बागलुङ/ पछिल्लो ६ महिना देखि बागलुङको गलकोट क्षेत्रमा शृंखलाबद्ध चोरीका घटना बढेका छन् । व्यक्तिका घर, सार्वजनिक सम्पत्ति, सहकारी संस्था र केही वित्तिय संस्थामा समेत चोरीको बिगबिगी भएको हो ।
दिन दहाडै र रातीको समयमा पनि चोरी बढेको भन्दै स्थानीयले शान्ति सुरक्षाको माग समेत गरेका छन् । ‘हाम्रो सहकारी संस्थाको कार्यालयमा तोडफोड गरेर लाखौं रकम चोरी समेत भएको छ,’ सिवाइसी सहकारी संस्थाका एक कर्मचारीले भने, ‘केही शंकास्पद मानिससहित उजुरी गरेपनि खोजी भएको छैन ।’
यस अघि गलकोटका बजार क्षेत्र मात्र नभइ ग्रामीण बस्तीमा पनि चोरीका घटना भएका छन् । कतिपय मानिसका गरगहना, भाँडाकुँडा पनि चोरी भएकोले सुरक्षामा जटिल समस्या ल्याएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए ।
‘चोरीका घटनाले जनता त्रसित छन् हामीले भनेका पनि हौं, तर चासो भएन कि खोजी भएन बुझ्न सकेका छैनौं’ गैरेले भने ‘यस्ता गतिविधि सुरक्षा निकायबाट छिटो चासो राखिनुपर्छ ।’
जिल्लामा हालै आएका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले यस्ता गतिविधिमा चासो बढेको बताए । ‘म भर्खरै आएको छु, बुझ्नुपनि पर्छ, तर नियमित यस्तो घटना भएको भए गम्भीर हो,’ ढकालले भने, ‘जनतालाई सुरक्षाको प्रत्याभूति दिने प्रशासनको दायित्व हो ।’ सुशासन सँगै सुरक्षा दिने काम पनि प्रशासनको भएको उनले बताए ।
गलकोटको बजार क्षेत्रमा स्थानीयले सिसि क्यामेरा राख्नुपर्ने आवस्यकता औल्याए । ‘चोकचोकमा भएपनि सिसि क्यामेरा राख्नुपर्ने भएको छ’ स्थानीय भीमकली श्रीषले भनिन्, ‘चोरको बिगविगी भयो, प्रहरीले गस्ती बढाउने हो की, कसरी हुन्छ पत्ता लगाउनु पर्छ ।’ चोरीका घटना बढेपछि घर छाडेर बाहिर निस्कनै समस्या भएको उनले चिन्ता व्यक्त गरिन् ।
बागलुङ बजारमा पनि लामो समय देखि सिसि क्यामेरा बिग्रेका छन् । जिल्ला प्रहरीमा राख्ने गरिएको कन्ट्रोल रुम समेत छैन । त्यसैले चोरी तथा अन्य घटनाको जोखिम भएको उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए ।
उनले फेरीपनि सिसि क्यामेरा जडान गर्नुपर्ने माग गरे । नगरपालिकाका प्रमुख जनकराज पौडेलले ५० लाख लागतमा सिसि क्यामेरा राख्ने योजना बनिसकेको बताए । त्यसकालािग नगरपालिकाले ३० लाख र वित्तिय संस्था, उद्योग बाणिज्य संघ लगायतले २० लाख लगानी गर्ने सहमति भएको पौडेलले जानकारी दिए ।





