अहिले नेपालमा ३ क्षेत्रका चलचित्र चलिरहेका छन् । नेपाली, हिन्दी र अंग्रेजी । कोरोना महामारीपछि पहिलोपटक हलमा चलेको नेपाली चलचित्र हो चुरीफुरी । चलचित्र चुरीफुरी नेपाली समाजको जल्दोबल्दो घटनामा आधारित छ । अन्य चलचित्र लगानी गुम्ने डरले सार्वजानिक नहुँदा चुरीफुरी भने सार्वजानिक भएको छ । चलचित्र क्षेत्रको विकास, समस्या, समाधान तथा चलचित्र चुरीफुरीको बारेमा चलचित्रका निर्देशक ऋषिराज आचार्यसँग चलचित्रका निर्देशक ढोरपाटनकर्मी विजय नेपालीले लामो कुराकानी गरेका छन् । प्रस्तुत छ–कुराकानीको सम्पादित अंश (सं.)
लामो समयसम्म चलचित्र (मनोरञ्जन) को क्षेत्र थलियो । त्रास अझै सकिएको छैन । तपाईंले यस्तोमा चुरीफुरी रिलिज नै गरिदिनुभयो !
कोही न कोहीले त चलचित्र क्षेत्र चलायमान बनाउनै पर्छ भन्ने मान्यताले मैले चलचित्र ल्याएको हुँ । चलाउन कोही पनि अग्रसर नभएको बेला मैले आँट गरेर ल्याएको हुँ । कुराले मात्रै होइन, काम गरेर देखाउनुपर्छ । किनकि नेपाली चलचित्रको लागि केही गराँै भनेर सुरुवातदेखि यसैमा लागेका छौँ । चलचित्रलाई चलायमान बनाउन त प¥यो नि । महामारीको समयमा पनि चलचित्र क्षेत्र चलायमान बनाउँछु भन्नेको इतिहासमा नाम लेखिन्छ भन्ने आशा रहन्छ । यह िकारणले चलचित्र चुरीफुरी कोरोना मत्थर नहुँदै हलमा आयो ।
चुरीफुरी कति हलमा चलिरहेको छ ? रिलिज भएपछिको अवस्था कस्तो छ ?
लगभग ५ दर्जन हलमा ९ गतेदेखि चलेको छ । बाकीँ केही हलमा चाहिँ अन्य फिल्म लागेको लाग्यै छ । त्यो छुटेपछि हामीले देखाउने योजना बनाएका छौँ । हेर्नुभएको दर्शकहरुले एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ । तर, २ हप्ताअघि रिजिल भएका हिन्दी र अंग्रेजी फिल्मको कारण दर्शक घटेका छन् । त्यही फिल्मका कारण हल नपाएको अवस्था हो ।
यो फिल्ममा लगानी कति छ ?
एक करोड रुपैँयाभन्दा माथि लगानी भएको चलचित्र हो ।
यस्तो समय, त्यसमाथि पनि पुष्पा, स्पाइडरम्यानजस्ता चलचित्र चल्दा गुम्छ भन्ने डर थिएन ?
त्यो त थियो । अब आम्दानीको मात्रै हेर्न थाल्यौँ भने नेपाली चलचित्र त्यसै त पछि परेको छ झन कति पछि जाने हो ? गुम्ने भन्ने चिज हरेक क्षेत्रमा रहिरहन्छ । गुम्न त अरु बेलामा पनि त गम्न सक्छ नि । तर, यो बेला गुम्यो भने त मैले कोरोनापछि नेपाली चलचित्रका लागि केही गरेको हुँ भन्ने महसुस गरेको छु । चलचित्र ल्याउनु नै अहिले मेरा लागि नाफा हो ।
‘चुरीफुरी’ कस्तो कथामा आधारित चलिचित्र हो ? हलमा किन हेर्ने ?
अब यसको विषयबस्तु अर्थात् कथाका केही भाग अन्य चलचित्रको जस्तै होलान् तर पनि यो चलचित्रको मुख्य कथा भनेको डिपेन्डिङ भिषामा विदेश जान चाहने विद्यार्थी र जग्गा दलालको बारेमा हो । हामी निकै गहिराइमा पुग्ने प्रयास गरिरहेका छौँ । विद्यार्थी भिषा होस् या डिफेन्डिङ भिषा, नेपाली दाजुभाइ, दिदी बहिनीहरु जो पनि अष्टे«लिया, अमेरिका वा युरोपजस्ता राष्ट्र जान तयार हुन्छन् । त्यहीँ जानका लागि गरिने प्रयासहरुदेखि विदेश गएर आएको सम्मका कथाहरु यसमा पाइन्छ । भोगाइका कुराहरु समावेश गरिएको छ । सँससँगै घरजग्गा जोड्न खोज्नेको कथा छ । जुन हरेक नागरिकको सपना हुन्छ । त्यो समयमा कसरी फसिन्छन् भन्ने कुरा दर्शाउन खोजिएको छ ।
तपाईँले अहिलेसम्म कति चलचित्र निर्देशन गर्नुभएको छ ?
यो मेरो पाँचौ चलचित्र हो । यो भन्दा अघि मिस्टेक, सपना तिम्रो मेरो, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, ड्रिम गर्ल हो । सपना तिम्रो मेरो भूकम्प पछिको पहिलो हलमा लाग्ने नेपाली चलचित्र थियो । भने चुरीफुरी चाहिँ कोरोनापछि पहिलो पटक हलमा चलेको चलचित्र हो । अहिले दर्शकको उपस्थितिले विस्तारै कोरोना पछिको सफल चलचित्र हुन्छ भन्नेमा म आशावादी छु ।
तपाईँ यो क्षेत्रमा कसरी आइपुग्नुभयो, कसरी जोडिनुभयो ?
सानै देखि मलाई यही क्षेत्रमा आउने रहर थियो । प्रायःजसो नेपाली चलचित्रहरु छुटाउँदैनथेँ । म दाङमा जन्मेको मान्छे भएपनि म एसएलसी पछि काडमाडौं पढ्न आए । सुरुमा त हिरो बन्छु भन्ने सोचेको थिएँ । केही एपिसोडहरु, सिरियलहरु खेल्दै गएपछि यसमा सिकेर गर्नपर्दो रहेछ भन्ने विस्तारै थाहा पाएँ । आफन्त, यात्रा जिन्दगीको जस्ता सुपरडुपर हिट सिरियल मैले गरेको छु । पछि मैले वरिष्ठ निर्देशक शम्भु प्रधान सरसँग सहायक रहेर ४–५ वर्ष सिरियल र फिल्महरुमा गरेँ । आफ्नो अध्यन अघि बढाउँदै गर्दा मास्टरर्स डिग्री सकेर ठूलो पर्दामा चलचित्र निर्देशन गर्न थालेँ । मैले मुम्बइ गएर डाइरेक्सनसम्बन्धी पढेर नै निर्देशन थालेको हो ।
नेपाली चलचित्रले दर्शकको मन तान्न नसकेको देखिएको छ, नेपाली चलचित्रप्रति मोह नदेखिनुको पछाडिका कारण के छन् ?
प्रायः हल्का कथाबस्तुमा चलचित्र बन्ने र रहरले चलचित्र बनाउने कारण भएको भन्ने म ठान्छु । सबै चलचित्र नराम्रा छैनन् । राम्रा चलचित्र पनि त्यस्तै हल्का चलचित्रकै कारण पछि परेका छन् । चलचित्र हेर्नुअघि नै दर्शकले यो पनि त्यस्तै होला भन्ने मानशिकताले गर्दा यस्तो भएको हो । नहेरी मूल्याङ्कन गरिदिने अनि नेपाली चलचित्र पनि राम्रो होला र ? भन्ने स्थितिले पछाडि परेको हो । आखिर यहि क्षेत्रमा पनि त केही गर्छौँ भनेर आएकाहरुले त पक्कै पनि राम्रो बनाएकै छन् त ! सबै नेपाली चलचित्र हेर्नुहोस् भनेर हामी भन्दैनौँ । दर्शकलाई तर यो कस्तो विषयबस्तुमा आधारित होला भनेर आएका ट्रेलरहरु हेरेर कथा बुझेर हेर्न आउनुस् । पक्कै राम्रो देख्नुहुनेछ ।
अंग्रेजी, हिन्दी चलचित्र चलिरहँदा नेपाली चलचित्रलाई कसरी नियाल्नु भएको छ ।
हिन्दी अंग्रेजी चलचित्रसंग नेपाली चलचित्र दाँज्ने समय आइसकेको छैन् । हामीले १ करोड डेढ करोड रुपैयाँसम्म लगानी गर्न सक्छौँ । त्यहि लगानी पनि खासै उठ्दैन । तर, विदेशी चलचित्रमा भनेको त तपाईँको ५०–६० करोड देखि सय करोडसम्मको लगानी हुन्छ । हामीलाई पनि थाहा छ त्यसता चलचित्र कसरी बनाउने भनेर तर त्यो अनुसारको हामीले खर्च गर्न सक्दैनौँ । कथा भने हामीले त्यो भन्दा राम्रो दिन सक्छौँ । हलिउड, बलिउडमा जस्तो हामीसँग पूँजीको अभाव छ । नेपाली समाजकै कथा समेटेको चलचित्रलाई दर्शकले माया गरे भविष्यमा हामीलेपनि सोही स्तरका चलचित्र ल्याउन सक्छौँ ।





