यो महँगो खेल भएकालेपनि राम्रा परिवारका सदस्य आउँछन् । उनीहरुलाई यहाँको बारेमा बुझाउन र राम्रो वातावरण सिर्जना ग¥यौं भने त उनीहरुले आफ्नो देश गएर भन्नेछन् । अरुलाई पनि जान उत्सुकता दिनेछन् । यो खेलमा आयोजकले खर्च व्यहोर्दैन । खेलाडीले व्यहोर्छ त्यसैले पनि धेरै खेलाडी आउँदा परिवार आउँछन् र यहाँको पर्यटनमा पनि आर्थिक उन्नति हुन्छ । हामीसँग ६ वटामात्रै कोर्ट छ । यो भन्दा बढी भयो भनेत अझैँ बढी आउँछन् । पर्याप्त पूर्वाधार भयो भने त हामीले हरेक महिनामा एक प्रतियोगिता गर्न सक्छौ । जसले पर्यटक बढ्छ र पर्यटन क्षेत्रमा सहयोग मिल्छ भन्ने हाम्रो मान्यता हो । यहाँ त अझ गज्जव के छ भन्दा बल हान्दै हिमाल देख्न पनि पाउँछौं ।

राज्यको सहयोग कस्तो छ ?

राज्यको सहयोग छैन भन्दा पनि फरक पर्दैन । तर, पछिल्लो समय गण्डकी प्रदेश खेलकुद मन्त्रालय र खेल परिषद्ले भने केही हदसम्म यसलाई सफल पार्न कसरी हुन्छ लागि परेका छन् । माननीय मन्त्रीदेखि सदस्य सचिवसम्म पनि आएर चासो दिनुभएको देख्दा खुसी लागिरहेको छ । राज्यले हामीलाई ४ वटा कोर्ट बनाउन सहयोग गरोस् भन्ने हाम्रो अपेक्षा पनि रहेको छ ।

तपाईँहरु नयाँ कार्यसमिति हुनुहुन्छ अब टेनिस खेलको विकासका लागि कसरी लाग्नुहुन्छ ?

हामीले केही योजना बनाएर अघि बढेका छौँ । अब यो आइटिएफ वल्र्ड टुर सकिएपछि राष्ट्रिय स्तरको माछापुच्छे्र कप हुन्छ । त्योबाहेक हामीले राष्ट्रिय स्तरकै अन्डर एज टुर्नामेन्ट पनि गर्ने योजना छ । अर्को भनेको हामी अब विद्यालय स्तरमा जादैँछौ । टेनिसको बारेमा विद्यालयमा जानकारी दिएर यसलाई महँगो होइन सस्तो खेलको रुपमा विकास गर्न चाहन्छाँै । ग्रास रुटबाट जाने हाम्रो योजना रहेको छ । अब इच्छुक खेलाडीहरुका लागि हामीले निश्चित समयका लागि निःशुल्क तालिमको पनि व्यवस्था गर्दैछौ ।

पोखरामा टेनिसका कुन स्तरसम्मका प्रतियोगिता गर्न सम्भव छ ?

हामीले अहिलेसम्म भेट्रान्ससम्मका प्रतियोगिता गरेका छौँ । हामीसँग पर्याप्त पूर्वाधार भए अझ माथिल्लो स्तरको प्रतियोगिता पनि गर्न सक्छौँ । त्यसका लागि हार्डकोर्टको पनि आवश्यक पर्दछ । पूर्वाधार भए जुनसुकै स्तरमा पनि जान सक्छौँ । जे ४, जे ३ को खेल गर्न सक्यो भने योभन्दा उच्च स्तरका खेलाडी देख्न सक्छौँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->