बागलुङ/कोरोना संक्रमणबाट भन्दा नेपालमा क्षयरोगको संक्रमणबाट मृत्यु हुनेको संख्या बढी रहेको भेटिएको छ । लाञ्छनाले विभिन्न रोगको संक्रमित व्यक्ति मात्र नभई सिंगो परिवारसमेत पीडामा पर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
स्वास्थ्य कार्यालय बागलुङको तथ्यांकअनुसार हरेक वर्ष नेपालमा ६८ हजार क्षयरोगी भेटिने र तीमध्ये १७ हजारको मृत्यु हुने गरेको तथ्यांक रहेको क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए । मृत्यु हुनेसँगै भेदभाव र लाञ्छनाले उनीहरुको सिंगो परिवार, समाज बढी चिन्तित र कमजोर बन्ने गरेको बताइएको छ ।
‘कोरोना महामारीमा करोडौं लगानी छ, तर क्षयरोगमा कुनै लगानी परेको छैन,’ घिमिरेले भने, ‘हाम्रो समाजमा सबैभन्दा बढी डरलाग्दो अवस्था क्षयरोगको छ ।’ उनले बडिगाड गाउँपालिका बढी प्रभावित भएको समेत बताए ।
क्षयरोग भएकाहरुलाई कोरोना संक्रमण, एचआइभी तथा अन्य संक्रामक रोगको बढी समस्या हुने उनले बताए । स्वास्थ्य कार्यालयले आयोजना गरेको लाञ्छना तथा भेदभावविरुद्धको अभियानसम्बन्धी अभिमूखिकरण कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले क्षयरोगमा लगानी बढाउनुपर्ने धारणा राखे । नेपालका कुल संक्रमितमध्ये झन्डै ३७ प्रतिशतमा कुनै न कुनै रुपमा क्षयरोग सुषुप्त रुपमा रहेको उनले बताए ।
बागलुङ र नेपालमै एचआइभी संक्रमणको अवस्था पनि डरलाग्दो रहेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले बताए । ‘क्षयरोग जस्तै एचआइभीको जोखिम पनि बढी छ,’ उनले भने, ‘एचआइभी संक्रमण कम गर्न आप्रवासी कामदारको परिवार, लागूपदार्थ सेवनकर्ता र यौनकर्मीहरुमा बढी लगानी गर्नुपर्ने भएको छ’ उनले भने ।
गुरौंले असुरक्षित यौन सम्पर्क र लागुपदार्थ सेवनकर्तामा ध्यान दिन सकेमा यो रोगबाट बच्न सकिने बताए । ‘तर, पछिल्लो समय एउटै सुई प्रयोग गरेर लागूपदार्थ सेवनकर्ताबाट बढी संक्रमण देखिने छ,’ उनले भने ।
रोकथामका उपायसँगै भेदभाव र लाञ्छना हुन नदिन पनि भूमिका खेल्नुपर्ने उनको धारणा थियो । कोरोना संक्रमण भएको व्यक्ति रोगले भन्दा लाञ्छनाले बढी कमजोर भएको अध्ययनले देखाएको उनले बताए । सबै संक्रमणको उपचार र पूर्व तयारी सम्भव हुने भन्दै लाञ्छना हटाउन सामाजिक अभियान चाहिने उनले बताए ।
कार्यक्रममा राष्ट्रिय एचआइभी तथा एड्स महासंघकी कार्यक्रम अधिकृत सिर्जना थापाले पनि कार्यपत्र प्रस्तुत गर्दै नियमित परीक्षण, स्वास्थ्य शिविर सञ्चालन गरेर तथा निरन्तरको चासोबाट एड्स रोग अन्त्य गर्न सकिने बताइन् ।





