नवलपुर/ नवलपुर सदरमुकाम कावासोतीमा जिल्ला प्रशासन कार्यालय नवलपुरले कोभिड १९ नियन्त्रण र रोकथाम भन्दै सार्वजनिक स्थलमा अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रज्ववल महर्जन, ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख नारायण थापासहितको टोलीले कावासोतीको फलफुलचोकस्थित बस बिसौनी क्षेत्रमा अनुगमन निरीक्षण गरेको हो ।
पछिल्लो समय नवलपुरमा पनि कोरोना संक्रमण फैलने दरमा वृद्धि हुदै जाँदा स्थितिलाई भयावह हुन नदिनका लागि यात्रु तथा नागरिकलाई सचेत गराउन अनुगमन गरिएको हो । टोलीले फलफूलचोकस्थित बस बिसौनीमा यात्रुवाहक बसहरुमा अनुगमन गरेको थियो । यात्रुहरुलाई मास्क लगाउन प्रेरित गरेका थिए । खोप लगाए÷नलगाएको, खोप कार्ड भए÷नभएको, खोप नलिएकाहरुको गुनासा र समस्या समेत सुनेका थिए ।
यस्तै, हाटबजार लाईनदेखि विपीचोक हुदै थानाचोकसम्म पुगेको टोलीलाई खोप नलगाएकाहरुले प्रमुख समस्याका रुपमा सिमित खोपकेन्द्र र ति ठाउँहरु भीडभाड तथा अब्यवस्थित भएको भन्दै गुनासो गरेका थिए । प्रमुख जिल्ला अधिकारी घिमिरेले सम्वन्धित स्वास्थ्य कार्यालय र पालिकासँगको समन्वयमा आवश्यक परे खोपकेन्द्र थपेर नागरिकको समस्यामा सहजीकरण गर्ने बताउँदै खोप लगाउन आग्रह गरे ।
उनले यो अनुगमन सचेत गराउन पनि गरिएकाले अहिले समस्या पहिचान भएको बताउँदै ति समस्या हल गरिने र अव हुने अनुगमनमा मास्क नलगाउने, खोप कार्ड लिएर नहिँड्नेजस्ता न्यूनतम सावधानी र आदेश पालना नगरे कारबाही गरिने चेतावनी समेत दिए ।
टोलीले आज भएको अनुगमनका क्रममा सो क्षेत्रमा रहेका मेडिकल, औषधि पसलमा हाल अभाव रहेको भनिएको सिटामोलको अवस्था र सिटामोल बिक्री गर्दा बिरामीलाई दिइने मात्राको बारेमा समेत जिज्ञासा राखेको थियो ।





