कोरोना महामारीका कारण दर्शकविना प्रतियोगिता संचालन गर्न लागिएको हो ।प्रत्यक्ष प्रशारण हुन्छ । घरमै बसेर हेर्नुहोला ।
कोरोनाको तेस्रो लहर चलिरहेको छ । संक्रमण र ओमिक्रोनको त्रास बढेसँगै सरकारले स्वास्थ्थ मापदण्डमा कडाइ गरेको छ । नागरिकका गतिविधिहरु खुम्चिएका छन् । २५ जनाभन्दा बढी एकत्रित हुन नपाइने नियमले सार्वजनिक कार्यक्रमहरु रोकिएका छन् । यही नियमका कारण आसन्न २० औं आहा ! रारा गोल्डकप प्रभावित भएको छ । यद्यपि, आयोजक सहारा क्लबले दर्शनबिना पनि प्रतियोगिता संचालन गर्ने उद्घोष गरेको छ । मोफसलमा सर्वाधिक रुचाइएको प्रतियोगिताको आयोजना दर्शकबिनै ! आखिर किन ? यही विषयलाई केन्द्रमा राख्दै हामीले सहारा क्लबका अध्यक्ष सुरज गुरुङ (हरीराम) लाई हामीले सुरुमा सोध्यौँ– २० औं आहा ! रारा गोल्डकपको अन्तिम तयारीमा कस्तो चलिरहेको छ ?
तयारी करिब सकिएको छ ।अब मैदानको मात्रै केही काम बाँकी हो । हामी २० औँ आहा! रारा गोल्डकपको उद्घाटन तयारीमा रहेका छौँ ।
महामारी छ,स्वास्थ्य मापदण्डले २५ जनाभन्दा बढी जम्मा हुन दिँदैन । विषमतामा पनि किन प्रतियोगिता नरोकिएको हो ?
महामारी भयो भन्दैमा खेलकुद ठप्प हुनुपर्छ भन्ने छैन । कोरोनाले हामीलाई मात्र होइन, संसारलाई नै गाह्रो बनायो । तर, त्यो हुँदा हुँदै पनि हामी संचालन तयारीमा रहिरहेका छौँ । सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर नै संचालन गर्ने तयारी गरिरहेका छौँ । भोलि हाम्रो कारणले कोरोना फैलियो भन्ने नहोस् भनेरे दर्शकबिनै खेलाउने निर्णय गरेका छौँ । कोरोना कम हुँदै गयो भने दर्शकलाई प्रवेश गराउँछौ, होइन भने विना दर्शक नै खेलाउँछौ । यो हाम्रो लागि निकै चुनौतीको विषय पनि हो । आहा ! रारा गोल्डकप देशमा जनयुद्ध हुँदासमेत दर्शक राखेरै संचालन भएको थियो । तर, आज त्योभन्दा ठूलो समस्या आइलागेको छ । हामी आम्दानी मात्रै होइन खेलकुदको विकासका लागि काम गर्छौँ । अहिलेको निर्णय यही आधारमा भएको हो ।
पोखरा रंगशाला १६ हजार ५ सय दर्शक क्षमताको छ, जहाँ सामाजिक तथा भौतिक दूरी कायम गरेरै पनि दर्शक राख्न मिल्ने अवस्था थियो, निश्चित दर्शक राखेर प्रतियोगिता संचालन गर्न सम्भव थिएन र ?
हुन्थ्यो । निश्चित दर्शक राखेरै पनि हामीले प्रतियोगिता संचालन गर्न सक्थ्यौँ । हामीले नसोचेको होइन । तर, के हो भन्दा टिकट काट्ने स्थानमा भिडभाड हुने भएकाले कोरोना सल्किन सक्छ भन्ने भयो । अर्को कुरा भनेको, ई–टिकेटको कुरा पनि भएको हो । हामीले सुरुदेखि नै ई–टिकट गर्ने कि भनेका थियौँ तर ३–४ खेलसम्मको अवस्था हेराँै भनेर नै दर्शक नराख्ने निधो गरेका हौँ । भोलि कम हुँदै गएमा हामी पक्कैपनि राख्ने छाँै (दर्शक) । होइन भन,े दर्शक विना नै खेलाउनेछौँ । हामी पनि सामाजिक संस्था हौँ। त्यसैले पनि महामारीलाई ध्यानमा राखेका छौँ ।
बेसहाराहरुको सहाराका लागि स्थापना भएको स्वर्गीय सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमी संचालनार्थ नै प्रतियोगिता हुँदै आएको हो । जसको मुख्य स्रोत नै प्रतियोगिता हो, मुख्य स्रोत नै गुमाएर प्रतियोगिता गर्न लाग्नुभएको हो ?
प्रतियोगिता हिजोका दिनमा निश्चय पनि एकेडेमी संचालन गर्नकै लागि आयोजना गरिएको हो । टिकटबाट उठेको रकमले नै राहत मिल्दै आएको हो तर त्यसलाई त्यसरी पनि नबुझौँ । हामी फुटबल क्षेत्रमा काम गर्ने भएकाले पनि प्रतियोगितालाई निरन्तरता दिनपर्छ भनेर नै अघि बढेका हौँ । प्रतियोगिताबाट आम्दानी गर्न नसकिएता पनि अहिले स्वार्गिय सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीका लागि स्व. केसीका परिवारबाट वार्षिक १५ लाख रुपैयाँ दिनुहुन्छ । यो वर्षदेखि नै त्यो रकम बचत भइसकेको छ । फाइदा भए अझ राम्रो हो तर अहिले अन्य स्रोत पनि बनिसकेका छन् । लुम्बिनी विकास बैंकबाट हिजो मात्र हामीलाई २ लाख ४३ हजार रुपैयाँ प्राप्त भएको छ । एकेडेमीकै लागि उहाँहरुले वार्षिक रुपमा दिनुहुन्छ । खेलकुद मन्त्रालयले पनि अहिले यस्तो अवस्था छ, राता ेकिताबमा परेकोबाहेक तपाईँहरुलाई केही सहयोग गर्छौँ भन्नुभएको छ । प्रदेश सरकारले पनि आफ्नो दायित्वको रुपमा लिनुभएको छ । त्यो देख्दा हामीलाई हौसला बढेर आएको छ । अन्य सहयोगी मनहरुले सहयोग गर्नुभएकै छ ।
महामारीको समय छ खेलाडीहरुको स्वास्थ्य सुरक्षालाई कसरी हेरिरहनुभएको छ ?
खेलाडी सबै काठमाडौंमा हुनुहुन्छ । ए डिभिजन लिग खेलिरहेकाले पनि खेलाडी कतै गएका छैनन् । बाहिर लापरवाहीले हिँडेको अवस्था छैन् । उहाँहरुसँग नै सबै कुरा छँदैछ । त्यसमा पनि हामीले हाम्रो तर्फबाट गर्नुपर्ने कुराहरु सबै गर्ने नै छौँ । हरेक खेलाडीहरुको स्वास्थ्य जाँच गर्छौँ । बलहरुमा पनि स्यानिटाइजर लगाउने व्यस्था गर्नेछौँ ।
अहिले ए डिभिजन खेलिरहेकै च्यासल क्लबका खेलाडी, प्रतिनिधिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसले अन्य क्लबका खेलाडीलाई पनि सरेको छ कि भन्ने डर त्रास छ । त्यसलाई कसरी हेर्नुभएको छ ? प्रतियोगितासम्म आइपुग्दा असर गर्ला जस्तो छ कि छैन ?
उहाँहरुको के हो भने खेलाडीहरुमा कोरोना देखियो भन्ने कुरा समाचारमा आएको छ । हामीले बोलाएका टिमबारे अहिलेसम्म त्यस्तो जानकारी आएको छैन । त्यसैले पनि त्यति फरक र अफ्ट्यारो पर्लाजस्तो लाग्दैन् ।
प्रतियोगितामा आयोजकको कस्तो टिम बनिरहेको छ ? विदेशी खेलाडी छन् कि छैनन् ?
हामीले गण्डकी प्रदेशकै खेलाडीहरुलाई छनोटका लागि बोलाएका थियौ तर हामीसँग कास्की जिल्लाका खेलाडीहरुमात्र छनोटमा परेका छन् । छनोट गरेर नै टिम बनेको छ । १ महिनादेखि प्रशिक्षण चलिरहेको छ । अर्कोकुरा विदेशी खेलाडीहरुसँग पनि कुरा चलिरहेको छ ।
मोफसलमा आउने विदेशी टिम यसअघिका प्रतियोगितामा हेर्दा त्यति राम्रा होइनन् । यो वर्ष अमेरिकाबाट आउँदैछ । त्यो कस्तो टिम हो ?
त्यो टिम अमेरिकामा विधिवत् रुपमा, हाम्रो यहाँ सहारा क्लब दर्ता भएजस्तै त्यहाँ फुटबल खेल्नकै लागि दर्ता भएको क्लब हो । अमेरिकामै हुने जिल्ला/ क्षेत्रीयस्तरको खेलहरुमा समेत विजेता बनिसकेको टिम हो । प्रत्येक वर्ष हुने प्रतियोगिता उहाँहरुले जित्दै आएको भन्ने कुरा आएको छ । क्लबका अध्यक्ष र प्रशिक्षकले टिम राम्रो छ भन्नुभएको छ । हेरौँ, कस्तो प्रदर्शन गर्नुहुन्छ ! हामीले स्वागत गर्ने बेलामा भेटघाट पनि भयो । झट्ट हेर्दा फुटबल खेल्ने खेलाडीहरु देखिनुहुन्छ । अरु भनेको त खेल खेल्दा थाहा हुने कुरा हो ।
अलिकति एकेडेमीको कुरा गरौँ, एकेडेमीमा हाल कति बालकहरु आश्रित छन त ?
अहिले १४ जिल्लाका २४ बालकहरु आश्रित छन् । उनीहरु त्यहीँ खेल्ने, पढ्ने, बस्ने सबै गर्छन् । एकेडेमीको कुरा गर्दा खर्चको पनि कुरा आउँछ । वार्षिक ३० देखि ४० लाख खर्च हुन्छ । त्यो भनेकै प्रतियोगिताबाट हुने बचत रकमले संचालन गर्ने हो ।
एकेडेमीमा अहिले तेस्रो ब्याचका खेलाडीहरु छन्, अघिल्ला ब्याचका बालकहरुको अवस्था कस्तो छ ? कहाँ छन् ? कतिजना बालकहरु खेलाडी बनेका छन ?
तेस्रो ब्याचमा हामीले छाडिसकेका छैनाँै । पहिलाको भनेको, पहिलो ब्याचका अनिल गुरुङ राष्ट्रिय टिमबाट विदा भइसके । विष्णु गुरुङ पनि हाम्रै एकेडेमीका हुन् । अहिले संकटा क्लबको प्रशिक्षक हुनुभएको छ । यतिमात्र होइन, राष्ट्रिय टिमको सहायक प्रशिक्षकसमेत हुनुभएको छ । तीबाहेक कोही आफ्नै व्यवसाय गरेर बसिरहेका छन् । दोस्रो ब्याचका अजित भण्डारी अहिले पनि ए डिभिजन लिग खेलिरहेकै छन् । हाम्रो लक्ष्मण जिसी पनि लिग खेलिरहेको छ । तेस्रो ब्याचका २ बालकहरु चाहिँ त्रिभुवन आर्मी क्लबको एकेडेमीमा जाने तयारी भइरहेको छ ।
सहारा क्लब पोखरा फुटबल विकासमा निरन्तर लागेको क्लब हो । फुटबलमा २ दशक बिताइसकेको क्लबलाई ए डिभिजन खेल्ने क्लबको रुपमा कहिले देख्न पाउँछौँ ?
यो चाहिँ कस्तो छ भन्दा,े त्यति सजिलो कुरा होइन । काठमाडौंं गएर खेलेर आउँछौँ भन्ने सम्भव नै छैन् । जबसम्म लिग होम अवेको अवधारणामा जाँदैन तबसम्म मोफसलका टिमलाई यो चुनौतीको विषय हो । कसैले पनि खर्च धान्न नै सक्दैन । एकपटक नवलपरासीको कोइलापानी भन्ने क्लब लिग खेल्न गएको थियो । एक सिजन पनि टिक्न सकेन । होम अवे भयो भने हामी उनीहरुको मैदानमा जाँदा उनीहरुले हाम्रो खर्च व्यहोर्छन् । हामीकहाँ आउँदा हामीले । अघि–पछि कस्तो हुन्छ भने, आफ्नै घरमा प्रशिक्षण गरिन्छ । त्यो भनेको घरबाटै आउजाउ हुन्छ । खेल हुँदा टिकको कुरा आउँछ । टिकट बेचेरै त खर्च उठाउने हो । अहिले त्यो सम्भव छैन । ए डिभिजन, बि डिभिजन र सी डिभिजनमा होम अवेको अवधारणा सुरु भएर आएमा सहारा क्लबलाई पनि त्यहाँ देख्न पाइनेछ । होम अवे भएमा सहारा क्लब पछि हट्ने अवस्था नै रहँदैन । अहिले काठमाडौंमै रहेका क्लबलाई त गाह्रो छ । हाम्रो कुरा कहाँ पुग्छ ? आशा छ एन्फाले होम अवे लिएर आउने छ ।
अन्त्यमा, आम फुटबलप्रेमी दर्शकहरुलाई के भन्न चाहानुहुन्छ ?
सर्वप्रथम त कोरोना महामारीका कारण दर्शकविना प्रतियोगिता संचालन गर्न लागेकोमा क्षमा माग्छु । हामीले तपाईँहरुकै स्वास्थ्यलाई ख्यालमा राखेर बिना दर्शक प्रतियोगिता गर्न लागेका हौँ । तपाईँहरु घरमै बसेर प्रत्यक्ष प्रसारण हुँदैछ त्यहि हेर्नुहोला । स्वास्थ्य नै ठूलो कुरा हो ।त्यसैले सबै सुरक्षित रहनुहोला । धन्यवाद !
प्रस्तुति : विजय नेपाली





