म्याग्दी/म्याग्दीको बेनी नगरपालिका ५ पुलाडाँडामा तत्कालीन पर्वत राज्यको राजधानी ढोलठानका राजाले धान कुट्ने गरेको ओखल फेला परेको छ । प्राकृतिक तथा ऐतिहासिक ठाउँहरुको अनुसन्धानमा लाग्नुभएका म्याग्दीका क्षेत्रबहादुर भण्डारीले सो ऐतिहासिक ओखल फेला पारेर सामाजिक सञ्जालमा राखेपछि अहिले ओखल हेर्नका लागि पुलाडाँडामा आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् ।
करिब पाँचसय वर्ष पहिला पर्वत राज्यको विरासतसँग जोडिएको ढोलठान क्षेत्रमा ऐतिहासिक महत्वका सामाग्रीहरु रहेका भएपनि पहिचान र संरक्षणको अभावमा अलपत्र परेका छन् । अलपत्र परेका ती ऐतिहासिक सामाग्रीहरुमध्ये कालो पत्थर (ढुंगा)लाई छिनाले कुँदेर बनाइएको ओखल अहिले पुलाडाँडाको खुला ठाउँमा अलपत्र अवस्थामा छ ।
तत्कालीन पर्वते प्रतापी राजा डिम्बबम मल्ल (उनलाई दिलिपवम मल्ल पनि भनिन्थ्यो) ले ढोलठानलाई गृष्मकालीन राजधानी बनाएकोले यस ठाउँमा बसुञ्जेलसम्म त्यही ओखलमा धान कुट्न लगाएर दरबारका सदस्यहरुले भात खाने गरेका प्रमाणहरु भेटिएका स्थानीय रामबहादुर बानियाँले जानकारी दिए । यस क्षेत्र ऐतिहासिक रुपमा मात्रै नभइ जैविक, धार्मिक र प्राकृतिक महत्वले समेत उपयुक्त रहेको उनको दाबी छ ।
विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीमा रहेको म्याग्दीका इतिहासकार तथा २०७७ सालको मदनपुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले उल्लेख गरेका छन् ।
‘कहिले राजा बेनी बाग्लुङ, कहिले राजा ढोर’ भनेर गाइने यस क्षेत्रको लोकगीतको आधारमा पनि ढोलठान क्षेत्रको ऐतिहासिकतालाई पुष्टि गर्ने स्थानीय शिव बानियाँले बताए । राजनीतिक, कुटनीतिक र सामरिक दर्शन तथा त्याग र बलिदानको इतिहासका साथसाथै अपार पर्यटकीय सम्भावना बोकेको यस क्षेत्र बाहिर जति चर्चामा आएपनि म्याग्देलीहरुका लागि भने ‘बेल पाक्यो, कागलाई न हर्ष न विस्मात’ भनेझैं भएको उनको भनाइ छ ।
चौधौं शताब्दीताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं चर्चित राजा डिम्बबम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले समेत नेपालभर प्रसिद्ध छ । यो मन्दिर ढोठानदेखि केही माथि र डढेकोट दरवारदेखि केही तल केभहिलको नजिकैमा छ ।
ढोलठान क्षेत्रको शिरमा रहेको केभहिलबाट मनोरम हिमशृंखलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो । यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण लगायत १४ हिमाल, पर्वत, बाग्लुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साविकका ३६ गाविस प्रत्यक्ष देख्न सकिने स्थानीय अध्यक्ष शिव बानियाँले जानकारी दिए ।
समुद्री सतहदेखि करिब दुई हजार ४०० मिटर उचाइमा रहेको सदरमुकाम बेनी बजारदेखि करिब डेढ÷दुई घण्टाको पैदल यात्रापछि पुग्न सकिने ढोलठान प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वले युक्त रहेको जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामवहादुर बानियाँले जानकारी दिनुभयो ।
‘ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व र प्रशस्तै सम्भावनाहरुले युक्त, सदरमुकाम बेनीदेखि नजिकै रहेर पनि यो ठाउँको कहिल्यै प्रचारप्रसार हुन सकेन,’ उनले भने, ‘यदि राम्रोसँग प्रचारप्रसार गरी सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने हो भने ढोलठान क्षेत्र म्याग्दीको मात्र होइन गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्य स्थल बन्न सक्छ ।’ मादक तथा मासाहारी निषेधित रहेकाले यो गाउँ नेपालकै उदाहरणीय मानिन्छ ।





