बागलुङ/विद्यालय तहका बालबालिकाको पढाई क्षमता बढाउने तथा सिकाइस्तर बढाउने उद्देश्यले अन्तर विद्यालयस्तरीय पढाइ प्रतियोगता आयोजना गरिएको छ । हरेक विद्यालयका कक्षा १ देखि ३ सम्म पढ्ने बालबालिकालाई एकएक मिनेटमा कति अक्षर र शब्द पढ्न सक्छन् भन्ने अभ्यास र प्रतियोगिता गराइएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए ।
शुक्रबार आयोजित प्रतियोगितामा ७८ विद्यालयका बालबालिकाले भाग लिएका थिए । सहभागी बालबालिका सबैलाई एक एक मिनेटमा नेपाली अक्षर र शब्दहरु पढ्न लगाइएको थियो । एक मिनेटमा बालबालिकाले ५० वटा सम्म्म शब्द पढ्न सक्ने क्षमता राख्ने पोखरेलले बताए ।
‘विद्यालय तहमा बालबालिकाले कस्तो सिकेका छन्, के कस्तो पढ्न लेख्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न यो प्रतियोगता उपयोगी छ,’ उनले भने, ‘यस्ता प्रतियोगिता हुन्छन् भनेर पनि बालबालिकाले ध्यान दिएर पढ्ने तथा शिक्षकले सचेत भएर सिकाउने अवस्था आउँछ ।’ उनले हरेक शिक्षक कक्षा कोठामा पुग्नैपर्ने बाध्यतापनि यो कार्यले शर्त राखेको बताए ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख जनकराज पौडेलले बालबालिकाको शिक्षामा लगानी बढाउनुपर्ने बताए । नगरपालिकाले पनि शिक्षा क्षेत्रमा चासो दिएर लगानी गरेको भन्दै शिक्षकले पनि गम्भीर भएर पढाइदिए लगानी खेर नजाने बताए । उनले लगानीले मात्र गुणस्तर नआउने भन्दै गुणस्तर विकासका लागि शिक्षकको मेहेनत आवश्यक पर्नेमा जोड दिए ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र शिक्षा शाखाका कर्मचारीसहित शिक्षकहरु समेत सहभागी थिए । प्रतियोगितामा विद्यार्थीले देखाउने क्षमताबाट शिक्षकको कार्यक्षमता र उनीहरुले कक्षा कोठामा दिएको समय तथा पढाइको गुणस्तरको मापनसमेत गराएको पोखरेलले बताए । यस्ता क्रियाकलापहरु समयसमयमा भइरहेको खण्डमा विद्यार्थीको क्षमता पनि सुधार हुँदै जाने उनको धारणा थियो । यसअघि गैरसरकारी संस्थाहरुले पनि बालबालिकाको पठन र लेखन क्षमता बढाउने अभ्यास तथा प्रतियोगिताहरु गर्थे । आजकल भने गैरसरकारी संस्था सुसुप्त भएकोले अभियान रोकिएको थियो ।





