बागलुङ-
हेरहेर तिम्रा पुर्खाको सभ्यता कहाँबाट सुरु भयो
बुझबुझ तिमी यहाँसम्म आइपुगेको
कुनकुन नदी तर्दै हो ?
कवि साम्ब ढकालले ‘नदी भञ्जकहरुका नाममा’ कवितामार्फत गरेको प्रश्न हो, यो । उनी सोध्छन्–
नदीमाथि हुर्केको नदी सभ्यता वेमाख पार्दै
आज नदी भञ्जकहरुले विजयोत्वस मनाइरहेछन्
नदी भञ्जकहरुलाई एउटा यक्ष प्रश्न
के नदी सकिँदा तिमीहरुचाहिँ बाँच्छौ र ?
नदी–प्रणालीमाथि मानवजातिले निम्ताइरहेको संकटको सजिव वर्णन हो, यो । र, नदीमाथि दोहनचक्र मच्चाउनेहरुका निम्ति प्रतिरोधी स्वर । हेटौडाका कवि ढकालले ‘नदी सप्तक’ कविता श्रृङ्खलाका लागि यो कविता रचेका हुन् ।
‘कालीगण्डकी बचाऔँ अभियान’ले गत असोज २ गतेदेखि आरम्भ गरेको त्यस श्रृङ्खलाको यो ५० औँ कविता हो । दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘कालीगण्डकी’ कविताबाट ‘नदी सप्तक’ श्रृङ्खला तय भएको थियो ।
त्यसयता देशका नामुद कविका नदीपक्षधर कविताका बलमा ‘नदी सप्तक’ अघि बढिरहेको छ । त्यसकै पछिल्लो अनुक्रम हो, कवि ढकालको– ‘नदी भञ्जकहरुका नाममा…।’
हिमालय क्षेत्रको पवित्र र महान नदी कालीगण्डकीको संरक्षणका लागि सङ्घर्षरत अभियानले सिर्जनाकामार्फत रचनात्मक दबाब बढाउन ‘नदी सप्तक’ कविता श्रृङ्खला चलाएको हो । अभियानले नदीमाथि लेखिएका रचनालाई ‘पोस्टर कविता’का रुपमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत श्रृङ्खलाबद्ध रुपमा सम्प्रेषण गरिरहेको छ ।
कालीगण्डकीको वैभव, महिमादेखि नदीले भोगिरहेको सङ्कट र बेदना काव्यमा मुखरित भइरहेको अभियानकर्मी आरके अदिप्त गिरीले बताए । कालीगण्डकी संरक्षणमा देशभरबाट कवि, लेखकले एक्वेबद्धता जनाइरहेको उनको भनाइ छ ।
कविता श्रृङ्खलामा सयभन्दा बढी कविका रचना समावेश हुनेछन् । अभियानले खुला रुपमा कविता आव्हान गरेको थियो । प्राप्त कविता डिजिटल माध्यमको सहारामा जनस्तरमा प्रसार भइरहेका छन् । कालीगण्डकीमाथि भइरहेको निमर्म दोहन रोक्न अभियानले रचनात्मक तबरले दबाब बढाइरहेको छ ।
काव्यको शक्तिलाई कम नआँक्न र प्राकृतिक सम्पदा संरक्षणको मुद्दामा सबै पक्ष जिम्वेवार बन्न उहाँले अपिल गर्नुभयो । नदीको मुद्दा सिर्जनशील ढङ्गले मुखरित भइरहेकोमा तमाम कवि, लेखक र पत्रकारप्रति अभियानले आभार प्रकट गरेको छ ।
मुलुकका दिग्गज कवि, लेखकका आवाजलाई राज्ययन्त्र र दोहनकारीसम्म पु¥याउनु ‘नदी सप्तक’ कविता शृङ्खलाको उद्देश्य रहेको अभियानले जनाएको छ । कालीगण्डकी नदीमाथि चलिरहेको विनाशलीलाको विरोधमा हरेक सचेत नागरिक जुर्मुराउनुपर्ने स्थिति आएको उसको ठहर छ ।
हरेक खाले परिवर्तनका क्षणमा कवि, लेखकका योगदानको गौरवपूर्ण स्थान रहेको जनाउँदै अभियानकर्मी गिरीले कालीगण्डकी संरक्षणमा जोडिएर सर्जकहरुले अर्को महत्वपूर्ण अभिभारा निभाएको टिप्पणी गरे । देशभरका प्रतिनिधि स्रष्टाका नदी पक्षधर कवितालाई पछि ‘नदी सप्तक’ कृतिमा सङ्ग्रहित गर्ने अभियानको योजना छ ।





