हाल यसको लक्षणबारे पूर्ण यकिन भएको छैन । तर, ओमिक्रोनबाट संक्रमितको उपचारमा खटेका चिकित्सकहरूको अनुभव अनुसार लक्षण त्यति कडा छैन ।
कोरोना भाइरस (कोभिड–१९)ले बिभिन्न चरण हुँदै विश्वलाई आर्थिक, भौतिक अनि मानसिक रूपमा ठुलो क्षति पु¥याउदै अहिले तेस्रो महामारीको संघारमा छ । कोभिड–१९ सुरूवाती अवस्था विभिन्न (SARS–CoV–2), डेल्टा, डेल्टा प्लसहुँदै अहिले ओमिक्रोनमा पुगेको छ । जस्को सम्भावित त्रासले कोरोनोको दोस्रो महामारीपछि बिस्तारै तंग्रिदै गरेको दैनिक जिवनयापनलाई फेरी पनि अन्यौलताको अन्धकारतिर धकेल्दै छ ।
दक्षिण अफ्रिकी क्षेत्रमा कोरोना भाइरसको अस्वाभाविक रुपमा संक्रमण बढ्दै गएपछि ९ नोभेम्बरमा संकलन गरिएको नमूनाको जेनेटिक विश्लेषण गर्दा बी.१.१.५२९ भाइरस भएको पत्ता लाग्यो । उक्त भाइरसमा अत्यधिक जेनेटिक कोडमा परिवर्तन देखिएपछि २४ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनलाई सो नयाँ भाइरसको बारेमा जानकारी दिइयो । २६ नोभेम्बरमा विश्व स्वास्थ संगठनले प्रेस विज्ञप्तीमार्फत सो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ नामकरण ग¥यो र यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएको छ ।
प्रारम्भिक नतिजाले अरू ‘भेरियन्ट अफ कन्सर्न’का भाइरसभन्दा ‘ओमिक्रोन भेरियन्ट’ले बढी रि–इन्फेक्सन (पुनः संक्रमण) गराउन सक्ने क्षमता देखाएको भनिएको छ । धेरै प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना भाइरसको स्पाइक जीन देखाउन वा पत्ता लगाउन नसकेको भनिएको छ । यसबाट यो भाइरसको स्पाइक जीनमा ठूलो परिवर्तन भएको संकेत गर्दछ ।
अहिले स्पाइक जीनमा देखिएको अत्याधिक परिवर्तनले गर्दा नै वैज्ञानिकहरूमा चिन्ता बढेको छ । हाल उपलब्ध अधिकांश खोप कोरोनाको स्पाइक जीनलाई नै लक्षित गरेर विकास गरिएका छन् । तर खोप लगाएपछि बनेका एन्टीबडीले स्पाइक जीनमा अत्यधिक स्वरूप परिवर्तन भए त्यसको पहिचान गरी निष्क्रिय पार्न सक्ने सम्भावना कम हुने सम्भावना छ । अर्थात्, खोपको हाल स्थापित प्रभावकारिताको स्तर खस्कन सक्ने सम्भावना रहन्छ । यसैलाई आधार मानेर एकथरीले खोप नै पूर्ण प्रभावहीन हुने आँकलन गरिरहेका छन् ।
यस्तै खालका सम्भावना÷अनुमान ‘डेल्टा भेरियन्ट’मा पनि गरिएको थियो । ‘डेल्टा भेरियन्ट’विरूद्ध खोपको प्रभावकारिता क्लिनिकल ट्रायलमा देखिएकोभन्दा केही खस्किएको भएतापनि समग्रमा धेरैलाई जटिल वा मृत्यु हुनबाट जोगाएको थियो । यस तथ्यको राम्रो उदाहरण हाम्रै नेपाललाई लिन सकिन्छ । किनभने दोस्रो लहरको कारक मानिएको डेल्टा भेरियन्टले खोप लगाएकाहरूमा जटिल अवस्था आएर अस्पतालको सघन उपचार कक्षसम्म आउनेको संख्या कम थियो । अर्थात् अस्पतालको सघन उपचार कक्षसम्म आएका अधिकांश बिरामीहरू खोप नलगाएकाहरू नै थिए ।
दक्षिण अफ्रिकामा खोपको पहुँच कमै छ । धेरैले खोप पाउनै बाँकी छ । दुई मात्रा पूर्ण खोप लगाएकाहरू कम भएकाले पनि भाइरस तीव्र गतिमा फैलिएको वा संक्रमितमा जटिल अवस्था देखिँदै गरिरहेको हुनसक्छ । तर दुई मात्रा पूर्ण खोप लगाइसकेका देशहरूमा पनि ‘ओमिक्रोन भेरियन्ट’ले जटिल अवस्था ल्याउन थाले भने चाहिँ अहिले विकास भएका खोपहरू प्रभावविहीन रहेछ भन्ने आधार हुनेछ । त्यसैले कुनै परीक्षण वा अनुसन्धानबिना खोपले पूर्ण रूपमा कामै गर्दैन भन्नु तर्क संगत हुने देखिन्न ।
त्यस्तै ‘ओमिक्रोन भेरियन्ट’ डेल्टाभन्दा पनि कडा छ वा हुनसक्छ भन्ने पर्याप्त प्रमाणित आधार पनि देखिँदैन । धेरै जेनेटिक कोड परिवर्तन हुने बित्तिकै भाइरसको अघिल्लो भेरियन्टभन्दा फरक हर्कत हुनसक्छ तर त्यो कडा वा नरम जे पनि हुनसक्छ र ‘ओमिक्रोन भेरियन्ट’को घातकताबारे आजको मितिसम्म अध्ययनकै विषय बनेको छ । यसबारे तथ्यहरू बाहिर आइसकेका छैनन् । दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन भेरियन्ट’ले विश्वमा जस्तै नेपालमा पनि पछिल्लो केही दिनयता त्रास बढाएको छ ।
नेपाल कति जोखिममा छ भन्ने चासो सबैमा बढ्दै गएको देखिन्छ । नेपालमा मुख्यतया दुई प्रबेश नाकाबाट ‘ओमिक्रोन भेरियन्ट’ प्रवेश गर्ने सम्भावना प्रबल देखिन्छ । एक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने अर्को नेपाल–भारत खुला सीमाना ।
विगतका महामारीको समयमा पनि यी दुई नाकाबाट कोरोना भाइरस नेपाल भित्रिएको अनुभव हामीसंग ताजÞा छ । भारतमा ‘ओमिक्रोन भेरियन्ट’ फैलिन सुरू भए नेपालमा आउनबाट पूर्णरूपमा रोक्न सक्ने कुनै सम्भावना नै छैन भन्ने विगतको अनुभवले पनि छर्लंग देखाएको छ । तसर्थ, नेपालमा संकलन गरेका नमूनाको पिसिआरमा ‘एस जीन’ नेगेटिभ देखिए जीन सिक्वेन्सिङ गरी ‘ओमिक्रोन भेरियन्ट’ हो वा होइन भनेर पुष्टि गर्नुपर्छ ।
त्यस्तै, नेपालमा राजनीतिक जमघट बढ्दै जाँदा कोरोनाको जोखिम पनि बढ्दै गइरहेको छ । डेल्टा भेरियन्टले उचाइ लिनुभन्दा अगाडि पनि यस्तै ठूल्ठूला राजनीतिक जमघट÷सभा सम्मेलन भएका थिए । आजको मितिसम्म ‘ओमिक्रोन भेरियन्ट’ बारेमा भने तथ्य कम, अनुमान बढी हुँदै आइरहेका छन् ।
प्रारम्भिक नतिजाले यो भाइरस छिटो फैलिने तथा अरू भेरियन्टभन्दा बढी पुनः संक्रमण गर्न सक्ने क्षमता बढिरहेको भनिएको छ । तरकति घातक र खोपको प्रभावकारितालाई कति र कसरी चुनौती दिनसक्छ भन्ने बारेमा पूर्ण जानकारी आउन भने बाँकी नै छ ।
तसर्थ, अनुसन्धान, अनुभवबिना ‘ओमिक्रोन भेरियन्ट’ डेल्टाभन्दा कडा र हाल उपलब्ध खोपहरूलाई पूर्ण प्रभावहीन बनाउँछ या खुल्ला प्रतिकार गर्छ । यसै गर्छ भनेर भन्न हतारो हुन्छ । तर पनि ‘ओमिक्रोन भेरियन्ट’ मा विशेष गरेर स्पाइक जीनमा अत्यधिक म्युटेसन देखिएको हुँदा सबैको मनमा अन्योल, त्रास र आ–आफ्नै अनुमान छन् ।
कस्तो छ त ओमिक्रो को प्रकृती
हालसम्म केही दिनअघि भारतमा पहिलोपटक ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएका थिए । तर, त्यहाँ केही दिनमा नै ३ दर्जनभन्दा बढीमा कोरोना भाइरसको यो नयाँ भेरियन्टका संक्रमित भेटिइसकेका छन् । नेपालमा पनि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलहुँदै नेपाल भित्रिएका विदेशी नागरिक एकजना र उनको सम्पर्कमा आएर अर्का व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । मन्त्रालयका अनुसार ६६ वर्षीय र ७१ वर्षीय दुई व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।
हाल यसको लक्षणबारे पूर्ण यकिन भएको छैन । तर, ओमिक्रोनबाट संक्रमितको उपचारमा खटेका चिकित्सकहरूको अनुभव अनुसार लक्षण त्यति कडा छैन । अत्यधिक थकान, टाउको र जीउ दुख्ने जस्ता समस्या देखेको भनिएको छ । धेरैलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था नभएको, अचानक अक्सिजन कमी हुने समस्या नदेखिएको जस्ता अनुभवहरू सुनाएका थिए । अर्थात् ओमिक्रोन संक्रमितमा लक्षणहरू सामान्य नै देखिएका थिए । नयाँ भेरिएन्टको डरलाग्दो र खतर्नाक प्रकृतिको कुनैपनि लक्षण प्रमाणित नभएको जानकारी छ ।
ओमिक्रोन भेरियन्टको तेस्रो महामारीले नेपालमा कतिको प्रभाव पार्छ त्यो पछिको कुरा हो । वर्तमान अवस्थामा भने हामी महामारी फैलिनुभन्दा पहिलेको गोल्डेन अवसरको सही सदुपयोग गर्दै सम्भाबित ओमिक्रोन भेरियन्टको फैलावटबाट सक्ने महामारीलाई कम गर्न पर्याप्त तयारी र स्वस्थ व्यवस्थापनमा जुट्न र जुटाउन आवश्यक देखिन्छ ।





